आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

दोस्रो टी–२० मा पनि वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई हरायो

सोमबार, १० भदौ २०८१, १० : १५
सोमबार, १० भदौ २०८१

काठमाडौँ । वेस्ट इन्डिजले सोमबार खेलिएको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकालाई ३० रनले हराएको छ । जितसँगै घरेलु टोली वेस्ट इन्डिजले तीन खेलको शृङ्खलामा २–० को अग्रता पनि लिएको छ ।

यसअघि पहिलो टी–२० मा वेस्ट इन्डिजले भ्रमणकारी टोली दक्षिण अफ्रिकालाई सात विकेटले पराजित गरेको थियो । शृंखलाअन्तर्गतको तेस्रो खेल बुधबार खेलिने छ । सोमबारको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले ६ विकेट गुमाएर एक सय ७९ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको दक्षिण अफ्रिकाले भने १९.४ ओभरमा अलआउट हुनुअघि एक सय ४९ रनमात्र बनाउन सक्यो । पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि ओपनर साई होपले सर्वाधिक ४१ रन बनाएका थिए । उनले केवल २२ बलमा चार छक्का र दुई चौका पनि हिर्काए ।

कप्तान रोभमन पोवेलले पनि ३५ रन बनाएका थिए । उनले २२ बलमा तीन छक्का र एक चौका प्रहार गरे । सेरफन रुथरफोर्डले २९ रन र ओपनर एलिक अथान्जले २८ रन बनाए । दक्षिण अफ्रिकी बलर लिजाद विलियम्सले तीन र प्याट्रिक क्रुगरले दुई विकेट लिए ।

जवाफी ब्याटिङमा ओर्लिएको दक्षिण अफ्रिकालाई लक्ष्यसम्म पुग्न नदिन क्यारेबियन टोलीका बलर सामर जोसेफ र रोमारियो सेफर्डले तीन–तीन विकेट लिए । अकेल होसैनले पनि दुई विकेट लिएका थिए । सेफर्ड प्लेयर अफ दि म्याच घोषित भए ।

दक्षिण अफ्रिकाका लागि ओपनर रिजा हेन्ड्रिक्सले ४४ रन बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । उनले केवल १८ बलमा दुई छक्का र ६ चौका पनि हिर्काएका थिए । ट्रिस्टन स्टब्सले २८ रन बटुलेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप