रोल नम्बर एक पढ्दा
२८ दिने वर्षे बिदामा मैले गृहकार्य सकेँ । तपाईंहरूको पनि बिदा सकियो ? गृहकार्य थियो कि थिएन ? गृहकार्य भएको भए सक्नुभयो होला है ? कमेन्टमा भन्नुहोला है ।
मैले बिदामा गृहकार्यसँगै धेरै काम सिकेँ, अरु किताब पनि पढेँ । बिदामा मैले भाइसँग अधिकतम समय बिताएँ । आफूलाई मनपर्ने चित्र पनि कोरेँ । विद्यालयको समयमा धेरै व्यस्त भएकाले गर्न नभ्याएका कार्य गरेँ । घरको काम गर्न सिकेँ, अविभावकलाई सहयोग गरेँ ।
बिदामा मैले लेखक राधा पौडेलले लेख्नुभएको किताब ‘रोल नम्बर एक’ पढेँ । किताब एकदमै राम्रो लाग्यो । २०३० सालमा जन्मनुभएकी राधा पौडेललाई ‘खलङ्गामा हमला : एउटी नर्सको डायरी’ कृतिका लागि २०७१ सालमा मदन पुरस्कार प्रदान गरिएको थियो । यो उहाँको पहिलो कृति हो । ‘मर्यादित महिनावारी : हामी सबैको जिम्मेवारी’, ‘मारियम मान्छे भई’, ‘उत्सव’ लगायत उहाँ थुप्रै पुस्तक प्रकाशित छन् ।
उहाँ पेसाले नर्स तर उहाँ हाल सामाजिक अभियन्तामा बढी सक्रिय हुनुहुन्छ । उहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनुभएको छ ।
साथीहरू ! अब ‘रोल नम्बर एक’ पुस्तकको चर्चा गर्छु ।
१२५ पृष्ठको ‘रोल नम्बर एक’ किताबमा १३ वटा कथाक्रम रहेका छन् । कथाक्रम १ ‘चोर हुँ जस्तो’मा लेखकलाई काम गर्न खुबै रमाइलो लाग्ने र जति ठुलो भयो त्यति काम बढ्ने विषय छ ।
पक्कै पनि जति ठुलो भयो त्यति जिम्मेवारी बढ्दै जान्छ नि होइन र ? आमा र दिदीसँग पर्म लगाउन जाँदा कम ज्याला पाएको, जाडोको छुट्टीमा वर्षभरिलाई पुग्ने दाउराको बन्दोबस्त गरेको लगायत सन्दर्भ रोचक छन् । जङ्गली जनावरको खासै मतलब नहुने, जङ्गली फल खाँदाको मजा, बर्रोको रुख घरमा उम्रेको तर नयाँ घर बनाउने बहानामा बाले रुख काट्दाको पीडा आदि पनि पुस्तकमा आएका छन् । बाल मस्तिष्कमा खेल्ने भावनाले हामीलाई पनि पूर्वस्मृतिमा लैजान्छ ।
यसैगरी कथाक्रम २ ‘भाकल’मा देवीलाई भाकल दिएको, आमा बिरामी हुँदाको दुःख, पढ्नका लागि मिहिनेत गर्नुपर्ने सवाल उठाइएको छ । कथाक्रम ३ ‘माटोको माया’मा बसाइँ सरेको र लेखक जन्मिनुभएको, जन्मभूमिको धेरै माया लाग्ने, सुत्ने बेला बाको कामका सिलसिलामा भएका घटनाहरू सुनेको, नेपालको नक्सामा लमजुङ र चितवन खोजेको, आफ्नो जन्मथलोप्रतिको प्रश्न मन छुने गरी प्रस्तुत गर्नुभएको छ ।
किताबको शीर्षनाम कथाक्रम ४ मा छ, अर्थात् ‘रोल नम्बर एक’ । यसमा परीक्षाको नतिजा प्रकाशनका दिन कसैले अबिर नलगाइदिँदाको दुःख, त्यही कुरा सम्झेर धेरैपटक रोएको, आमालाई ढाँटेको आमाले मिहिनेत गर्नका लागि उदाहरण दिनुभएको, रोएर केही पनि नहुने कुरा बुझेको, अर्को वर्ष नतिजा सुन्न नगएको तर प्रथम भएको आदि रोचक कुराहरू पढ्दा आनन्द आउँछ ।
