आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

विमानस्थलभित्र रहेको इन्धन भण्डारण तत्काल स्थानान्तरण सम्भव छैन : आयल निगम

आइतबार, ०९ भदौ २०८१, १७ : २२
आइतबार, ०९ भदौ २०८१

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको इन्धन भण्डारण तत्काल स्थानान्तरण गर्न सम्भव नभएको बताएको छ । 

आइतबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव तथा नेपाल आयल निगम लिमिटेडका अध्यक्ष मधुसुदन बुर्लाकोटीले विमानस्थलभित्र रहेको अयाल निगमको इन्धन भण्डारणलाई तत्काल विमानस्थल बाहिर स्थानान्तरण गर्न सम्भव नभएको बताएका हुन् । उनले प्राविधिक कारणले पनि बाहिर स्थानान्तरण गर्न नसकिने भन्दै विमानस्थलभित्रै भण्डारण गर्नु आफूहरूको बाध्यता भएको बताए । 

यद्यपि प्रधानमन्त्रीको निर्देशन अनुरूप आफूले काठमाडौँ उपत्यकाका केही स्थानहरूमा विकल्प खोजिरहेको भन्दै राजनीतिक तहबाट स्वीकृत हुन बाँकी रहेको उनले जानकारी दिए । उनले राजनीतिक तहले स्वामित्व नलिएसम्म सो स्थानबारे आफूले अहिले नै खुलाउनु उपयुक्त नहुने बताए । उनले विमानस्थल भित्रको इन्धन भण्डारणलाई सम्भव भएसम्म सुरक्षित तवरले राखिएको बताए ।

नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको नेपाल आयल निगमको इन्धन भण्डारणको स्थानान्तरण गर्न निगम तयार भए पनि जग्गा अभावका कारण सम्भव नभएको बताए । उनले जग्गा उपलब्ध हुन सकेमा आफूहरूले तुरुन्त काम अगाडी बढाउने बताए । 

उनले भने – ‘यो समितिले नार्कलाई एउटा निर्देशन तुरुन्त जग्गा उपलब्ध गराइदिनु । यति ढिला किन गर्नुभयो भनेर एउटा निर्देशन दिनुभयो भने असाध्यै राम्रो हुन्थ्यो । हामी त तयारी अवस्थामा छौँ । हामीले डीपीआर गर्न पाइरहेका छैनौँ । गत आर्थिक वर्षमा पनि हामीले बजेट राख्यौँ । डिपिआर गर्न सुरु गर्न खोज्यौँ तर जग्गा उपलब्ध भएको छैन । हाम्रो जग्गाका इस्युहरु छन् । हाम्रो ३२ रोपनी जग्गा यतापट्टि छ । ५ रोपनी भाडामा लिएका छौँ । सम्बन्धित निकायले पनि हामीसँग यो जग्गाको विषय सल्ट्याउनुपर्‍यो । हामी सल्ट्याउन तयार छौँ । जग्गा तुरुन्तै उपलब्ध गराउँछौ भन्ने विषय आइदियो भने सहज हुन्थ्यो । जग्गा उपलब्ध नभएकोले हामीले काम अगाडी बढाउन नसकेको अवस्था छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप