शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

कुहिरो भित्रको काग बन्दै विद्यार्थी आन्दोलन

आइतबार, ०९ भदौ २०८१, १४ : ३७
आइतबार, ०९ भदौ २०८१

जब देशमा सङ्कट देखापर्छ, मानिसहरू विद्यार्थी आन्दोलनको आवश्यकता महसुस गर्छन् । हामीकहाँ विद्यार्थी आन्दोलनको इतिहास नै त्यस्तै छ । निरङ्कुश जहानियाँ राणाशासनविरुद्ध होस्, निर्दलीय पञ्चायती व्यवस्थाका विरुद्ध होस्, वा निरंङ्कुश राजतन्त्र हटाएर गणतन्त्र ल्याउने ०६२/६३ को जनआन्दोलन होस्— अग्रपंक्तिबाट आवाज उठाउनेहरु विद्यार्थी नै थिए ।

देशमा महँगी बढ्दा होस् या कुरीति, कुशासन वा भ्रष्टाचार मौलाउँदा होस्; त्यसविरुद्ध बोल्ने विद्यार्थी नै हुन्थे । त्यसैले विद्यार्थी आन्दोलन नेपालको राजनीतिक आन्दोलनको पर्याय बन्न गएको छ, तर पछिल्ला केही वर्षयता विद्यार्थी आन्दोलन कुहिरोभित्रको कागजस्तै भएको छ । 

सडकबाजका रूपमा देखापर्ने विद्यार्थी आन्दोलन साह्रै नमिठा आपसी कचिङ्गलमा रुमलिएको छ । विचारधारात्मक बहस छेड्ने तागतको कुरै छाडौँ, वर्तमानमा विद्यार्थी संगठनहरूले न शैक्षिक सुधार वा रूपान्तरणका लागि आन्दोलनको उठान गर्न सकेका छन्, न त सामाजिक सुधारका एजेन्डामा आवाज उठाउन सकेका छन् । विद्यार्थी छन् तर विद्यार्थी आन्दोलन हराएको छ, विद्यार्थी संगठन छन् तर एजेन्डाविहीन भएर आन्तरिक अन्तर्कलहमा व्यस्त भएका छन् । 

वास्तवमा विद्यार्थी भनेका समाजको भविष्य र परिवर्तनका मुख्य चालक हुन् । सधैँ अग्रगामी चेतना बोक्ने युवा विद्यार्थीहरू ज्ञानका भोका हुन्छन् । उनीहरू देश–समाजमा हुने कुनै पनि असामान्य गतिविधि तथा चित्त नबुझ्ने घटना वा कुरामा आफ्नो विचार व्यक्त गरिहाल्छन् । विद्यार्थी चेतना नयाँको खोजीका लागि सधैँ लालायित हुन्छ । विद्यार्थी भनेको केवल पढ्ने–लेख्ने कार्यमा संलग्न भई औपचारिक संरचनाभित्रको व्यक्ति होइन, यो एउटा सोच हो । यो एक ऊर्जाशील चेतना हो । 

जुन किशोर वा युवामा नयाँ कुरा सिक्ने इच्छाशक्ति प्रबल छ; समाजमा देखिने अन्याय, अत्याचार, असमानताका विरुद्ध आवाज नउठाइरहन सक्दैन; जो सधैँ परिवर्तनका पक्षमा उभिन्छ र नयाँ कार्यका लागि अग्रसर रहन्छ; उही विद्यार्थी कहलाउँछ । यही चेतना, सोच र प्रवृत्तिलाई संगठित रूप दिँदा त्यो विद्यार्थी आन्दोलन बन्छ । यसर्थ विद्यार्थी आन्दोलनमा जमेको पोखरीजस्तो होइन, तुफानी वेगमा बग्ने साउने भेलजस्तो चरित्र हुन्छ । 

जुन देश र समाजमा विद्यार्थी आन्दोलन सशक्त हुन्छ, त्यो देशमा राजनीतिक आन्दोलन पनि सही दिशामा हुन्छ । विद्यार्थी आन्दोलन कमजोर तथा सुषुप्त अवस्थामा भएका ठाउँमा राजनीतिक आन्दोलन पनि सशक्त हुँदैन । देशको समग्र व्यवस्था राजनीतिले निर्धारण गर्छ । राजनीतिक व्यवस्था सही हुन त्यो देशभित्रको राजनीतिक आन्दोलन मजबुत र सही दिशामा हुनुपर्छ । जब राजनीतिले बाटो बिराउँछ वा राजनीतिक आन्दोलन एजेन्डाविहीन बन्छ, त्यो देशको भविष्य सङ्कटमा पर्छ । 

वर्तमान नेपालको राजनीतिबारे कुरा गर्दा सामाजिक र राजनीतिक संगठनका बारेमा चर्चा गर्नैपर्छ । नेपाली समाजमा आज जुन प्रकारका राजनीतिक समस्या देखापरेका छन्, ती अन्ततः वैचारिक समस्या हुन् । यो आलेख विद्यार्थी आन्दोलन कुहिरोभित्रको काग हुनुका कारण खोतल्न केन्द्रित छ । त्यसका निम्न कारण प्रमुख छन् ।

विद्यार्थी चेतना नयाँको खोजीका लागि सधैँ लालायित हुन्छ । विद्यार्थी भनेको केवल पढ्ने–लेख्ने कार्यमा संलग्न भई औपचारिक संरचनाभित्रको व्यक्ति होइन, यो एउटा सोच हो । यो एक ऊर्जाशील चेतना हो ।

 

  • एजेन्डा विहीनता

निरङ्कुश जहानियाँ राणाशासनविरुद्ध बोल्नु मृत्युदण्डको सामना गर्नु हुन्थ्यो, त्यस बेला अग्रगामी चेत भएका विद्यार्थीले भारतबाट आवाज उठाएका थिए । पञ्चायती व्यवस्थाका विरुद्ध पनि बोल्न सहज थिएन, यद्यपि ठाउँ ठाउँमा विद्यार्थीले आन्दोलन गरी दलहरुलाई आधार दिएका थिए । दशवर्षे जनयुद्ध र २०६२÷०६३ को ऐतिहासिक जनआन्दोलनमा विद्यार्थी संगठनहरुले गणतन्त्र स्थापनाका लागि स्पष्ट वैचारिक एजेन्डा लिएर सडक तताएका थिए । नेपालको राजनीतिक इतिहासमा ऐतिहासिक कोसेढुंगा साबित यी चर्चित आन्दोलनमा मात्र होइन, त्यस अघि र पछि पनि नेपाली विद्यार्थी आन्दोलन स्पष्ट वैचारिक एजेन्डामा आधारित थियो । 
प्रमुख राजनीतिक दलहरूले आन्दोलनको उठान गर्न नसकिरहेका बेला समेत स्पष्ट वैचारिक मार्गमा विद्यार्थी अगाडि बढेका थिए । सत्य यो छ कि विद्यार्थी आन्दोलनले उठाएका एजेन्डा र आन्दोलन नै अन्ततः राजनीतिक दलले अपनाएर ऐतिहासिक राजनीतिक परिवर्तन भएका छन्, तर पछिल्लो समय विद्यार्थी आन्दोलन वैचारिक एजेन्डाविहीन भएको आभास हुन्छ । 

यतिखेर कुनै पनि विद्यार्थी संगठनले आफ्नो स्पष्ट वैचारिक दृष्टिकोण अगाडि सार्न सकेको देखिँदैन । मातृ पार्टीले सञ्चालन गरेको आन्दोलन वा कार्यक्रममा सहभागी हुनेबाहेक विद्यार्थी संगठनहरूले स्वतन्त्र आन्दोलनका कार्यक्रम विकास गरेको देखिँदैन । सामान्य समसामयिक विषयमा प्रतिक्रियात्मक टिप्पणी गर्नेबाहेक व्यवस्थित कार्यक्रम र कार्ययोजना विकास गर्नेतिर संगठनहरू लागेको पाइँदैन । यही नै विद्यार्थी संगठनहरूभित्रको वैचारिक समस्या हो । 

विद्यार्थी नेताहरू विचार दृष्टिकोणको बहसमा भन्दा विशुद्ध प्राविधिक विषयमा अलमलिएको प्रस्ट देखिन्छ । विद्यार्थी संगठनका मुद्दाहरू स्पष्ट नहुँदा उनीहरूको आन्दोलनलाई समर्थन गर्ने आधार कमजोर हुँदै गएको छ । विद्यार्थी आन्दोलनले विगतमा महत्त्वपूर्ण मुद्दाहरू उठाएका थिए, आजका दिनमा तिनको प्रभाव र धार हराएको देखिन्छ । 

विद्यार्थी संगठनका खासगरी तीनवटा आधारभूत एजेन्डा हुनुपर्छ— विचार निर्माण र सम्प्रेषणको एजेन्डा, शैक्षिक सुधार तथा रूपान्तरणको एजेन्डा र सामाजिक समस्याहरूको एजेन्डा । 
  • वैचारिक बहसको अभाव

कुनै पनि राजनीतिक सङ्घ–संगठन वा दलको जीवन्तता र प्रभावकारिता त्यस संगठनले बोक्ने विचारले निर्धारण गर्छ । स्पष्ट वैचारिक कार्यदिशा तथा दृष्टिकोण नभएका राजनीतिक संगठनहरू मौसमी हुन्छन् । एउटा निश्चित समयमा खहरे भेलसरी उदाउँछन् र त्यसैगरी विलीन भएर जान्छन् । 

मानिसको चेतनालाई व्यवस्थित दिशानिर्देश गर्ने राजनीतिक विचारले नै हो । व्यक्तिले बोक्ने विचारले उसको सामाजिक अस्तित्व र यात्रा निर्धारण हुन्छ । त्यसैगरी कुनै पनि देशभित्रका राजनीतिक सङ्घ–संगठनहरूले बोक्ने विचारले नै त्यो देशको अस्तित्व र यात्रा निर्धारण हुन्छ । देशको नेतृत्व गर्ने राजनीतिक दल वा तिनका नेतामा वैचारिक स्पष्टता, त्यसप्रतिको दृढता र देश बदल्ने सपना जस्तो भयो, त्यही अनुसार त्यो देशको भविष्य तय हुन्छ । 

पछिल्लो समय समाजको वैचारिक धार क्रमशः मत्थर हुँदै गएको देखिन्छ । समाजमा जति बढी वैचारिक बहस, छलफल, अध्ययन तथा अन्तक्र्रिया हुन्छन्; त्यति नै देशले सही राजनीतिक नेतृत्व प्राप्त गर्छ । साथै सङ्घर्षको मैदानमा उत्रिने नेताहरूमा वैचारिक स्तर विकास र समृद्ध हुँदै जान्छ । राजनीतिक विचारहरू जति बढी सङ्घर्षको मैदानमा माझिन्छन्, त्यति प्रभावशाली हुन्छन्, तर हिजोआज जनसंगठनहरू वैचारिक बहसमा होइन, सामाजिक सञ्जालमा ओइरिने गाली, आवेग, प्रतिक्रियाभित्र सीमित हुने गरेका छन् । वास्तवमा समाजको वैचारिकी निरन्तर कमजोर हुँदै गएको भान हुन्छ । 

  • व्यक्तिगत कुण्ठा

हिजोआज विद्यार्थी संगठनमा मात्र होइन, प्रायः सबै जनसंगठनमा विचार दृष्टिकोणमाथि कम छलफल हुन्छन् । निर्धारित कार्य अवधिभर ती कमिटी सधैँ आन्तरिक विवाद मिलाउन वा व्यक्ति–व्यक्तिको व्यवस्थापन गर्नेतिर बाहेक कतै पुगेको देखिँदैन । व्यक्तिगत कुण्ठामा राजनीतिक जनसंगठनहरूको सिङ्गो कार्यकाल बित्ने गरेको छ । 

प्रथमतः संगठनहरूमा साझा छलफल, बहस तथा अन्तक्र्रिया नभई कुनै निश्चित एक व्यक्तिको एकमनावाद लागु भएको देखिन्छ । त्यसो हुँदा त्यसभित्र रहेका नेता तथा सदस्यहरूका व्यक्तिगत स्वार्थ, समस्या, प्रवृत्ति तथा कुण्ठामा संगठन कैद हुन्छ । जब कुनै संगठनका सबै छलफल तथा बैठकहरू व्यक्तिका व्यवस्थापन तथा केही व्यक्तिबाट सिर्जित समस्यामाथि केन्द्रित हुन्छन्, तब त्यो संगठनको मात्र होइन, ऊसँग जोडिएको सिङ्गो समाजकै गति शून्य हुन जान्छ । यसले आन्दोलनको नैतिक आधारलाई कमजोर बनाएको छ । 

राजनीतिक प्रकृतिका संगठनहरू समेत विशुद्ध प्राविधिक समितिका रूपमा देखापरेको देखिन्छ । संगठनभित्र आन्तरिक गुटबन्दी र कलह बढ्दै गएको देखिन्छ । गुटबन्दी र आन्तरिक कलहकै कारण राजनीतिक संगठनहरूमा हुनुपर्ने असली एकता र तागत छैन । सामाजिक राजनीतिक परिवर्तनलाई आकार दिने शक्ति तथा संगठनहरू अहिले निष्प्रभावी भएका छन् । 

  • निरङ्कुशता जन्माउने आधार

हिजोआज कतिपयले नेपालमा लामो राजनीतिक अस्थिरता र अराजकताबाट वाक्क भएर कुनै निरङ्कुश शासक जन्मिदिए हुन्थ्यो भन्ने कामना गरेको पनि पाइन्छ, तर यो भावुक आवेग मात्र हो । 

विश्वको इतिहासले भन्छ, निरङ्कुशताले जनआकांक्षालाई सम्बोधन गरेको कतै भेटिँदैन । निरङ्कुशताले देशलाई सही निकास दिएको कहीँकतै छैन । आजसम्मको संसारको इतिहास हेर्दा जब देशमा राजनीतिक संगठनहरू प्राविधिक रूपमा एकै ठाउँमा रहे पनि आन्तरिक रूपमा छिन्नभिन्न हुन्छन्, यस्तो परिस्थितिमा निरङ्कुशताको उदय हुन सहज हुन्छ । जनसंगठनहरूले समाजमा राजनीतिक अन्तक्र्रियालाई जीवन्त बनाउँछन्; देशभित्र बेलाबेला देखापर्ने सामाजिक विकृति, विसंगति तथा खराबीका आवाज बुलन्द पार्छन्; शक्तिको उन्मादमा सत्तामा हुने गलत निर्णयका विरुद्ध जनआवाज मुखरित गर्छन् । 

जनसंगठनहरू कमजोर हुँदा सत्ता निरङ्कुश बन्दै जान्छ । अहिले नेपालको परिस्थिति हेर्दा निरङ्कुशता मौलाउने वातावरण बन्दै गएको देखिन्छ । मानिसहरू अहिलेको यो अन्योल र अराजकतापूर्ण राजनीतिक परिस्थितिभन्दा विगतको राजतन्त्र नै ठिक हो भन्न पुगेका छन् । कतिपयले जंगबहादुरकै खोजी गरेको पाइन्छ । वास्तवमा देशले न फेरि अर्को जंगबहादुरको सहन गर्न सक्छ, न त राजतन्त्रलाई फर्काउन सक्छ । सस्तो भावुकता वा आवेगपूर्ण आकांक्षालाई रोक्नैपर्छ, इतिहास कुनै पनि सर्तमा पछाडि फर्कंदैन । समय त उथलपुथलपूर्ण राजनीतिक विकासकै बिच निरन्तर अगाडि बढिरहन्छ । 

नेपालको समग्र राजनीतिमा अहिले एउटा शैली र संस्कारमा अभ्यस्त भइसकेको ६० कटेको पुस्ता हाबी छ । यो लामो राजनीतिक अस्थिरताको कारक यही पुस्ता हो, जुन पुस्ता सहजै आफ्नो संस्कार र शैली बदल्न सक्दैन । 

देशको भविष्य युवाहरूको हातमा हुन्छ । त्यसैले युवा विद्यार्थीले बाँकी राजनीतिलाई सही ट्र्याकमा ल्याउने उपायमा लाग्नैपर्छ । युवा विद्यार्थीले गहिरिएर सोच्नैपर्छ कि आफ्नो भविष्य अरुका काँधमाथि फालेर कसैको स्वार्थको गोटी बन्नु हुँदैन । 

यसअघिको पुस्तामा विकास भएको राजनीतिक शैली र संस्कारले आजको जुन अवस्था निम्त्याएको छ, त्यही शैली र संस्कारलाई अपनाएर आजको विद्यार्थी आन्दोलनले देशको सही नेतृत्व दिन सक्दैन । नेपालको शैक्षिक, सामाजिक तथा राजनीतिक समस्यालाई समाधान गर्न नेपाली विद्यार्थी आन्दोलनलाई सशक्त पार्नैपर्छ । 

स्पष्ट वैचारिक दृष्टिकोणयुक्त युवा विद्यार्थी आन्दोलनको विकासमा सबैले ध्यान दिनैपर्छ । जनसंगठनहरूभित्र भइरहेका व्यक्तिकेन्द्रित गलत सांगठनिक अभ्यासलाई अन्त्य गरी तीव्र वैचारिक बहसलाई बढावा दिएर विचार निर्माणको अवयवका रूपमा विद्यार्थी संगठनहरूलाई विकास गर्नु जरुरी छ । विद्यार्थी संगठनहरूभित्र मौलाउँदै गएको वैचारिक अन्योेलता, दिशाहीनता र व्यक्तिकेन्द्रित राजनीतिक कुसंस्कारलाई चिरेर कुहिरोभित्र हराएको आन्दोलनलाई स्पष्ट वैचारिक दिशा प्रदान गर्नु आजको आवश्यकता हो । 
(हमाल अखिल (क्रान्तिकारी) की केन्द्रीय उपमहासचिव हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तिर्सना हमाल
तिर्सना हमाल
लेखकबाट थप