बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
उद्योग समिति बैठक

सांसदले सोधे पेट्रोलमा इथानोल मिसाउने र इन्धन भण्डार सार्ने योजना के भयो ?

आइतबार, ०९ भदौ २०८१, १८ : ५२
आइतबार, ०९ भदौ २०८१

काठमाडौँ । सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी बिक्री गर्ने तयारी गरेको छ । खनिज इन्धनमा रहेको अत्यधिक निर्भरतालाई घटाइ खनिज इन्धनको प्रयोगबाट वातावरणमा पर्न गएको प्रतिकूल प्रभावलाई समेत न्यूनीकरण गर्न पेट्रोलमा इथानोल मिश्रण गर्ने तयारी थालिएको हो ।

जसका लागि सरकारले २०६० साल मंसिर ९ गते पेट्रोलमा इथानोल मिश्रण गरी बिक्री गर्नुपर्ने व्यवस्था राजपत्रमा प्रकाशन गरेको थियो । तर यसको काम भने अगाडि बढ्न सकेको थिएन । 

सरकारले फेरि नेपाल आयल निगम लिमिटेडको नियम २२ को उपनियम १४ ले दिएको अधिकार प्रयोग गरी लिमिटेडको सञ्चालक समितिबाट पेट्रोलमा इथानोल मिश्रण गर्ने सम्बन्धी नियमावली २०८१ जारी गरिसकेको छ । 

यस विषयमा आइतबार उद्योग तथा वाणिज्य र  श्रम  तथा उपभोक्ता हित समितिमा छलफल भयो । यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको नेपाल आयल निगमको इन्धन भण्डारण स्थानान्तरण गर्ने विषयमा पनि छलफल भएको छ ।

छलफलका क्रममा सांसदहरूले इथानोल  मिश्रण गर्ने व्यवस्था २०६० सालमा आइसकेको तर किन अगाडि बढेन भन्ने प्रश्न गरेका थिए । यस्तै विमानस्थलभित्र रहेको नेपाल आयल निगमको इन्धन भण्डारण स्थानान्तरण गर्न ढिला गरिएको विषयमाथि पनि प्रश्न उठाएका थिए । 

सांसद हेमराज राईले २०६० सालमै इथानोल उत्पादन गरेर पेट्रोलियम पदार्थमा मिश्रण गर्ने व्यवस्था भएको तर हालसम्म पनि किन कार्यान्वयन हुन सकेन भनेर प्रश्न गरेका थिए ।  

उनले भने, ‘इथानोल मिसाउँदा पेट्रोलियम पदार्थ आयात कम हुन्छ भनिएको छ तर किन निगमले यो काम अघि बढाएन ? आयात गर्न मन नै भएर हो कि ?’ 

सांसद कान्तिका सेजुवालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको इन्धन डिपोले हवाई सुरक्षामा जोखिम बढेको धारणा राखिन् । उनले भनिन्, ‘तर किन आयल निगमले यसलाई अन्यत्र सार्न र थप व्यवस्थित गर्न ढिलाइ गरिरहेको छ ?’

‘कहिले सार्ने छिटोभन्दा छिटो डिपो सार्ने काम अगाडि बढाउनु पर्‍यो । कहाँ सार्न सकिन्छ प्राविधिकसँग छलफल गरेर सार्नुपर्‍यो,’ सांसद सेजुवालले भने । 

प्रश्नको जवाफ दिँदै वाणिज्य सचिव मधुसुदन बुर्लाकोटीले  विभिन्न राजनीतिक परिवर्तनका कारण तत्काल लागू हुन नसकेको बताए ।

यस्तै आगामी असोजभित्रमा इथानोल मिश्रणको कार्यविधि बनाउने र असोजसम्म लागू गर्ने उनको भनाइ छ । 

अन्तर्राष्ट्रिय मापदण्डअनुसार पेट्रोलियम पदार्थमा १० देखि २० प्रतिशतसम्म इथानोल मिश्रण गर्न सक्ने व्यवस्था छ । नेपालमा इथानोल मिश्रण गर्दा पेट्रोलियम पदार्थ आयात गर्दा लाग्ने खर्चमा करिब २० प्रतिशत घट्ने बताए । 

यस्तै उनले इथानोल उत्पादन गर्नका लागि निजी क्षेत्रलाई जिम्मा दिने बताए ।

‘इथानोल उत्पादन निगमले गर्दैन । निजी क्षेत्रलाई उत्पादनको जिम्मा दिन्छौँ । आयल निगमले इथानोल किन्छ,’ बुर्लाकोटीले भने ।

यस्तै उनले उखु किसान र चिनी उद्योगीसँग पनि छलफल गर्ने बताए ।

‘नेपालमा इथानोल उत्पादन गर्दा उखुखेतीमा विस्तार हुन्छ । यसले रोजगारी सिर्जना गर्नुका साथै बजारमा चिनीको अभाव हुँदैन,’ बुर्लाकोटीले भने, ‘यसबारे उखु किसान र चिनी उद्योगीसँग छलफल गरिरहेका छौँ ।’

यस्तै नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले इथानोल मिश्रण गर्न निगम तयारी अवस्थामा रहेको बताए ।

अमलेखगञ्जमा पेट्रोलियम पदार्थ भण्डारण गर्नका लागि ६ वटा ट्याङ्की तयार पारी राखेको उनको भनाइ छ । प्रशोधनका लागि ३ अर्ब रकम छुट्याउनुपर्ने उनले बताए । 

विमानस्थलको डिपो सार्न भित्र जग्गा छैन, बाहिर मिल्दैन 

विमानस्थलको इन्धन भण्डार (डिपो) स्थानान्तरण गर्नेबारे वाणिज्य सचिव बुर्लाकोटीले विमानस्थलबाट टाढा सार्न नसकिने बताए । 

उनले नागरिक उड्डयन प्राधिकरणसँग छलफल गरेर भूमिगत रूपमा राख्न मिल्ने गरी काम थाल्ने बताए । 

‘नियमअनुसार विमानस्थल बाहिर लैजान सक्दैनौँ । भित्रै अण्डरग्राउण्ड गरेर राख्नुपर्ने हुन्छ । विकल्पको रूपमा ठाउँ हेरेर हामी तत्काल सार्छौं,’ बुर्लाकोटीले भने, ‘लागत बढी लाग्ला तर सुरक्षा प्रमुख विषय भएकाले जति लागत लागे पनि अण्डरग्राउण्ड गरेर राख्नेछौँ ।’

नेपाल आयल निगमका प्रवक्ता चण्डीकाप्रसाद भट्टले जग्गाको अभाव भएका कारण तत्काल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको इन्धन भण्डारण स्थानान्तरण गर्न नसकेको बताए ।

‘हामी तयारी अवस्थामा छौँ तर जग्गा पाइरहेका छैनौँ । डीपीआर बनाउने काम अगाडि बढाएका छौँ,’ भट्टले भने, ‘जग्गा उपलब्ध नभएका कारण काम अघि बढाउन सकिएन ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप