बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

युक्रेनको ड्रोन हमलामा रुसलाई कति क्षति भयो ?

सोमबार, १० भदौ २०८१, १३ : ५४
सोमबार, १० भदौ २०८१

मस्को । युक्रेनले सोमबार रसियामा कयौँ ड्रोन आक्रमण गरेको थियो । यसले रुसको दुई ठुला सहरका धेरै घरमा क्षति पुर्‍याएको छ भने एक महिला घाइते भएकी छिन् ।

 युक्रेनी ड्रोनले रुसको एंगेल्स सहरमा रहेको एयरबेसलाई निशाना बनाएको रुसी मिडियाले जानकारी दिएको छ । रुसको हवाई रक्षा प्रणालीले उनीहरूलाई रोक्न खोजेको थियो । आक्रमणमा एउटा ड्रोन साराटोभको एउटा अग्लो भवनमा ठोक्किएको थियो भने अर्को एंगेल्सको एउटा भवनको छतमा खस्यो । भवन भत्किँदा धेरै सवारी साधनमा क्षति पुगेको छ ।

बीबीसी रुसी सेवाका अनुसार टेलिग्राम च्यानल म्यासमा एउटा भिडियो सार्वजनिक गरिएको छ । जसमा ड्रोन ३७ तले आवासीय भवनमा ठोक्किएको र त्यसमा विस्फोट भएको देख्न सकिन्छ । धेरै च्यानलहरूले जारी गरेका तस्बिरहरूले यस भवनको तीन तलाका झ्यालहरू आक्रमणबाट क्षतिग्रस्त भएको देखिएको छ ।

 यस घटनामा कसैको मृत्युको बारे कुनै जानकारी आएको छैन । क्षतिग्रस्त सवारी साधन र घरको छानाको भिडियो पनि टेलिग्राम च्यानल म्यासमा सार्वजनिक गरिएको छ । त्यहाँ दुईवटा ड्रोन मात्र थिए वा बढी थिए भन्ने थाहा छैन । तर, साराटोभ क्षेत्रका गभर्नर रोमन बुसार्गिनले आक्रमणको पुष्टि गरेका छन् ।

‘आज बिहान, एयर डिफेन्स सिस्टमले ड्रोनहरू नष्ट गर्‍यो । सबै आपत्कालीन सेवाहरू काम गरिरहेका छन्,’ बुसर्गिनले भनेका छन् । एउटी महिलालाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको र घटनास्थलमा अन्य व्यक्तिलाई सहयोग भइरहेको बताइएको छ ।

रुसी रक्षा मन्त्रालयले के भन्यो ?

रुसको रक्षा मन्त्रालयले हिजो राति र आज बिहान देशका विभिन्न क्षेत्रमा २० युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ । साराटोभ क्षेत्रमा नौ ड्रोन, कुर्स्क क्षेत्रमा तीन, ब्रायनस्क, बेल्गोरोड र तुला क्षेत्रमा दुई–दुई र ओर्योल र रियाजान क्षेत्रमा एकेक ड्रोन खसालेको थियो ।

रुसी रक्षा मन्त्रालयका अनुसार एंगेल्समाथि भएको आक्रमणमा थप सात ड्रोन खसालिएको थियो । ड्रोन खसेर के कति क्षति भयो भन्ने बारे केही जानकारी नआएको बताइएको छ । पछि रुसले पनि युक्रेनमा मिसाइल आक्रमण गरेको थियो । कीभ, लुत्स्क र पोल्टावा क्षेत्रमा विस्फोटको आवाज सुनिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप