रावलपिण्डीमा बंगलादेशी क्रिकेट टोलीले रच्यो इतिहास
काठमाडौँ । बंगलादेशले टेस्ट क्रिकेटमा पाकिस्तानमाथि ऐतिहासिक जित हासिल गरेको छ । बंगलादेशले पहिलो टेस्ट क्रिकेटको पाँचौँ तथा अन्तिम दिन आइतबार पाकिस्तानलाई उसैको घरेलु मैदानमा १० विकेटले हराएको हो ।
बंगलादेशले टेस्ट क्रिकेटमा पाकिस्तानलाई हराएको यो पहिलो पटक हो । बंगलादेश र पाकिस्तानीबिच यसअघि १३ वटा टेस्ट खेलिएको थियो । त्यसमध्ये १२ वटा टेस्टमा पाकिस्तान विजयी भएको थियो । बाँकी एक टेस्ट भने बराबरीमा सकिएको थियो ।
१४औँ टेस्टमा आएर बंगलादेशले पाकिस्तानलाई हराएको हो । त्यसैले यो जित बंगलादेशका लागि निकै महत्वपूर्ण छ । जितसँगै भ्रमणकारी टोली बंगलादेशले दुई खेलको शृंखलामा १–० को अग्रता पनि हासिल गरेको छ ।
केवल ३० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको बंगलादेशले दोस्रो पालीमा कुनै पनि विकेट नगुमाई विजयलक्ष्य पुरा गरेको हो । बंगलादेशले विजयलक्ष्य पुरा गर्दा ओपनर ब्याट्सम्यान जाकिर हसन अविजित १५ र सदमन इस्लाम अविजित नौ रन बनाउँदै क्रिजमा थिए ।
त्यसअघि पाकिस्तानी टोलीले आफ्नो दोस्रो पालीमा अत्यन्तै निराशाजनक प्रदर्शन गरेको थियो । रावलपिण्डीमा खेलिएको उक्त टेस्टमा पाकिस्तानी टोली आफ्नो दोस्रो पालीमा केवल एक सय ४६ रन बनाउँदै अलआउट भएको थियो ।
दोस्रो पालीमा पाकिस्तानलाई लज्जास्पद स्कोरमा समेट्ने क्रममा बंगलादेशी बलर मेहदी हसन मिराज एक्लैले चार विकेट लिएका थिए । उनले ११.५ ओभरमा दुई मेडन राख्दै केवल २१ रन खर्चिएका थिए । सकिब अल हसनले पनि तीन विकेट लिए ।
सोरिफुल इस्लाम, हसन महमुद र नाहिद राणाले पनि एक–एक विकेट हात पारे । दोस्रो पालीमा पाकिस्तानका लागि छैटौँ नम्बरका ब्याट्सम्यान मोहम्मद रिजवानले सर्वाधिक ५१ रन बनाएका थिए । ओपनर अब्दुल्लाह सफिकले पनि ३७ रन बनाएका थिए ।
कप्तान बाबर आजम २२ र कप्तान सान मसुद १४ रनमा आउट भएका थिए । पाकिस्तानका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । त्यसअघि बंगलादेशले आफ्नो पहिलो पालीमा पाँच सय ६५ रनको विशाल योगफल तयार पारेको थियो ।
बंगलादेशका लागि पहिलो पालीमा मुसफिकर रहिमले एक सय ९१ रनको योगदान गरेका थिए । लामो समय क्रिजमा टिकेका उनले तीन सय ४१ बलको सामना गरी एक छक्का र २२ वटा चौका पनि हिर्काएका थिए ।
ओपनर सदमन इस्लामले पनि ९३ रन बनाएका थिए । उनले एक सय ८३ बलको सामना गरी १२ चौका हिर्काएका थिए । मेहदी हसन मिराजले पनि टोलीको खातामा ७७ रन थपेका थिए । उनले एक सय ७९ बलको सामना गरी ६ चौका हिर्काएका थिए ।
यसैगरी, विकेटकिपर ब्याट्सम्यान लिटन दासले पनि ५६ रन बनाएका थिए । उनले ७८ बलमा एक छक्का र आठ चौका प्रहार गरेका थिए । मोमिनुल हकले पनि टोलीको खातामा ५० रन थपे । उनले ७६ बलमा पाँच चौका प्रहार गरे । पाकिस्तानी बलर नसिम शाहले तीन विकेट लिएका थिए ।
त्यसअघि टस हारी पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले ६ विकेटको नोक्सानीमा चार सय ४८ रन बनाउँदै पहिलो पाली समाप्तिको घोषणा गरेको थियो । पाकिस्तानका लागि पहिलो पालीमा मोहम्मद रिजवानले अविजित एक सय ७१ रन बनाएका थिए ।
पाकिस्तानका लागि पहिलो पालीमा साउद सकिलले पनि एक सय ४१ रनको योगदान गरेका थिए । ओपनर सइम ऐयुबले ५६ रन बनाएका थिए । बंगलादेशी बलर सोरिफुल इस्लाम र हसन महमुदले दुई–दुई विकेट हात पारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलरको भाउ स्थिर, अन्य कसको मूल्य कति ?
-
पाँच महिनामा ५५ गर्भवती र सुत्केरीको उद्धार
-
ला लिगामा बार्सिलोनालाई धक्का, सेल्टा भिगोले बराबरीमा रोक्यो
-
लुम्बिनीलाई मुक्तिनाथसँग जोड्यो कालीगण्डकी करिडोरले
-
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी
-
ब्राइटन, वुल्भ्स विजयी हुँदा एस्टन र क्रिस्टल, एभर्टन र ब्रेन्टफोर्डले अंक बाँडे