‘अन्त्यमा आजबाट रेडियो नेपालको समाचार कक्षबाट मुख्य समाचार सम्पादकको जिम्मेवारीबाट विधिवत बिदा लिएको जानकारी गराउँदछु । आफ्नो ३५ वर्ष लामो सेवावधिमा विभिन्न क्षेत्रबाट सहयोग र सद्भाव व्यक्त गर्नुहुने सबैमा हार्दिक आभार र धन्यवाद ज्ञापन गर्दछु ।
यो रेडियो नेपाल हो, हरिशरण लामिछानेबाट समाचार सुन्दै हुनुहुन्थ्यो, पुरा भयो, नमस्कार ।’
गएको असार २८ गते बिहान ७ बजेको नियमित समाचार वाचनपछि हरिशरणले श्रोतासँग बिदा मागे ।
अन्तिम दिन उनीबाट केही भावुक वक्तव्य आउन सक्छन् भन्ने अनुमान प्राविधिक कर्मचारीले गरिसकेका रहेछन्, त्यस दिन उनले समाचार भनिरहँदा उनीप्रति क्यामेरा तेर्सिएका थिए । रेडियोबाट विश्राम लिँदाको अन्तिम क्षणमा केही कुरा राख्ने मनस्थितिसहित उनी पनि बिहानै घरबाट निस्किएका थिए । रेडियो नेपाल नपुग्दै बाटैमा उनले दुःखद खबर सुन्नुपर्यो, दुईवटा बस त्रिशुलीमा खसेको ।
कार्यालय पुगेपछि उनले दुर्घटनाको समाचार तयार पारेर प्रसारण गरे । ‘त्यस दुःखद घटनाले मेरो मनस्थिति परिवर्तन भयो । केही बोल्नै मन लागेन,’ अवकाशपछि रातोपाटीसँगको भेटमा हरिशरणले भने ।
वर्षाैं पिँजडामा थुनिएको चरा मुक्त हुँदा सुरुमा जुन अलमलमा पर्छ— यता जाउँ कि उता जाउँ ! उड्न सक्ने हो कि होइन ! ‘मेरो अवस्था अहिले ठिक त्यस्तै छ,’ उनी भन्छन्, ‘अबका दिनमा के गर्ने केही सोच्न सकिरहेको छैन ।’
वर्षाैं पिँजडामा थुनिएको चरा मुक्त हुँदा सुरुमा जुन अलमलमा पर्छ— यता जाउँ कि उता जाउँ ! उड्न सक्ने हो कि होइन ! ‘मेरो अवस्था अहिले ठिक त्यस्तै छ,’ उनी भन्छन्, ‘अबका दिनमा के गर्ने केही सोच्न सकिरहेको छैन ।’
हरिशरणको रेडियो नेपालको यात्रा २०४६ सालबाट सुरु भएको हो । त्यसअघि उनी ‘म्युजिक नेपाल’मा कलाकारलाई प्रमोसन गर्ने काम गर्थे । यही क्रममा उनले नारायणगोपालको गीति यात्रा भाग १ एल्बममा केही बोल्ने अवसर पाए । यसका लागि आफूलाई नारायणगोपालले निकै चरणपछि छनोट गरेको उनी बताउँछन् । त्यतिबेला एल्बममा गायक–गायिकाका बारेमा परिचयसहितको आवाज राखिन्थ्यो ।
म्युजिक नेपालकै तर्फबाट रेडियो नेपालमा उनले एक कार्यक्रम समेत चलाउँथे । यद्यपि धेरै प्रयास गर्दा पनि उनले रेडियो नेपालमा जागिर खान सकेका थिएनन् ।
उनी रेडियो नेपाल छिर्नुको संयोग पनि सामान्य छैन । २०४६ सालको जनआन्दोलन चलिरहेको थियो । त्यतिबेला राजा वीरेन्द्र पश्चिमाञ्चल भ्रमणका क्रममा पोखरा पुगेका थिए । सुत्ने बेलामा उनलाई जनआन्दोलनबारे जानकारी लिन मन भएछ र उनले राति ११ बजेको समाचार कुरेर बसेछन् । तर त्यतिबेला रेडियो नेपालबाट ११ बजे समाचार आउँदैनथ्यो । भोलिपल्टदेखि उनले रेडियो नेपालमा ११ बजेको समाचार राख्न लगाए । राजाको हुकुमसँगै राति ११ बजे समाचार भन्ने मानिसको खोजी तीव्र रूपमा भयो । रेडियो नेपालका कर्मचारीले चिन्ने भएकाले उनले अवसर पाए ।
‘पहिले कति कोसिस गर्दा पनि रेडियोमा जागिर पाएको थिइनँ,’ उनी भन्छन्, ‘त्यस दिन भने इमोर्जेन्सी भन्दै काममा लगाइयो ।’
२०४६ चैतमा रेडियो नेपालमा जागिर सुरु गरेका उनले सुरुका दुई–चार दिन प्राक्टिकल बुलेटिन पढे । बिस्तारै उनले सामान्य समय हुँदै प्राइम (बिहान र बेलुका ७ बजेको) बुलेटिन पढ्ने अवसर पाए । अवकाशको समयसम्म उनी ७ बजेको समाचार पढ्थे ।
‘सुरुवातका दिनमा अलिअलि डर र अप्ठेरो भयो,’ उनी भन्छन्, ‘त्यतिखेर पञ्चायती व्यवस्था र त्यसपछिको ह्याङ–ओभरमा काम गर्न निकै कठिन थियो । रेडियो सरकारी सञ्चारमाध्यम भएकाले शब्द–शब्दमा ध्यान दिनुपथ्र्याे । बहुदल आएसँगै बिस्तारै सेन्सरसिप हट्दै गएकाले काम गर्न सहज हुन थाल्यो ।’
बिहानको ७ बजेको समाचार वाचन गर्न उनी बिहान पाँचै बजे कार्यालय पुग्थे । उनको यो रुटिङ अन्तिम दिनसम्मै नियमित रह्यो । आन्दोलन लगायत राजनीतिक घटनाक्रम; भूकम्प, बाढीपहिरो लगायत प्राकृतिक घटनासँगै अन्य घटना–दुर्घटनाका समाचार बनाउनु र भन्नुपथ्र्यो । त्यसैले समाचार कक्षमा रहँदा उनलाई कहिल्यै दिक्क लागेन । ‘सधैँ नयाँ समाचार भन्नुपर्ने भएकाले कहिल्यै बोर भएन,’ उनी आफ्नो ओजिलो आवाजमा भन्छन्, ‘रेडियो नेपालबाट बाहिरिँदै गर्दा एउटा युनिभर्सिटीबाट ग्राजुयट भएर बाहिर निस्किएजस्तो अनुभव गरेको छु । धेरै कुराको साक्षी हुँदा आफू खारिएको महसुस भएको छ ।’
उनको अनुभवमा पत्रकारिता पेसा रोज्नु नै दुःख रोज्नु हो । ३५ वर्ष जागिर गर्दा उनीसँग अहिले उल्टै साढे तीन करोड रुपैयाँ घरायसी ऋण छ । यो ऋण उनलाई भैपरी आउने पारिवारिक र सामाजिक खर्चकै कारण लागेको हो ।
‘जागिरका कारण स्वतन्त्र भएर अन्य काम गर्न पाइएन । जागिरले नपुगेर केही पुख्र्यौली सम्पत्ति पनि सक्नुपर्यो,’ उनी भन्छन्, ‘म त अनुशासनमा बसेँ, कुनै दायाँबायाँ गरिनँ ।’
जागिरबाट राम्रो कमाइ नभए पनि धेरै श्रोताले चिनेकामा उनी खुसी छन् । टीभी र एफएफ आउनुअघि गाउँगाउँमा रेडियो नेपाल एकछत्र सुनिन्थ्यो । ‘हरिशरण लामिछानेबाट समाचार सुन्नुहोस्, ...हरिशरण लामिछानेबाट समाचार सुन्दै हुनुहुन्थ्यो, पुरा भयो, नमस्कार ।’ यो आवाज धेरैका लागि परिचित थियो ।
नेपालमा पहिलोपटक एफएमको सुरुवात रेडियो नेपालले नै गरेको हो । एफएम सुरु गर्दा उनी सक्रिय भएर लागेका थिए ।
अब भने उनी आफ्नो एउटा पोडकास्ट सुरु गर्ने सोचमा छन् । ‘बौद्धमा पोडकास्टको अलाबा प्रोडक्सन हाउस समेत सञ्चालनमा आउनेछ,’ उनले भने ‘जसबाट गीत, भिडियो, डकुमेन्ट्री लगायत निर्माण हुन्छ ।’
उनले छिटै एआई प्रविधिबाट मछिन्द्रनाथको डकुमेन्ट्री निर्माण गर्दै छन् । ‘मछिन्द्रनाथको बाहिर नआएको प्रेमकथा त्यसमा हुनेछ,’ उनी भन्छन्, ‘खुसीको कुरा के भने काम गर्ने जुन इनर्जीका साथ रेडियो नेपाल छिरेको थिएँ, त्यही इनर्जीका साथ बाहिरिएको छु ।’
पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका दाजु हुन् हरिशरण । उनी र रविबिचको सम्बन्धको चिसोपनलाई लिएर बेलाबेला मिडियामा समाचार आउँथे । उनी भने रविभन्दा पनि रविका फलोअर्ससँग आफ्नो मतभेद रहेको बताउँछन् ।
‘रवि मेरो रगतको भाइ हो । ऊसँग नराम्रो केही छैन,’ उनी भन्छन्, ‘रविका व्यक्तिहरूबाट सामाजिक सञ्जालमा जुन किसिमको प्रतिक्रिया भइरहेका छन्, त्यसको म विरोधी हो ।’ सामाजिक सञ्जालमा जथाभावी शब्द लेख्न नहुने उनको धारणा छ ।
रवि राजनीतिमा आउनुअगाडि नै स्वतन्त्र राष्ट्रिय सञ्जाल अभियानमा जोडिएर हरिशरणले मार्ग निर्देशन गर्दै आएका थिए । गएको आम निर्वाचनमा हरिशरणले काठमाडौं ३ बाट चुनाव लड्ने घोषणा पनि गरेका थिए, अन्त्यमा पछाडि हटे । उनी पछाडि हट्दा कतिले रविसँग जोडेर चर्चा गरे । उक्त क्षेत्रमा माओवादीले कुलमान घिसिङलाई चुनाव लडाउन लागेको चर्चा सुनेपछि आफू ब्याक भएको उनी बताउँछन् ।
प्रतिक्रिया