शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

नेपथ्य अमेरिका शृङ्खला : डालासमा दर्शकको भव्य उपस्थिति

सोमबार, १० भदौ २०८१, १० : ०२
सोमबार, १० भदौ २०८१

टेक्सास । ‘टिकट सबै बिक्री भइसकेको छ’, कन्सर्टको दिन बिहान अनलाइनबाट टिकट काट्न खोज्ने दर्शकहरूले अनलाइन टिकट व्यवस्थापन गर्ने ‘लाइभ नेसन’को साइटमा यस्तो सन्देश देखे । उता चार हजार दर्शक क्षमताको टोयोटा म्युजिक फ्याक्ट्रीमा नचिताएको उपस्थिति देखेर हेर्न जाने सबै चकित परिरहेका थिए ।

‘अदभुत !’ आश्चर्यमा परेकी इशु पोखरेल भन्दै थिइन्, ‘अमेरिकाको एउटै स्थानमा एकै छतमुनि एकसाथ यति धेरै नेपाली देखेकै आज सम्मकै मेरो पहिलो अनुभव हो ।’

निर्धारित समयमा ठ्याक्कै सुरु गर्ने ब्यान्डको नीति अनुसारै बेलुकी ठिक साढे आठ बजे मञ्चमा बज्न थालेको नेपथ्यका लोक–रक भाकाहरू लगातार दुई घन्टासम्म चलेको थियो । गीतको तरङ्गसँगै विशाल हलभित्रको भीडमा मानिसका टाउकाहरू पनि लहरजस्तै बगेका देखिन्थे ।

03 Nepathya performing at the Toyota Music Factory in Dallas.

‘कोशीको पानी यो जिन्दगानी’, ‘शिरफूल शिरैमा’, ‘नैनताल’ र ‘पचासै वर्षमा’ जस्ता नयाँ गीतहरूको समेत प्रस्तुति रहेको कार्यक्रममा, ‘छेक्यो छेक्यो’, ‘जोमसोमे बजार’, ‘रेशम’, ‘तालको पानी’ लगायत नेपथ्यका सार्वकालिक हिट गीत पनि प्रस्तुत गरिएको थियो । नयाँ पुराना सबै गीतमा गायक अमृत गुरुङलाई पूरा हलले कोरसले झैँ साथ दिएको थियो । कन्सर्ट सकिएपछि पनि दर्शकहरूमा उत्साहको लहर कायमै थियो ।

कन्सर्ट हेर्नकै निम्ति पाँच घण्टा लामो मोटर यात्रा गरेर सान एन्टोनियोदेखि आएका रोशनलाल श्रेष्ठले आफ्नो अनुभव यसरी पोखे, ‘संगीत, हलभित्रको माहोल प्रभावकारी बनाउन दृश्यहरूको प्रस्तुति, प्रत्येक क्षणको सदुपयोग, नेपथ्यका सदाबहार गीतहरूदेखि लिएर गायकले दिने मर्मस्पर्शी सन्देशसम्म सबै थोकको गजब समायोजन अनुभव गर्न पाइयो । मेरा निम्ति सिङ्गो प्रस्तुति एउटा अविस्मरणीय भव्य अनुभव बन्यो ।’

कन्सर्ट हेर्नकै लागि राजधानी वासिङ्टन डिसीदेखि आउने सौरभ पाण्डे जस्ता दर्शक पनि थुप्रै थिए । नेपथ्यको कन्सर्ट हेर्नका लागि गरिने खर्चको एक एक पैसा चुक्ता हुने गरेको दाबी गर्ने सौरभले केही दिनमै मेरिल्यान्डमा आयोजना हुने नेपथ्य कन्सर्ट पनि हेर्न जाने अठोट जताए ।

कन्सर्ट सकिएपछि पनि अबेरसम्म आयोजनास्थल वरपर नेपालीहरू रमाउँदै गरेका देखिन्थे ।

07 Nepathya frontman in action in Dallas. Photo-Dipit Raz-Nepalaya

कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

नेपथ्यको अमेरिका यात्राको अघिल्ला चार कन्सर्ट भव्य रूपमा सम्पन्न भएपछि अब पाँचौँ प्रस्तुतिका लागि नेपथ्य न्यूयोर्क प्रस्थान गर्नेछ। यसअघि पनि पटकपटक आफूलाई यस सहरमा भव्यतासाथ उभ्याइसकेको नेपथ्यले यसपाला म्यानहटनकै फिफ्टी सिक्स्थ स्ट्रिटस्थित ‘टर्मिनल फाइभ’ हलमा कन्सर्ट प्रस्तुत गर्दैछ । त्यहाँ आठ वर्षको अन्तरालपछि अगस्त ३० तारिख नेपथ्य साँझ आयोजना हुन लागेको हो । पहिलो पटक प्रस्तुत हुन लागेको यो हलमा तीन हजार दर्शक अटाउने क्षमता छ ।

न्युयोर्कका नेपाली दर्शकहरूलाई फेरि पहिलेजस्तै रमाइलो साँझ प्रदान गर्ने अठोट ब्यान्डले लिएको छ ।

न्युयोर्कपछि मेरिल्यान्ड र अन्त्यमा पेन्सिलभेनियाको ह्यारिसबर्गमा प्रस्तुत गरेपछि यस वर्षको शृंखलाबद्ध यात्राले विश्राम लिनेछ ।

अमेरिकाका सबैजसो कन्सर्टमा दर्शकहरूले अनलाइनबाटै सोझै टिकट काट्न सकिने प्रबन्ध मिलाइएको छ । त्यसका लागि ब्यान्डको आधिकारिक वेबसाइट www.nepathya.com.np मार्फत् आफ्नो सिट सुरक्षित गर्न सकिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप