सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

केकेएम/एनआरटी स्थापनाको ९० वर्ष : टेबलटेनिसदेखि फुटबल र क्रिकेटसम्मका प्रतियोगिता

आइतबार, ०९ भदौ २०८१, १५ : ५८
आइतबार, ०९ भदौ २०८१

काठमाडौँ । नेपालको सबैभन्दा पुरानो क्लबमध्ये एक हो, काठमाडौँ खेल मण्डल (केकेएम)/न्युरोड टिम (एनआरटी) युवा वर्गलाई खेलकुद क्षेत्रमा सक्रिय गराउँदै स्वस्थ नागरिक तयार पार्ने उद्देश्यले १९९१ सालमा यो क्लबको स्थापना भएको थियो ।

स्थापनाकालदेखि नै यो क्लबले फुटबल, टेबलटेनिस, क्रिकेट, बिलियर्ड लगायतका खेलको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । अझ घरेलु फुटबललाई त एनआरटी क्लबले बिर्सनै नसकिने गुन लगाएको छ ।

देशभित्र फुटबल खेलको विकासमा आफ्नो स्थापनाकालदेखि नै क्लबले महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । यसै क्रममा, स्थापनाको ९० वर्ष पुगेको उपलक्ष्यमा पनि काठमाडौँ खेल मण्डलले विभिन्न खेलकुद गतिविधि सञ्चालन गर्ने भएको छ ।

यो क्लबले फुटबल मात्र होइन, क्रिकेट र टेबलटेनिस खेलको विकासमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याएको छ । आफ्नो स्थापनाको ९०औँ वार्षिकोत्सव मनाउने क्रममा यो क्लबले भदौमा ‘केकेएम–एनआरटी अन्तरविद्यालय राष्ट्रिय टेबलटेनिस प्रतियोगिता आयोजना गर्ने भएको छ ।

क्लबले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी भदौ ११ देखि १३ गतेसम्म अन्तरविद्यालय राष्ट्रिय टेबलटेनिस प्रतियोगिता आयोजना गर्ने जानकारी दियो । प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा देशभरका खेलाडीको सहभागिता रहने जानकारी क्लबका सदस्यसमेत रहेका प्रतियोगिता कमिटीका संयोजक सुनिलभक्त जोशीले दिए । उनले प्रतियोगितामा काठमाडौँका अतिरिक्त धरान, पोखरालगायतका सहरका विद्यालयले पनि भाग लिने जानकारी दिए ।

‘खेलकुदको विकासमा योगदान पुर्‍याउने तथा सहभागी विद्यार्थी खेलाडीहरूबिच भाइचारा, सौहार्द र सहयोगको भावना वृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा काठमाडौँ बाहिरका विद्यालयको पनि सहभागिता रहने छ,’ उनले भने ।

प्रतियोगितामा सहभागी हुन ४३ वटा विद्यालयका एक सय ९२ जना विद्यार्थीले नाम दर्ता गराइसकेको छन् । प्रतियोगिता अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघ र अखिल नेपाल टेबलटेनिस संघको नियमानुसार खेलाइने छ ।

प्रतियोगितामा ब्वाइज टिम स्पर्धा, गर्ल्स टिम स्पर्धा, ब्वाइज यू–१६ एकल स्पर्धा, गर्ल्स यू–१६ एकल स्पर्धा, ब्वाइज यू–१२ एकल स्पर्धा र गर्ल्स  यू–१२ एकल स्पर्धा गरी ६ वटा स्पर्धा समावेश गरिएको छ । ब्वाइज र गर्ल्स टिम स्पर्धाबाहेक अन्य स्पर्धाका खेलाडीलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

चारवटै एकल स्पर्धामा पहिलो हुने खेलाडीलाई २० हजार, दोस्रो हुने खेलाडीलाई १० हजार र तेस्रो हुने दुईजना खेलाडीलाई जनही पाँच–पाँच हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने बताइएको छ । प्रतियोगिताको कुल पुरस्कार राशि एक लाख ६० हजार रुपैयाँ रहेको छ ।

क्लबका उपाध्यक्ष नविन सुवालले प्रतियोगिता सम्पन्न गर्न सात लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको जानकारी दिए । उनले क्लबले विभिन्न सामाजिक कार्य पनि गर्दै आएको बताए । ९०औँ वार्षीकोत्सवको उपलक्ष्यमा क्लबले क्रिकेट, फुटबल र स्नुकर/बिलियर्ड प्रतियोगितामा पनि आयोजना गरेको जानकारी पनि उपाध्यक्ष सुवालले दिए ।

यसैगरी, क्लबका अध्यक्ष सुन्दर नरसिंह जोशीले विगतदेखि नै क्लबले टेबलटेनिस खेलको विकासमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको जानकारी दिए । ‘हाम्रो क्लबबाट टेबलटेनिसका थुप्रै प्रतिभाशाली खेलाडी उत्पादन भएका छन् । हाम्रा खेलाडीले विगतमा राष्ट्रिय प्रतियोगितामा पदक पनि जितेका छन्,’ उनले भने ।

उनले विगतमा थुप्रै क्लबले टेबलटेनिसका गतिविधि सञ्चालन गर्ने गरेको जानकारी पनि दिए । ‘काठमाडौँमा २००८ सालदेखि नै टेबलटेनिसका गतिविधि हुन्थे । विगतमा टेबलटेनिस खेलप्रति ठुलो लगाव पनि थियो । करिब १०–१२ वटा क्लबले टेबलटेनिसका गतिविधि सञ्चालन गर्थे । बिस्तारै क्लबहरूले टेबलटेनिसलाई बिर्सँदै गए,’ उनले विगत सम्झिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप