सरकारबाट हटेपछि ‘अभियान’ को हतारो
काठमाडौँ । सरकारबाट माओवादी केन्द्र हटेपछि अहिले दिनहुँ जसो पार्टीको बैठक बसेर संगठनका काम अगाडि बढाएको छ ।
रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकारबाट हटेपछि शनिबारदेखि आत्मनिर्भर अभियान सुरु गरेको छ ।
उपेन्द्र यादव अध्यक्ष रहेको जनता समाजवादी पार्टी पनि सरकारबाट हटेपछि चार महिने अभियान सुरु गर्दैछ । माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीको पनि लगातार बैठक बसिरहेको छ ।
माओवादी केन्द्र, जसपा नेपाल, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टीले मात्र होइन, अन्य दल पनि सरकारमा हुँदा पार्टी तथा संगठनका कुनै काम नगर्ने तर सरकारबाट हटेपछि अनेक अभियान चलाएर जनतामा जाने गरेका छन् ।
सरकारको नेतृत्व गरेको एमालेले पार्टी पनि सरकारमा नहुँदा विभिन्न अभियान सञ्चालन गरेको थियो । एमालेले २०८० मङ्सिर १४ गतेदेखि पुस १ गतेसम्म झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियान सञ्चालन गरेको थियो ।
त्यो अभियान सकेपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियानको क्रममा जनताले उठाएका विषयवस्तु समेटेर तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।
एमालेले त्यसअघि पनि मिसन २०८४ भनेर विभिन्न कार्यक्रमको आयोजना गरेको थियो । पार्टीका पदाधिकारीलाई भूगोलमा जिम्मेवारी दिएर पठाएको थियो । सरकारमा एमाले सामेल हुनासाथ त्यस्ता अभियान सेलाउन पुगेको छ ।
अहिले एमालेसँगै कांग्रेस पनि सरकारमा छ । सरकारभन्दा बाहिर हुँदा कांग्रेसले पनि विभिन्न अभियान सञ्चालन गर्यो । कहिले गगन थापा आफैँ अभियान अन्तर्गत जनताको घरघर पुगे भने पार्टीले पनि विभिन्न अभियान सञ्चालन गरेको थियो ।
२०८० साउन २० गते कांग्रेसले संगठन सुदृढीकरणका लागि आन्तरिक विशेष अभियान सुरु गरेको थियो । त्यो अभियान १० दिनसम्म चलेको थियो ।
कांग्रेसले ७७ जिल्लामै केन्द्रीय सदस्य, पूर्वकेन्द्रीय सदस्यहरूलाई अभियानमा परिचालन गरेको थियो । सहिद दिवसको अवसर पारेर कांग्रेसले ‘समुदायमा कांग्रेस’ भन्ने अभियान सञ्चालन गरेको थियो । अहिले सरकारमा सहभागी भएपछि कांग्रेसले जनतामा जाने कुनै अभियान ल्याएको छैन ।
कांग्रेसका उपसभापति धनराज गुरुङ भन्छन्, ‘अहिले वर्षाका कारण अभियानहरू स्थगित भएको हो । वर्षा सकिएपछि पुनः हामी विभिन्न अभियान लिएर जनतामा जान्छौँ ।’
सरकारमा रहनु वा नरहनुले अभियानलाई कुनै असर नगर्ने उपसभापति गुरुङले बताए । ‘आवश्यकता अनुसार अभियानहरू सञ्चालन भइरहेका हुन्छन्,’ उनले भने, ‘केन्द्रीय समितिको बैठक सकेपछि अभियानहरू पुनः सञ्चालन हुन्छन् ।’
सरकारमा हुँदा जसपा नेपाल चुपचाप थियो । लामो समयसम्म केन्द्रदेखि प्रदेश सरकारमा जसपा नेपाल सहभागी थियो । मधेस प्रदेश सरकारमा यो पार्टीले लगातार सात वर्षसम्म नेतृत्व गर्यो । तर कहिल्यै कुनै अभियान पार्टीका तर्फबाट चलाएन । कहिलेकाहीँ जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव प्रशिक्षण दिनका लागि प्रदेश तथा जिल्लाहरूमा जाने गर्थे ।
तर अहिले सरकारबाट हटेपछि जसपा नेपालले विभिन्न कार्यक्रम लिएर चार महिने अभियान नै सञ्चालन गरेको छ । २०८० भदौमा पनि जसपा नेपालले तीन महिने अभियान चलाएको थियो । त्यतिबेला जसपा नेपाल प्रदेश सरकारमा भए पनि केन्द्रमा सहभागी थिएन ।
सो पार्टीका कार्यकारिणी सदस्य मनिष सुमन भन्छन्, ‘अभियान तथा कार्यक्रम सञ्चालन गर्ने कुरामा सरकारमा रहनु र नरहनुले केही फरक पार्दैन ।’ सरकारमा हुँदा पनि जसपा नेपाल क्रियाशील रहेको उनको भनाइ छ ।
‘पार्टीको महाधिवेशन जेठमा सम्पन्न भयो । त्यतिबेला जसपा नेपाल सरकारबाट बाहिर थियो । तर त्यो महाधिवेशन गर्न धेरै प्रक्रिया पूरा गर्नुपर्यो । विधान अधिवेशनदेखि लिएर विभिन्न बैठक भयो,’ उनले भने, ‘जिल्ला तथा प्रदेशमा पार्टी गठन तथा पुनर्गठन भयो । जसपा नेपाल सरकारमा रहनु र नरहनुले पार्टीको कार्यक्रममा कुनै फरक पर्दैन ।’
सरकारभन्दा बाहिर हुँदा सबैभन्दा बढी क्रियाशील रहने पार्टी हो राष्ट्रिय स्वतन्त्र पार्टी । रास्वपाले २०८० माघमा ‘राष्ट्रव्यापी दबाब अभियान’ सञ्चालन गरेको थियो । रुग्ण र अलपत्र पारिएका विकास योजनाको कामप्रति सरकारको ध्यानाकर्षण गराउन तय गरिएको दबाब अभियान सिन्धुपाल्चोकको मेलम्चीबाट सुरु गरिएको थियो । सो अभियानका लागि विभिन्न क्षेत्रमा नेताहरूलाई खटाइएको थियो ।
त्यो अभियान चल्दाचल्दै रास्वपा सरकारमा सहभागी भएको थियो । त्यसपछि त्यो अभियान सेलायो । सरकारमा सहभागी भएपछि पार्टी पूरै सेलायो ।
अहिले सरकारबाट हटेपछि रास्वपाले आत्मनिर्भर अभियान सञ्चालन गरेको छ ।
सीके राउत नेतृत्वको जनमत पार्टी पनि कुनै पार्टीभन्दा कम छैन । सरकारबाहिर हुँदा नौलो गणतन्त्रका लागि अभियान सुरु गरेको जनमत पार्टी अहिले सत्तामा पुगेपछि उक्त अभियानबाट विमुख भएको छ ।
जनतामा जानका लागि मधेसमा सबैभन्दा बढी अभियान सञ्चालन गर्नेमा जनमत पार्टी नै अग्रपङ्क्तिमा देखिन्छ । सरकार बाहिर हुँदा कुनै न कुनै अभियान चलाइरहने यो पार्टी जब सरकारमा जान्छ, अनि ‘साइलेन्ट मोड’ मा पुग्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मूल्य वृद्धिको समस्या उद्योग मन्त्रीले समाधान गर्ने हो : जनार्दन शर्मा
-
४ अरब ४९ करोड बचत रकम फिर्ता गरिदिन माग गर्दै काठमाडौँ महानगरपालिकामा निवेदन
-
१२ घण्टा लोडसेडिङ भन्ने कुरामा सत्यता छैन : हरि ढकाल
-
ठगी गरेको आरोपमा सप्तरीमा पत्रकार महासङ्घका पूर्व उपाध्यक्षसहित दुई जना पक्राउ
-
निर्वाचन आयोगमा 'दलितका लागि दलित' अभियानको धर्ना (तस्बिरहरू)
-
बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक