मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री कँडेलले भने-  योजना अलपत्र पार्ने काम नगर्नुस्

आइतबार, ०९ भदौ २०८१, २१ : १४
आइतबार, ०९ भदौ २०८१

सुर्खेत । समयमा काम नगर्ने ठेकेदारलाई बोलाएर कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले छलफल गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर कँडेलले छलफल गरेका हुन् ।

प्रदेश सरकारको बजेटबाट विभिन्न आयोजनाहरूको ठेक्का लिने तर समयमा काम सम्पन्न नगर्ने प्रवृत्ति बढेपछि कँडेलले समयमा काम नहुनुको कारणबारे उनले ठेकेदारसँग छलफल गरे । छलफलका क्रममा कँडेलले कुनै पनि समस्या नभएका ठाउँमा पनि समस्या देखाएर विकासका कामहरू रोक्ने प्रवृत्तिलाई अब सरकारले निरुत्साहित गर्ने बताए ।

‘जहाँ समस्या छ त्यहाँ सरकारको तर्फबाट सहजीकरण हुन्छ तर, समस्या नै नभएका ठाउँमा पनि समस्या देखाएर योजना अलपत्र पार्ने काम नगरिदिनुस्,’ठेकेदारसँग उनले भने, ‘राजनीतिक नेतृत्वको हुटहुटीले मात्र विकास र समृद्धि पुरा हुँदैन । समृद्धिको हिस्सेदार तपाईँहरु पनि हो ।’

आयोजना निर्माणमा बजेटको कमी नहुने बताउँदै कँडेलले सरकारको खातामा रकम हुने तर आयोजना अलपत्र पर्ने अवस्थालाई सुधार्ने बाटोमा हिँड्न आफ्नो अधिकतम प्रयास रहने बताए । साथै उनले आफूले सरकारको नेतृत्व सम्हालेपछि निर्माण व्यवसायका जायज मागका सम्बन्धमा विशेष ध्यान दिएको पनि बताए । ‘गुणस्तर र समयमै काम सम्पन्न गर्ने  व्यवसायीलाई मन्त्रालयका तर्फबाट हरसम्भव सहजीकरण हुन्छ,’कँडेलले निर्देशन दिँदै भने, ‘काम अलपत्र पार्ने काम चाहिँ नगर्नुहोस् ।’

कार्यक्रममा भौतिक पूर्वाधार मन्त्रालयका सचिव विष्णु भण्डारीले कर्णालीमा ३३ वटा बहुवर्षीय आयोजनाको काम सन्तोषजनक नरहेको जानकारी गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप