बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अर्थतन्त्र

आयात घट्दा पनि राजस्व सङ्कलन कसरी बढ्यो ?

आइतबार, ०९ भदौ २०८१, १२ : ०७
आइतबार, ०९ भदौ २०८१

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो महिनामा १ खर्ब ४० अर्ब ६० करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । गत वर्षको यसै अवधिमा देशको कूल वैदेशिक व्यापार १ खर्ब ४२ अर्ब ७६ करोड रुपैयाँ बराबर भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।

गत वर्षको तुलनामा यस वर्ष आयात निर्यात दुवैमा गिरावट आएको छ । चालु वर्षको साउनमा १ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँको वस्तु आयात हुँदा १२ अर्ब २२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत वर्षको साउनमा १ खर्ब २९ अर्ब २३  करोड रुपैयाँको वस्तु आयात हुँदा १३ अर्ब ५२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।

जसअनुसार चालु वर्षको साउन मसान्तसम्ममा निर्यातमा ९.६३ प्रतिशतले गिरावट आएको  छ भने आयातमा ०.६७ प्रतिशतले गिरावट आएको छ ।

आयातमा गिरावट आए पनि भन्सार विन्दुमा सङ्कलन हुने राजस्व भने चालू वर्षमा बढेको छ । साउनमा ३४ अर्ब ६९ करोड ७९ लाख ४८ हजार रुपैयाँ भन्सार विन्दुमा हुने राजस्व सङ्कलन भएको छ । 

गत वर्षको साउनमा ३२ अर्ब ३३ करोड ७३ लाख ३५ हजार रुपैयाँ सङ्कलन भएको थियो । 

आयातित वस्तुमा १० प्रतिशत अग्रिम करको व्यवस्था भएका कारण आयात घटे पनि राजस्व सङ्कलन उल्लेख्य रूपमा बढेको देखिन्छ । 

सरकारले चालु वर्ष २०८१-०८२ को बजेट वक्तव्यमार्फत विभिन्न वस्तुहरूमा अग्रिम आ कर २.५ प्रतिशत र  १० प्रतिशत गरी २ किसिमका अग्रिम आयकर लगाउने घोषणा गरेको थियो । 

सोहीअनुसार आयातित खाद्य वस्तुमा सरकारले अग्रिम आयकर लाग्न थालेको छ । खाद्य वस्तुमा मूल्य अभिवृद्धि कर लगाउन नमिल्ने भएका कारण सरकारले अग्रिम कर लगाएको छ ।

त्यस्तै दुग्धजन्य पदार्थ, अण्डा, मह, बिउ बाहेकका सबै प्रकारका खाद्यान्न, मैदा र आटा तथा पिठोका उत्पादन, जडीबुटी तथा उखु र वनस्पतिका उत्पादनमा २.५ प्रतिशत अग्रिम आयकर लाग्ने व्यवस्था  छ । सोही व्यवस्थाअनुसार अहिले भन्सार विन्दुमा सङ्कलन हुने राजस्व संकलन बढेको छ । 

सरकारले भन्सार दरबन्दी भाग १, २, ३, ६, ७ र ८ अन्तर्गतका विभिन्न वस्तु तथा उत्पादनमा १० प्रतिशत अग्रिम आयकर लगाउने आर्थिक विधेयक २०८१ मा व्यवस्था गरेको छ । सो व्यवस्थाअनुसार आयातित मूल्यको आधारमा भन्सार दरबन्दी भाग १, २, ३, ६, ७ र ८ अन्तर्गतका वस्तुमा थप १० प्रतिशत कर लाग्न थालेको छ ।

भन्सार दरबन्दी भाग १, २, ३, ६, ७ र ८ अन्तर्गत जीवित जन्तु तथा मासु, ताजा तथा सबै प्रकारका माछा, फलफूल तथा फलफूल केन्द्रित अन्य उत्पादन, वनस्पतिका जरा तथा गानाहरू र काष्ठफल, दाल तथा गेडागुडी पर्दछन् । यी वस्तुमा आयत मूल्यको आधारमा भन्सार विन्दुमा नै १० प्रतिशत अग्रिम आयकर लाग्ने व्यवस्था विधेयकमा उल्लेख छ ।

त्यस्तै दुग्धजन्य पदार्थ, अण्डा, मह, बिउ बाहेकका सबै प्रकारका खाद्यान्न, मैदा र आटा तथा पिठोका उत्पादन, जडीबुटी तथा उखु र वनस्पतिका उत्पादनमा २.५ प्रतिशत अग्रिम आयकर लाग्ने व्यवस्था  छ । सोही व्यवस्थाअनुसार अहिले भन्सार विन्दुमा सङ्कलन हुने राजस्व संकलन बढेको छ । 

भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले अग्रिम आयकरको व्यवस्थाले मात्र नभएर भन्सार शुल्क महँगो भएका वस्तुको आयात वृद्धिले भन्सारमा सङ्कलन हुने राजस्व बढेको बताउँछन् ।

केही मात्रामा अग्रिम आयकरको पनि भूमिका भने रहेको उनको भनाइ छ ।

‘अग्रिम आयकरले मात्रै बढेको भन्न मिल्दैन । केही मात्रामा अग्रिम आयकरको पनि भूमिका छ,’ खड्काले भने, ‘तर अहिले भन्सार शुल्क बढी लाग्ने वस्तुको आयात बढेका कारण राजस्व सङ्कलन बढेको हो ।’

कोभिड –१९ पछि भन्सार विन्दुमा सङ्कलन हुने राजस्व लक्ष्यअनुसार हुन नसकेको र यही दरमा अगाडि बढे चालु वर्षमा लक्ष्य भेटाउन सक्ने देखिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप