प्रहरीले जनताको मुद्दा बोक्नुपर्छ : गृहमन्त्री
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले जनताको मुद्दा बोक्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको नवनिर्मित भवन तथा भौतिक पूर्वाधारहरूको उद्घाटन समारोहमा गृहमन्त्री लेखकले जनताको मुद्दा बोक्दा प्रहरीहरूको मुद्दा पनि सँगै आउने बताएका हुन् ।
‘प्रहरी साथीहरूलाई आत्मविश्वास काम गर्न आग्रह गर्दछु । जनताको मुद्दा बोक्नुपर्यो । जनताको मुद्दा बोक्दा आफ्नो मुद्दा पनि आइहाल्छ,’ उनले भने । सरकार बनेको सय दिनमा १० वटा काम गर्ने योजनासहित काम गरिरहेको पनि गृहमन्त्री लेखकले बताए ।
नागरिकले राज्यबाट पाउने आधारभूत सेवामा प्रहरी जोडिएको छ भन्दै जिल्ला प्रहरी परिसर काठमाडौँको नवनिर्मित भवनबाट जनताले उचित सेवा पाउने बताए ।
यो भवनले नेपाल प्रहरीले गर्ने सेवामा ठुलो सहयोग गर्नेछ । जनताले उचित सेवा पाउन सकुन् । सरकारले सेवा प्रदान गर्ने क्रममा महत्त्वपूर्ण सेवा प्रदान प्रहरीले गर्ने हो,’ गृहमन्त्री लेखकले भने । यस्तै उनले कांग्रेस र एमाले मिलेर सरकार बन्नुको उद्देश्य प्रस्ट पारे ।
‘दुई ठुला दल मिलेर सरकार बनेको छ । अहिलेको सरकार हामी केही मान्छे मन्त्री बनिहालौँ भनेर भनेको होइन । २०७९ चुनावपछि सरकार बनाउने र भत्काउनमै गयो । आर्थिक, राजनीतिक र विकास निर्माणका लागि हामी दुई ठुला दल मिल्यौँ,’ उनले भने, ‘यो सरकारको उद्देश्य भनेको सरकारको स्थायित्व, आर्थिक विकास, दिगो शान्ति, सुशासन र समावेशी चरित्रको राज्य व्यवस्था स्थापित गराउने हो ।’ कांग्रेस र एमाले मिल्दा आत्मविश्वास वृद्धि भएको गृहमन्त्री लेखकको दाबी छ ।
‘यसको उदाहरण १८ वर्षसम्म अल्झिएको सङ्क्रमणकालीन न्यायको विषय निष्कर्षमा पुगेको छ । हामी नेता उहीँ हौँ । छलफल हामीबिच नै भएको थियो । तर दुई दल मिल्दा बढेको आत्मविश्वासले हामी सहमति पुग्न सक्यौँ । ऊर्जाशील प्रधानमन्त्री हुनुहुन्छ । उहाँको नेतृत्वमा हामी केही गरि छाड्ने छौँ,’ उनले भने ।
साथै उनले विकास निर्माणका कामहरूलाई द्रुत गतिका अघि बढाउनका लागि यो सरकार गठन भएको बताए । उनले भ्रष्टाचार नियन्त्रण र मुलुकमा सुशासन कायम गर्न यो सरकार बनेको बताए ।
उनले भने, ‘विधिको शासन स्थापित गर्न र समग्रमा संविधान र यो व्यवस्थाले अवलम्बन गरेको संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने हाम्रो लक्ष्यलाई सदृढितापूर्वक कार्यान्वयन गर्ने उद्देश्यका साथ सरकार बनेको हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाम्रो ध्यान पार्टी फुटाउने र जोड्नेमा होइन, सरकार प्रभावकारी बनाउनेमा छ : प्रधानमन्त्री
-
राष्ट्रपतिद्वारा यसअघि रोकेको भूमिसम्बन्धी अध्यादेश जारी
-
प्रहरी निरीक्षक सुवेदीविरुद्धको भ्रष्टाचार मुद्दाका साक्षीले बयान फेरे, अख्तियारद्वारा मुद्दा दर्ता
-
रास्वपाले भन्यो : वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको घटनामा संलग्नता भेटिए कारबाही हुन्छ
-
यस्ता छन् सरकारले ल्याएका अध्यादेशका विशेषताहरु
-
स्वर्णलक्ष्मी सहकारी प्रकरण : रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश