आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

पर्यटनमन्त्री पाण्डेद्वारा भारतमा विभिन्न देशका नेतासँग भेट

आइतबार, ०९ भदौ २०८१, ०८ : ५६
आइतबार, ०९ भदौ २०८१

काठमाडौँ । भारत भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विभिन्न देशका मन्त्रीहरू तथा गुजरातका मुख्यमन्त्रीहरूसँग नेपालमा धार्मिक पर्यटक भित्र्याउने तथा गौतमबुद्ध र पोखरा विमानस्थलमा हवाई उडान गर्ने विषयमा  छलफल गरेका छन् । 

भारतको गुजरातमा जारी आठौँ अन्तर्राष्ट्रिय धर्म–धम्म सम्मेलनका क्रममा भएका साइडलाइन बैठकमा उनले सो छलफल गरेका हुन् । मन्त्री पाण्डे र भारतको गुजरातका मुख्यमन्त्री भूपेन्द्र पट्टेल, भुटानका गृहमन्त्री छिरिङ तथा कम्बोडियाका संस्कृति तथा धर्म राज्यमन्त्री नगुन सेडपिकडेसबीच शनिवार भेट भएको थियो । 

मुख्यमन्त्री पट्टेलसँगको भेटमा द्विपक्षीय हित र चासोका विषय छलफल भएको थियो । साथै नेपाल–भारतबिच सदियौँ पुरानो धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक सम्बन्धको चर्चा भएको थियो । 

भेटका अवसरमा पर्यटनमन्त्री पाण्डेले भारतको सोमनाथधाम र पशुपतिनाथ धामको अन्तरसम्बन्धलाई कसरी जनस्तरसम्म विस्तार गर्न सकिन्छ भन्ने विषयमा चर्चा गरेका थिए । 

सो भेटमा मन्त्री पाण्डेले पोखरा र लुम्बिनीमा हवाई सेवा सञ्चालन गर्न चाहने अन्तर्राष्ट्रिय कम्पनीहरूलाई इन्धन लगायतका विभिन्न शुल्कमा छुट सहुलियत दिएको जानकारी गराउँदै गुजरातबाट पोखरामा सिधा हवाई उडान गर्न आग्रह गरे ।

उनले नेपालको पर्यटकीय राजधानी पोखरा हुँदै मुक्तिनाथ दर्शनका लागि  जाने धार्मिक पर्यटकलाई आकर्षित गर्न सकिने सम्भावनाको बारेमा जानकारी गराएका थिए । 

कम्बोडियाका संस्कृति तथा धर्म राज्यमन्त्री नगुन सेडपिकडसँगको भेटघाटका क्रममा मन्त्री पाण्डेले भगवान् बुद्धको जन्म नेपालमा भएको र बुद्ध धर्मको विस्तार कम्बोडियामा भएको ऐतिहासिक पक्ष उजागर गर्दै कम्बोडिका बौद्ध धर्मावलम्बीहरुलाई बुद्ध जन्मस्थलको भ्रमणमा ल्याउने वातावरण बनाउन आग्रह गरेका थिए । 

मन्त्री पाण्डेले कम्बोडियामा ९० प्रतिशत भन्दा बढी बौद्ध धर्मावलम्बीहरू रहेको उल्लेख गर्दै बुद्ध जन्मिएको देश नेपाल र बुद्ध धर्म फस्टाएका देश कम्बोडियाबिच सम्पर्क तथा सम्बन्ध थप विस्तार गर्नु पर्ने कुरामा जोड दिए । 

त्यस्तै भुटानका गृहमन्त्री छिरिङसँग भुटानको थिम्पुबाट सिधै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा सञ्चालन गर्न आग्रह गरे ।  भेटका क्रममा भुटानी गृहमन्त्रीले भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भूटानले स्तुपा निर्माण गर्न चाहेको र त्यसका लागि आवश्यक सहयोगका लागि आग्रह गरेका थिए । 

यसैबीच मन्त्री पाण्डेसँग भारतको डा बाबासायब अम्डेकर खुल्ला विश्वविद्यालयका उपकुलपति प्राडा अमी उपाध्ययाले शनिवार भेट गरेका थिए । भेटमा भाषा र संस्कृतिको जगेर्ना गर्न नेपाल र विश्वविद्यालयबीच कसरी सहयोगको आदानप्रदान हुन सक्छ भन्ने विषयमा छलफल भएको थियो । सोही भेटमा उपकुलपति उपाध्यायले नेपालको नेपाल भाषा, नेवा संस्कृति र पाली भाषाको बारेमा चासो राखेका थिए । 

भेटमा नेपलामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालय अन्तर्गत विभिन्न प्रतिष्ठानहरु रहेको र उनीहरुलाई सो विश्वविद्यालयसँग आबद्ध गरी कसरी भाषा संस्कृतिको जर्गेना गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

शुक्रबारबाट सुरु सो सम्मेलनमा विभिन्न १८ देशका मन्त्रीहरू तथा विज्ञहरू गरी करिब तीनसय जनाको सहभागिता रहेको थियो ।

badri pandey2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप