लुम्बिनीदेखि कोलम्बोसम्म बाइक यात्रामा निस्कँदै नेपाल, भारत र श्रीलंकाका सेना
काठमाडौँ । नेपाल, भारत र श्रीलंकाका सेनाका जवानहरूले लुम्बिनीदेखि कोलम्बोसम्मको बुद्ध सर्किटमा बाइक यात्रा गर्ने भएका छन् । यात्रा यही अक्टोबरको मध्यमा सुरु हुने बताइएको छ । यो यात्राको आयोजना तीन देशका सरकार र रोयल थाई मोनास्ट्रीले गरेका हुन् । बाइक यात्रा बुद्धको जन्मस्थल लुम्बिनीबाट सुरु भएर श्रीलंकाको कोलम्बोमा पुगेर सकिनेछ ।
यसलाई हर्टफुलनेश बुद्ध सर्किट राइडका राहुल पाटिलले तीन देशबिचको ऐतिहासिक बाइक यात्रा भनेका छन् । यात्राको क्रममा यात्रीहरूले भारतीय जल सेनाको मद्दतले हिन्द महासागर पार गर्ने बताइएको छ । श्रीलंकाको जाफ्ना नजिक पुगेपछि यो टोलीलाई श्रीलंकाली प्रधानमन्त्रीले स्वागत गर्नेछन् । सात दिनसम्म बाइकमै श्रीलंका घुमेपछि कोलम्बोमा पुगेर यात्रा सकिनेछ । यात्राको समापन कार्यक्रममा श्रीलंकाका राष्ट्रपति समेत उपस्थिति हुने बताइएको छ ।
यात्रा अक्टोबरको दोस्रो हप्तामा सुरु भएर नोभेम्बरको पहिलो हप्तामा सम्पन्न हुनेछ । तीन देशका सुरक्षा बलबाट २१ जना बाइकर यो कार्यक्रममा सहभागी हुनेछन् । यस यात्राले एसियाका ज्योति गौतम बुद्धको जीवनसँग सम्बन्धित स्थानहरूलाई समेट्नेछ । यात्राको उद्घाटन प्रधानमन्त्री केपी शर्मा वलीले गर्नेछन् ।
लुम्बिनीबाट भारतका सात राज्यहरू उत्तर प्रदेश, बिहार, झारखन्ड, बेंगाल, ओडिशा, तेलंगाना र तमिल नाडुसम्म पुग्नेछन् । चेन्नइबाट श्रीलंकाको जाफ्नाको कन्केसान्थुराईसम्म भने बाइकरहरू भारतीय जल सेनाको जहाज चढेर पुग्नेछन् ।