कथाक्रम ५ ‘स्कुल फेर्दाको पीडा’मा ठुलो कक्षा पढ्न प्रेमबस्ती माध्यमिक विद्यालय गएको, पुरानो विद्यालयका शिक्षक र साथीहरूको सम्झना आएको, गणित विषय धेरै मन पर्ने, विद्यालयमा विभेद भएकोजस्ता कुरा छन् । यसै गरी कथाक्रम ६ ‘विद्यालय’मा ६ वर्ष पूरा भएपछि विद्यालय गएको, अरुभन्दा चाँडै भर्ना हुन पाएको, उमेर बढाएर पढेको, स्कुल गएको कि विद्यालय गएको भनेर दिदीलाई सोधेको र विद्यालय जान खुबै मन पर्ने, जाडो महिनामा घाम ताप्दै पढ्ने गरेको, मिलिमिली सिक्ने र एक–अर्कालाई सिकाउने गरेको समूहमा काम गर्न आत्मविश्वास बढेको आदि छन् ।
कथाक्रम ७ ‘घाँसीको कथा’मा सामाजिक कामका बारेमा जानेर आत्मविश्वास बढेको, साथीलाई सबैले सहयोग गरेको, आफ्नो ईष्र्या गर्नेलाई कहिल्यै परवाह नगरेको, आगलागीबाट असाध्यै डर लाग्ने, अरुले दुःख पाएको सुन्न र हेर्न गाह्रो हुने आदि छन् ।
कथाक्रम ८ ‘जडौरी किताबको मोह’मा पढाइसम्बन्धी सबै कुरा दिदीहरूबाट सरुवा भएर आउने, फूलटिन (फाउन्टेन मेन) प्रयोग गर्दा धेरै फाइदा भएको, कपी र किताबप्रति धेरै माया भएको आदि छन् ।
कथाक्रम ९ ‘परिश्रमको फल’मा पसलमा सामान किन्दा १० रुपैयाँ बढी फिर्ता पाएको, पैसा पु-याउन जाँदा रात परेको आदि छन् । यस्तै कथाक्रम १० ‘घरको नियमको अपरेसन’मा छोरा र छोरी बिचको विभेद थाहा पाएको, जति ठुलो भयो त्यति धेरै कुरा सुन्न र देख्न अनुभव भएको, खेत जोल्दा गाली खाएको, बाउसो पनि गर्न आउने, सानो जात भनेर हेपेको आदि छन् ।
कथाक्रम ११ ‘मेरो स्वाभिमान’मा डर लागीलागी पसल जानुपरेको, मानिसले झगडा गरेको, ठुलो स्वरले कराएको सुनेमा डर लाग्ने, खेतमा पानी लगाउन जाँदा पनि डर लाग्ने, सुगाजस्तै बन्ने इच्छा लागेको, स्वाभिमान जति प्यारो हुन्छ त्यति नै महँगो पनि हुने आदि छन् ।
कथाक्रम १२ ‘प्राकृतिक जीवन’मा पानी पर्न थालेपछि फलका बिरुवा खोज्ने गरेको, आकाश कसले बनायो भनेर आफैँले आफैँलाई प्रश्न गरेको, फूलहरूबाट धेरै कुरा सिकेको, फूल मान्छेजस्तै लागेको, साथीसाथीले बिरुवा गन्दै साटफेर गरेको आदि छन् ।
यसैगरी कथाक्रम १३ ‘मेरी साथी’मा समाजमा महिनावारी हुँदा गरिने व्यवहारका बारेमा बयान गरिएको छ । साथी विद्यालय नआएको, आमा महिनावारी हुनुभएकाले साथी नआएको थाहा पाउँदा अचम्म लागेको, महिनावारीसम्बन्धी नियम कसले बनायो भनी प्रश्न गरेको आदि छन् ।
मलाई यो किताब पढेर गाउँघरको वातावरण, चालचलन र रीतिरिवाजका बारेमा थाहा भयो । गाउँघरमा हुने छोरा र छोरीबिचको विभेदका बारेमा थाहा भयो । यो किताबमा लेखककै बाल्यकालको बयान गरिएको छ । उहाँको बारेमा एउटा जीवनी पढेकी थिएँ । त्यहाँ पढेकोभन्दा बढी कुरा थाहा भयो । उहाँले धेरै संघर्ष गर्नुभएको रहेछ । यति धेरै कुरा सुन्दा वा पढ्दा उहाँलाई भेट्न धेरै मन पनि लागेको छ । माथि लेखेका कुराले तपाईंहरूलाई पनि किताब पढ्न मन लाग्यो होला है ? हो भने किताब पढ्न सक्नुहुनेछ ।
म भने अबको बिदामा उहाँकै ‘अपवित्र रगत’ कृति पढ्नेछु । यो किताब मलाई प्राप्त भइसकेको छ । फुर्सदमा पढेर मैले फेरि यहाँहरूसँग सेयर गर्ने जमर्को गर्नेछु ल ।
सिद्धार्थ मावि हेटौंडा २, मकवानपुर
कक्षा ८