आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
विमान दुर्घटना

सौर्य एयरलाइन्स दुर्घटनाको एक महिना : के गर्दैछ जाँचबुझ आयोग ?

आइतबार, ०९ भदौ २०८१, १७ : ५६
आइतबार, ०९ भदौ २०८१

काठमाडौँ । ठिक एक महिनाअघि काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको थियो । 

साउन ९ गते बिहान ११ः१० बजे काठमाडौँदेखि पोखराका लागि उडेको सौर्य एयरलाइन्सको बम्बार्डियर जहाज उडेको केही सेकेन्डमा नै दुर्घटनामा परेको थियो । उक्त विमानमा सवार १९ जनामध्ये १८ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो । क्याप्टेन मनिषरत्न शाक्य एक जना मात्र उक्त दुर्घटनाबाट बाच्न सफल भएका थिए । 

दुर्घटना लगत्तै सोही बेलुका बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दुर्घटनाको छानबिनका लागि ५ सदस्यीय ‘सौर्य एयरलाइन्स दुर्घटना जाँचबुझ आयोग’ गठन गरिएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा गठित दुर्घटना जाँचबुझ आयोगका सदस्यहरूमा नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक इन्जिनियरिङ क्याम्पसका मेकानिकल इन्जिनियर तथा विभागीय प्रमुख सुदीप भट्टराई, श्री एयरलाइन्सका कर्मचारी सञ्जय अधिकारी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) का एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल रहेका छन् । 

जाँचबुझ आयोगलाई ४५ दिनेको समयावधि दिइएको थियो । अब समितिसँग करिब १३ दिनको मात्र समय बाँकी छ । 

जहाज दुर्घटनाको स्थलगत रिपोर्टिङ, कम्पनीसँगको सोधपुछ, घटनाको सम्पूर्ण प्रमाणहरू सङ्कलन तथा अध्ययन गरेको समितिले दुर्घटनाग्रस्त जहाजको ‘ब्ल्याक बक्स’ समेत परीक्षण गरिसकेको छ । जहाज दुर्घटनाको छानबिन तथा अध्ययनका सिलसिलामा ब्ल्याक बक्समा रेकर्ड भएको भ्वाइस तथा घटनाको विवरण लिन अध्यक्ष सुमन आफै ब्ल्याक बक्स बोकेर परीक्षणका लागि सिंगापुर गएका थिए । 

आयोगका सदस्य सुदीप भट्टराईले अहिले आयोगले सङ्कलन गरेको आधार तथ्याङ्क तथा रिपोर्टहरूलाई एकीकृत गर्दै प्रतिवेदन बनाउन लागेको बताउँदै थप जानकारी साझा गर्न नमिल्ने बताए । ‘अबको केही दिनमा रिपोर्ट नै सार्वजनिक गर्छौँ । त्यसपछि यथार्थ के हो बाहिर आइहाल्छ । प्राप्त रिपोर्ट तथा तथ्याङ्कहरू एकीकृत गर्दै प्रतिवेदन तयार गर्दैछौ । तर, अहिले केही बोल्न मिल्दैन,’ भट्टराईले रातोपाटीसँग भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप