बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
अदालत

सर्वोच्चबाट कैद ठहर भएका कांग्रेस नेता उपप्रधानमन्त्री र गृहमन्त्रीको दैलोमा

सुरेन्द्र सिंहविरुद्ध ९ महिना कैद र १ करोड ४४ लाख ८७ हजार जरिवाना ठहर
आइतबार, ०९ भदौ २०८१, १७ : ५८
आइतबार, ०९ भदौ २०८१

काठमाडौँ । नेपाली कांग्रेसका नेता सुरेन्द्रप्रसाद सिंहलाई सर्वोच्च अदालतले कैद सजाय हुने ठहर गरेको छ । भ्रष्टाचार मुद्दामा ९ महिना कैद तोकिएका सिंहले पछिल्लो समय उप–प्रधानमन्त्री र गृहमन्त्री सहितका उच्च पदस्थहरूलाई भेटेका छन् । उनी नेपाली कांग्रेसको सर्लाही जिल्लाका सभापति हुन् ।

विशेष अदालतले २०७१ पुस २५ मा मनुष्मारा सिँचाइ आयोजना क्षेत्रको वन मासेको मुद्दामा उनलाई दोषी ठहर गरेर डेढ वर्ष कैद र २ करोड ८९ लाख ७४ हजार ४६० जरिवाना हुने फैसला गरेको थियो । सो फैसलाविरुद्ध सिंहले सर्वोच्चमा पुनरावेदन गरे । विशेषले सिंहलाई थोरै सजाय गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि सर्वोच्चमा पुनरावेदन गरेको थियो ।

सिँचाइ आयोजना क्षेत्रमा रहेको सिसौका रुख स्थानीय प्रशासनसँग मिलेर भारततर्फ बेचेको घटनामा सर्वोच्च अदालतले २०८० फागुन १५ मा विशेषले गरेको कैद र जरिवानामा ‘केही उल्टी’ हुने फैसला गरेको थियो । सर्वोच्च अदालतका एक जना उच्च अधिकृतका अनुसार सिंहको हकमा विशेषले गरेको फैसलाको आधा सजाय ठहर भएको छ ।

सिंहलाई सर्वोच्चले ९ महिना कैद र १ करोड ४४ लाख ८७ हजार जरिवाना ठहर गरेको छ । तर, पूर्ण पाठ नआएको हुनाले सिंहले आफूले ‘सफाइ’ पाएको जिकिर गर्ने गरेका छन् । मुद्दाबाट आफूले सफाइ पाएको उनले रातोपाटीसँग दाबी गरेका छन् । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘कहाँबाट मलाई कैद र जरिवाना सजाय भएको छ ? सर्वोच्चबाट मैले सफाइ पाएको हुँ ।’

कैद र जरिवाना ठहर हुँदा पनि उपप्रधान तथा सहरी विकाश मन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक र बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामासँग भेटघाट गरेका हुन् । भ्रष्टाचार मुद्दामा कैद र जरिवाना ठहर हुँदा पनि कानुन कार्यान्वयन गर्ने मुख्य निकायका पदाधिकारीलाई भेटेर उनले कानुनी राज्यको ‘खिल्ली उडाएको’ भनेर आलोचना भएको छ ।

२०५८ सालतिर मनुष्मारा उपभोक्ता समिति अध्यक्ष रहँदा सिंहकै नेतृत्वमा सिसौ फडानी भएको अख्तियारको अनुसन्धान निष्कर्ष छ । यसअघि सिंह प्रदेश सांसदमा उठ्न खोजे पनि अदालतबाट भ्रष्टाचारी ठहर भएकाले अन्तिम समयमा उठेका थिएनन् । भ्रष्टाचार मुद्दा लागेकोबारे प्रश्न उठेपछि उम्मेदवारी खारेज हुनसक्ने भन्दै उनले आफ्नो भाइ वीरेन्द्र सिंहलाई प्रदेशसभा सदस्यमा उम्मेदवार बनाए । अहिले वीरेन्द्र मधेस प्रदेश सरकारको महिला, बालबालिका तथा खेलकुद मन्त्री छन् ।

भ्रष्टाचार मुद्दामा अदालतबाट ठहर भएको कैद र जरिवाना भुक्तान गर्नुपर्छ । भ्रष्टाचार मुद्दामा १ दिन कैद सजायको फैसला भए पनि जेलमा बस्नुपर्ने कानुनी व्यवस्था रहेको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द प्रसाद घिमिरेले रातोपाटीलाई बताए । उनले भने, ‘कुनै मुद्दामा १ वर्षभन्दा थोरै कैद सजाय भएमा तोकिएको रकम तिरेर कैद नबस्ने व्यवस्था छ तर, भ्रष्टाचार मुद्दामा सो सुविधा हुँदैन ।’

विशेष अदालतका तत्कालीन अध्यक्ष मोहनरमण भट्टराई तथा सदस्यहरू भूपेन्द्रप्रसाद राई र महेशप्रसाद पुडासैनीले गरेको फैसलाको पूर्णपाठ अनुसार सिंह यसअघि ४ महिना २६ दिन कैद बसेको भेटिएको छ ।

घटना के थियो ?

२०५८ सालमा सुरेन्द्र सिंह मनुष्मारा सिँचाइ आयोजनाको उपभोक्ता समितिको अध्यक्ष र ठेकेदार पनि थिए । अर्का ठेकेदार थिए, अमिरी राय यादव । सिँचाइ आयोजना सञ्चालन गर्न रुखहरूले अप्ठेरो पारेको भन्दै आयोजना आसपासका १८ हजारभन्दा धेरै रुख उनीहरुले फडानी गरेर बेचेका हुन् ।

भारततर्फ रुख बेचेर आम्दानी भएको रकममध्ये केही रकम सरकारी खातामा जम्मा गरे पनि अधिकांश रकम उनीहरू आफैँले मासेको अख्तियारको अनुसन्धान निष्कर्ष छ ।

त्यसबिरुद्ध अख्तियारले अनुसन्धान गरेर वनमासी मुद्दा विशेषमा दायर गरेको थियो । २०८० फागुन १५ मा सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलले विशेषको फैसलामा ‘केही उल्टी’ हुने फैसला गरेका हुन् । सिंह कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप