कास्की महिला संघ विवाद : बराललाई शर्माको जवाफ, ‘आफू संगठन बिगार्ने, कारबाही चाहिँ मलाई ?’
पोखरा । तीजको दर खाने कार्यक्रमलाई लिएर कास्की कांग्रेसमा खैलाबैला छ । केही दिनदेखि पार्टीभित्र गरमागरम बढेको छ । नेपाल महिला संघका समानान्तर समितिको कार्यक्रममा गएर औपचारिक भाषण गरेपछि पार्टीका प्रदेश सभापति शुक्रराज शर्मामाथि कारबाही हुनुपर्ने माग जिल्ला सभापति किशोरदत्त बरालले राखेका छन् ।
पार्टीको आधिकारिक निर्णयबाट गठन भएको समिति विरुद्ध समानान्तर समिति बनाएर गतिविधि गर्दै आएका व्यक्तिलाई प्रश्रय दिइएको भन्दै उनले शर्मामाथि कारबाहीको आवाज उठाएका हुन् । शुक्रबार समानान्तर समिति (शारदा गिरी नेतृत्व) ले तीजको दर खुवाउने कार्यक्रम गर्दा शर्मा प्रमुख अतिथि थिए ।
शनिबार आधिकारिक संगठन (मिना पाण्डे नेतृत्व) ले दर खुवाउने कार्यक्रम गर्यो । प्रमुख अतिथि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई निम्त्याएर गरिएको कार्यक्रममा कास्कीका सभापति बरालले अघिल्लो दिनका प्रमुख अतिथिलाई कारबाही हुनुपर्ने बताएका हुन् । त्यसपछि रातोपाटीले शर्मालाई अनधिकृत संगठनको कार्यक्रममा किन जानुभयो भनेर सोध्दा उनले जिल्लाको सहमति विना केन्द्रबाट महिला संघ बनाइएकोमा विरोध रहेको सुनाए ।
‘महिला संघमा सभापति मनोनीत गर्दा परामर्श गरिएन । मिना पाण्डे कार्यकर्ता होइनन्, पार्टीमा योगदान दिएको मान्छे होइन भनेर २१ जना केन्द्रीय सदस्यले शारदा गिरीलाई सभापति बनाए,’ उनले भने, ‘यो केन्द्रीय समस्या हो । जिल्लाले दुवै थरीलाई राखेर समाधान गर्नुपर्छ । हामी त प्रदेशका हौँ । हामीले समस्या निकालेको होइन ।’ उनले आफू महिला सङ्घको कार्यक्रममा नभई महिलाहरूलाई शुभकामना दिन गएको बताए ।
‘कार्यक्रम राखेछन्, तिजका बेलामा दिदीबहिनीहरूले शुभकामना दिनुपर्यो भनेर बोलाएपछि म नजाने कुरा हुँदैन । गएँ, शुभकामना दिएँ,’ अघि भने, ‘हिजो पनि कार्यक्रम राखेछन्, म गैँडाकोट जाने कार्यक्रममा थिएँ । केन्द्रीय सभापति पनि आउनुभएको रहेछ । उहाँले यो समस्या समाधान गरेर फर्किनुपर्थ्यो ।’
केन्द्रबाटै दुई वटा सभापति बनाएर पठाएपछि अहिलेको समस्या आएको उनको तर्क छ । ‘समस्या केन्द्रबाटै २ वटा सभापति बनाएर पठाएपछि आएको हो । जिल्लाले केन्द्रसँग समन्वय गरेर समाधानको पहल गर्नुपर्थ्यो, गरेन,’ उनी भन्छन्, ‘यो समस्या हामीले सुरुआत गरेको पनि होइन, समाधान गर्ने पनि होइन । केन्द्रले जिल्लाबाट समाधान हुन सकेन तपाईँले गर्नुस् भनेर अख्तियारी दिनुपर्यो । तुरुन्त मिलाइदिन्छौँ ।’
कास्कीका सभापतिले आफ्नो कमजोरी लुकाउनका लागि आफूलाई कारबाहीको माग गरेको शर्माको तर्क छ । ‘जिल्ला सभापतिले आफ्नो कमजोरी छिपाउन मेरो नाम लिने काम गर्नुभयो । नेविसंघको त्यस्तै छ, तरुण दल त्यस्तै छ । कास्कीको संगठन ध्वस्त बनाइएको छ,’ भन्छन्, ‘सभापति पनि शिक्षकबाटै आउनुभएको छ । महिला संघ पनि शिक्षकबाटै ल्याइएको, नगर सभापति शिक्षकबाट आएका छन् । पार्टीमा राजनीति गरेकाहरूलाई मतलबै नगरी प्राइभेट मान्छे ल्याएर भर्ती गरिएको छ । केन्द्रले स्पष्टीकरण लिनुपर्थ्यो, हामीले भनेर मान्दैनन् ।’
उनले आफूमाथि सके कारबाही गर्न चुनौती दिए । ‘कारबाही गर्ने कुरा त सत्तामा छन्, गरे भइहाल्यो नि । सार्वजनिक ठाउँमा भनिराख्न पर्छ र ?,’ शर्माले भने, ‘जिल्लामा मै ६० वर्षदेखि काम गरिरहेको छु । संगठन सबै नम्सहरुबाट तोडिएको छ । अनि आफू गल्ती गर्ने मलाई मुछेर हुन्छ ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियाविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने
-
११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
-
बंगलादेशले स्कटल्यान्डलाई हरायो, अस्ट्रेलियाविरुद्धको खेलअघि नेपाललाई थोरै राहत
-
राजधानीको भोटेबहालबाट धनमाल चोरी भएको घटनामा चार जना पक्राउ
-
एआईमा ५ खर्ब डलर लगानी गर्दै अमेरिका
-
सिमेन्टको मूल्य वृद्धि होइन, मूल्य समायोजन गरिएको हो : अध्यक्ष मारू