शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

कांग्रेसको नेतृत्वमा आउन देउवाको ‘आशीर्वाद’ खोज्दै पुरानो पुस्ता

युवा पुस्ताका भनिएका महामन्त्रीद्वय घेराबन्दीमा
आइतबार, ०९ भदौ २०८१, १६ : ०१
आइतबार, ०९ भदौ २०८१

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन मै नेतृत्व हस्तान्तरणको मुद्दा उठेको थियो । १४ औँ महाधिवेशनले सभापतिमा शेरबहादुर देउवालाई नै निरन्तरता दिए पनि युवा पुस्ताको माग बमोजिम पार्टीको दोस्रो कार्यकारी पद ‘महामन्त्री’ मा युवा पुस्ताका दुई नेता गगन थापा र विश्वप्रकाश शर्मा चुनिएका थिए ।

१४ औँ महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिले आधाभन्दा बढी कार्यकाल पार गरिसकेको छ । तर, यतिबेला पार्टीभित्र पहिलो पुस्ताकै नेताहरू नेतृत्वका लागि तम्सिन थालेका छन् ।

यतिमात्र होइन, जारी केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका प्रस्तावलाई पुराना पुस्ताका संस्थापन पक्षीय नेताले ठाडै अस्वीकार गरेका छन् । पार्टी तथा राज्यको विभिन्न पदमा रहने समयसीमा सहितको प्रावधानबारे महामन्त्री शर्माले ल्याएको प्रस्तावलाई उनीहरूले खुलेर आलोचना गरेका छन् ।

सभापति शेरबहादुर देउवाका समकालीन नेताहरू देउवा पश्चात् आफू ‘नेतृत्वको दाबेदार हुँ’ भन्न थालेका छन् । नेतृत्वको लडाइँमा होमिएका नेता शेखर कोइरालादेखि महामन्त्री तहसम्मका नेताहरूलाई संस्थापन पक्षकै पुरानो पुस्ताका नेताले तनाव बढाउने देखिएको संस्थापन निकट दोस्रो तहका नेताहरूको तर्क छ ।

शुक्रबारको केन्द्रीय समिति बैठकमा बोल्दै सभापति देउवाका समकालीन नेताहरूले ‘अबको सभापति’ बन्ने तीव्र आकाङ्क्षा देखाए । उनीहरूले नेतृत्व अर्को पुस्तामा भन्दा पनि आफूहरूले पाउनुपर्ने र यसका लागि ‘आशीर्वाद दिन’ सभापति देउवासमक्ष अनुनय गरे ।

देउवा समूह निकट नेता नैनसिंह महर बदलिएको राजनीतिक परिप्रेक्ष्य, विश्वराजनीतिमा भएको परिवर्तन तथा प्रविधिले थपेका चुनौतीलाई ट्याकल गर्ने गरी नयाँ पुस्ता हाबी हुँदा त्यसको भय पुराना पुस्तामा परेको हुन सक्ने टिप्पणी गर्छन् ।

नेताहरू विमलेन्द्र निधि, विजय कुमार गच्छदार, बलबहादुर केसी, कृष्ण सिटौलाले आफूलाई सभापति बनाएर पार्टीको अभिभावकत्व ग्रहण गर्न देउवालाई अनुरोध गरेका थिए । ‘शुक्रबार बुढा नेताहरूको अभिव्यक्ति संयोग हैन, रणनीतिक नै हो । सुरुमा शेखर दाइको समूहका नेता बलबहादुर दाइ बोल्दा त सामान्य अभिव्यक्ति मात्र होला भन्ने मानियो,’ सभापति देउवा निकट एक केन्द्रीय सदस्यले भने, ‘तर, हाम्रै समूहका विमलेन्द्र र विजयी दाइ बोल्नुभयो । अनि लाग्यो– सँगै लडेका नेताहरू एकजुट हुने प्रयासमा छन् ।’

शुक्रबारको बैठकमा पूर्वउपसभापति विजयकुमार गच्छदारले देउवालाई अभिभावक बनेर बस्न अनुरोध गर्दै भनेका थिए, ‘तपाईंसँगै लडेका, दुःख गरेको बलबहादुर केसीलाई सभापति बनाउनु होस् वा विमलेन्द्र निधि, प्रकाशमानजी, पूर्णजीलाई सभापति बनाउनुहोस् । तपाईंले बनाउनुहुन्छ भने म पनि तयार छु ।’

अर्का नेता विमलेन्द्र निधिले पनि पार्टीमा अनुभवी र जिम्मेवारी बहन गर्न सक्नेलाई नेतृत्व सुम्पन्न अनुरोध गरेका थिए । नेता कृष्णप्रसाद सिटौलाले पनि यस्तै आशयको अभिव्यक्ति दिएका थिए ।

देउवा समूह निकट नेता नैनसिंह महर बदलिएको राजनीतिक परिप्रेक्ष्य, विश्वराजनीतिमा भएको परिवर्तन तथा प्रविधिले थपेका चुनौतीलाई ट्याकल गर्ने गरी नयाँ पुस्ता हाबी हुँदा त्यसको भय पुराना पुस्तामा परेको हुन सक्ने टिप्पणी गर्छन् ।

‘पुराना पुस्ताको अस्तित्व नामेट गर्न हुँदैन तर त्यो पुस्ताले असुरक्षित भएको महसुस गरेको छ । युवा पुस्ताले हामी आउने भनेर जबरजस्त धक्का दिइरहेको अवस्था छ,’ महरले रातोपाटीसँग भने, ‘नेतृत्वमा स्थापित हुने त लोकतान्त्रिक प्रक्रियामा गएपछि जसले जित्छ, त्यो स्थापित हुन्छ । हाम्रो उमेर समूहले नेतृत्व गर्नुपर्छ भन्ने मान्यता राख्छु ।’

  • ‘देउवा आशीर्वाद’को अपेक्षा

विधान अनुसार नेपाली कांग्रेसको महाधिवेशन हरेक चार वर्षमा गर्नुपर्छ । विशेष कारण देखाएर एक वर्ष समयावधि थप्ने अधिकार विधानले दिएको छ । चार वर्षमा गर्दा २०८२ र पाँचौँ वर्षमा गरे २०८३ सालमा कांग्रेसको महाधिवेशन अनिवार्य गर्नैपर्ने हुन्छ । विधानले तेस्रो कार्यकालका लागि देउवालाई सभापति बनाउने बाटो बन्द गरिदिएको छ । सोही कारण महाधिवेशन आउन एक वर्षभन्दा केही बढी समय बाँकी रहँदा पार्टीमा नयाँ नेतृत्व केन्द्रित बहस हुन थालेको छ ।

देउवा निकट एक पदाधिकारीका अनुसार संस्थापन टिमभित्र अबको नेतृत्व कसको भन्नेमा चरम लडाइँ हुँदैछ । अघिल्लो महाधिवेशनमा देउवाको नाममा एकजुट भएका नेताहरू ‘अब म नेता’ भन्दै हिँड्दै छन् । देउवा टिमभित्र एकले अर्कालाई स्विकार्नै नसक्ने स्थिति छ ।

पार्टी केन्द्रीय सदस्य मधु आचार्य फरक कित्तामा रहेका गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेलजस्ता नेताहरू एक ठाउँमा उभिने वातावरण बन्दा पुराना पुस्ताको नेताहरू आत्तिएको र प्रतिक्रियावादी बनेको तर्क गर्छन् ।

‘प्रकाशशरण महतहरू एकातिर, बालकृष्ण खाणहरू अर्कोतिर । सभापतिज्यूको आशीर्वाद पाउँछु भन्ने आशमा रहेका पूर्णबहादुरहरू अर्कोतिर । हामीभित्र समस्या छ,’ ती पदाधिकारीले भने, ‘अहिले सबैलाई सभापतिज्यूको आशीर्वाद चाहिएको छ । तर, को भन्नेमा लडाइँ छ ।’

१४ औँ महाधिवेशनमा देउवासँग लडेका शेखर कोइराला समेत देउवाको सेन्टिमेन्टको खोजीमा छन् । कोइरालाले यसअघि नै १५ औँ महाधिवेशनमा सभापतिका लागि आफू उम्मेदवार बन्ने सार्वजनिक रूपमा भनिसकेका छन् । यसबाहेक नेताहरू शशांक कोइराला, प्रकाशरण महत तथा महामन्त्री गगन थापा लगायत नेताहरू पनि देउवाको समर्थन चाहन्छन् ।

‘परिस्थिति यस्तो छ । अनि समकालीन नेताहरू अर्को पुस्तामा नेतृत्व जान नदिन सके जति गर्नखोज्नु स्वाभाविक नै हो नि,’ ती पदाधिकारीले थपे ।

पार्टी केन्द्रीय सदस्य मधु आचार्य फरक कित्तामा रहेका गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेलजस्ता नेताहरू एक ठाउँमा उभिने वातावरण बन्दा पुराना पुस्ताको नेताहरू आत्तिएको र प्रतिक्रियावादी बनेको तर्क गर्छन् ।

‘अर्को पुस्ता अघि आइसक्यो । हामी राजनीतिबाट हराउँछौँ कि, किनारामा पारिन्छौँ कि, हामी पनि एक ठाउँमा उभिनु पर्छ भनेर उहाँहरूले प्रतिक्रिया दिन थाल्नुभयो,’ आचार्यले भने ।

  • एकजुट होलान् शीर्ष नेताहरू ?

पार्टीभित्र सभापति देउवा पश्चात् गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, विमलेन्द्र निधि उपसभापति भइसकेका नेता हुन् । यस्तै कृष्णप्रसाद सिटौलाले देउवासँग सभापतिमा प्रतिस्पर्धा गरिसकेका छन् । निधि पनि देउवा टिमबाट विद्रोह गरेर सभापतिमा लडेपछि पुनः देउवा क्याम्पमै फर्किएका नेता हुन् ।

यसबाहेक प्रकाशमान सिंहले पनि गएको महाधिवेशनमा इतर टिम छाडेर एकल सभापति लडेका थिए । सिंह पनि सभापति देउवाको सेन्टिमेन्टमा आगामी अधिवेशनबाट नेतृत्व लिने दौडमा छन् । यस्तै पूर्णबहादुर खड्का आफूलाई देउवाको उत्तराधिकारीको रूपमा प्रस्तुत गर्दै हिँडिरहेका छन् ।

यो टिममा ‘कि मेकर’ को रूपमा देउवा पत्नी आरजु राणा छिन् । टिमबाट कसले नेतृत्व लिन्छ भन्ने हस्तक्षेपकारी भूमिकामा उनी छिन् । उनलाई पनि कतिपयले नेतृत्वको दाबेदारको रूपमा प्रस्तुत गर्ने गरेका छन् ।

नेता महर पुराना उमेर समूहका नेताहरूले योगदान अनुसार नेतृत्वको अपेक्षा गर्नु स्वाभाविक भए पनि त्यो उमेर समूहबाट स्वीकार्य नेतृत्वचाहिँ कसको हुन्छ भन्ने प्रश्न गर्छन् । ‘उहाँहरूकै उमेर समूहबाट एकै सभापतिको उम्मेदवार नहोला । भएमा को भन्ने पनि होला । उहाँहरूले चिन्ता गर्ने सामान्य विषय हो,’ उनले थपे ।

संस्थापन पक्षबाटै नेतृत्वमा पुस्तान्तरणको वकालत भइरहँदा विभिन्न पदमा पटक–पटक अवसर पाएका नेताहरू ‘शक्ति गुमाउनुपर्ने हो कि’ भन्ने भयमा पुगेको बुझ्न कठिन छैन ।

महामन्त्री गगन थापा निकट नेता अजयबाबु शिवाकोटी सभापति देउवा समकालीन नेताहरू मिलेर अरूलाई घेराबन्दी गर्ने विषय ‘दिवास्वपन’ हुने तर्क गर्छन् ।

इतर समूह निकट केन्द्रीय सदस्य मधु आचार्यको पुराना पुस्ताका नेताबिच कसले अर्को पुस्तालाई चाँडो समर्थन गरेर नजिक हुने भन्नेमा प्रतिस्पर्धा चल्ने तर्क गर्छन् ।

‘उहाँहरूको क्यारेक्टर एक ठाउँमा उभिने खालको होइन । कसले युवालाई चाँडो सपोर्ट गरेर केही शक्ति आर्जन गर्ने भनेर प्रतिस्पर्धामा लाग्नुहुन्छ,’ आचार्यले भने, ‘एकले अर्कोलाई स्वीकार गर्दैनन् । उनीहरूबिच जटिलता छ ।’

१४ औँ महाधिवेशनमा पनि पुस्तान्तरणको नारा दिएर शेखर कोइरालाले नेतृत्वमा समूह बनाएरै लडेपछि पुराना नेताहरू रामचन्द्र पौडेलदेखि प्रकाशमान सिंह लगायत नेताहरू सभापतिमा देउवालाई जिताउन एकजुट भएकै हुन् । अबको महाधिवेशनमा पनि महामन्त्री गगन थापा र उनको पुस्ताले आँट गरेर नेतृत्व लिन दौडमा लागे कहाँ पुगिने भन्ने संशय कांग्रेसका पुराना नेताहरूमा छ ।

महामन्त्री गगन थापा निकट नेता अजयबाबु शिवाकोटी सभापति देउवा समकालीन नेताहरू मिलेर अरूलाई घेराबन्दी गर्ने विषय ‘दिवास्वपन’ हुने तर्क गर्छन् । यतिसम्म कि आफूहरूलाई नेतृत्व छाड्नुहोस् भन्ने नेताहरूले देउवाबाट धोका पाउने आकलनसमेत उनको छ । तर, फरक कित्तामा रहेर अर्को समूहका नेताहरूविरुद्ध बोल्ने विषय स्वाभाविक भएको बुझाइ उनको छ ।

‘जसरी पछिल्ला राजनीतिक घटनाक्रम विकास भएका छन्,  त्यहाँबाट हेर्दा उहाँहरू सभापतिको विश्वास जितेर उम्मेदवार बन्ने छेउछाउमा पनि पुग्नुहुन्छ भन्ने मलाई लाग्दैन,’ शिवाकोटीले भने, ‘महामन्त्री वा अरू सभापतिको आकाङ्क्षीलाई घेराबन्दी गर्ने कुरा दिवास्वपन हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोमन आचार्य
रोमन आचार्य
लेखकबाट थप