शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
फाइनलमा पुग्दाको खुसी, तस्बिरहरू
साफ यू-२०

फाइनलमा पुग्दाको खुसी, तस्बिरहरू

आइतबार, ०९ भदौ २०८१

काठमाडौँ । नेपाली टोली साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न सेमिफाइनल खेलमा भुटानलाई पेनाल्टी सुटआउटमा ४–१ गोलले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सम्पन्न सेमिफाइनल खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएको थियो । त्यसपछि खेल सिधै पेनाल्टी सुटआउटमा गएको थियो । त्यसअघि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

दोस्रो हाफमा भुटानले सुरुआती अग्रता लिएको थियो । भुटानका लागि ५६औँ मिनेटमा जेत्सन दोर्जीले पहिलो गोल गरेका थिए । त्यसपछि भुटानी टोली १० खेलाडीमा समेटिएको थियो । त्यसको फाइदा उठाउँदै नेपालका लागि ७८औँ मिनेटमा नीराजन धामीले जवाफी गोल गरेका थिए ।

पेनाल्टी सुटआउटमा नेपालका लागि पहिलो प्रहार राम थापाले गरेका थिए । उनले त्यसलाई गोलमा परिणत गरे । पहिलो प्रहार गर्न आएका भुटानका जेत्सन दोर्जीले पनि गोल गरे । नेपालका लागि दोस्रो प्रहार गर्न आएका अविनाश स्याङ्तानले पनि गोल गरे ।

तर, दोस्रो प्रहार गर्न आएका भुटानका जिग्मे नाम्गेलको प्रहारलाई नेपाली टोलीका गोलरक्षक जियारत शेखले बचाएका थिए । नेपालका लागि तेस्रो प्रहार गर्न आएका सेमन्त थापाले पनि गोल गरे । तर, भुटानका उग्बेन जिग्मेको प्रहारलाई नेपाली गोलरक्षकले विफल पारे ।

यसैगरी, नेपालका लागि चौथो प्रहार गर्न आएका गोलरक्षक जियारत आफैले गोल गरे । उनको गोलसँगै नेपाल ४–१ को जित निकाल्दै फाइनलमा पुग्न सफल भयो । प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल सोमबार भारत र बंगलादेशबिच खेलिने छ ।

नेपाली टोली समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । भुटान भने समूह ‘बी’ को उपविजेता बनेर अन्तिम चारमा प्रवेश गरेको हो । यसैगरी भारत समूह ‘बी’ को विजेता र बंगलादेश समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया