‘रियल्म अफ द डेइटिज’ र ‘नेवार ट्रेडिसनल मोटिफ्स एन्ड डिजाइन्स’
अभिलेखनका रूपमा यी चित्र वा मूर्तिहरू पुस्तकमा आउनु आफैँमा सुन्दर कार्य हो, अनुसन्धानकर्ताका लागि यो अति नै महत्वपूर्ण सामग्री बनेको छ । तथापि यी कलाबारे आलेखले उल्लेख नगर्दा राम्रो सन्देश भने जाँदैन ।
यसपल्टको आलेखमा दुईवटा कला पुस्तकबारे लेख्ने जमर्को गरेको छु । कला लेखनमा खडेरी परेका बेला देखापरेका यी दुवै पुस्तक महत्वपूर्ण दस्ताबेजका रूपमा पाठक माझ आएका छन् ।
एउटा— आर्ट काउन्सिलले प्रकाशन गरेको ‘रियल्म अफ द डेटिज’, जुन अङ्ग्रेजी भाषामा छ । अर्को— राम प्रकाश श्रेष्ठले लेखेको ‘नेवार ट्रेडिसनल मोटिफ्स एन्ड डिजाइन्स’, जुन अङ्ग्रेजी र नेपाली दुवै भाषामा छ । यी दुवै पुस्तक आ–आफ्ना ठाउँमा राम्रै देखिए पनि साजसज्जा, कलात्मक हार्डकभर, स्तरीय फोटोग्राफीदेखि गुणस्तरीय प्रिन्ट भएकाले ‘रियल्म अफ डेइटिज’ पुस्तक अझ बढी आकर्षक देखिन्छ ।
- ‘रियल्म अफ डेइटिज’
सजधजका साथ देखापरेको ‘रियल्म अफ डेइटिज’ पुस्तकमा प्रशस्त छापा चित्र राखिएका छन् । २१० पृष्ठको ठुलो आकारको यस पुस्तक रंगीन छापाचित्रले सिँगारिएको छ । धर्म, कला, व्यापार–व्यवसाय आदिबारे सातजना लेखकले लेखेका आलेख यस पुस्तकमा समेटिएका छन् ।
यमानको बुढानीलकण्ठको मूर्ति पनि (छापा चित्रका रूपमा) यस पुस्तकमा शुभारम्भमै अवलोकन गर्न सकिन्छ । यस्तै हालको आममान्छेको दिनचर्याका साथ उभिएको आकाश छुन लागेको सदियौँअघि स्थापना गरिएको मन्दिरको छापा चित्रलाई पनि यसमा समावेश गरिएको छ ।
कलाकार प्रदीप शाक्यको ‘ग्रिनतारा’ चित्रले पुस्तकको आवरण शोभायमान भएको छ । यसबाहेक अन्य चित्र र मूर्तिहरू छँदै छन् । यही विविधताले गर्दा यो पुस्तक हेरुँ–हेरुँ लाग्ने बनेको छ ।
यस पुस्तकमा लेखसँग परोक्ष (प्रत्यक्ष होइन) रूपमा दृष्टान्त–चित्र राखिएका छन् । भर्खरै (सन् २०२४ मा) र अलि पहिला (सन् २०२२ मा) प्रदर्शित चित्र तथा मूर्ति (परम्परागत र आधुनिक दुवै)लाई दृष्टान्त–चित्रका रूपमा समावेश गरिएकाले केही मिल्दा र केही अमिल्दाजस्ता देखिन्छन् । समग्रमा मूल आशयसँग मात्र जोडेर हेर्दा यी दृष्टान्त–चित्रले एउटा मिल्दो सन्देश दिएकै देखिन्छ, जसले पुस्तकको आकर्षण बढाएकै छ । अलि गहिरिएर हेर्दा केही अस्वाभाविक र असहज देखिन्छ नै, केही सान्दर्भिक र केही असान्दर्भिक चित्र वा मूर्ति परेकैले यस्तो लागेको हो ।
अलग्गै लेखिएका आलेखमा लेखकको भनाइ वा विचारलाई अझ बलियो र विश्वासिलो पार्न दृष्टान्त चित्र राख्ने प्रचलन छ । यस पुस्तकको सन्दर्भमा कुरा गर्दा— स्वतन्त्र कलात्मक भाव, अभिव्यञ्जना, अवधारणा आदि मिश्रण भई निर्माण भएका कलासँग पुस्तकमा आएका आलेखले त्यति मेल खाएको देखिँदैन । यस कारण पनि अलिकता फरक देखापरेको हो ।
अर्को महत्वपूर्ण कुरा, कला प्रदर्शनीसँग सम्बन्धित आलेख पुस्तकमा नपर्दा केही अन्योल देखिन्छ । थोरै अन्योलजस्तो देखापरे पनि विभिन्न चित्र वा मूर्तिको समावेशिताले गर्दा समग्रमा पुस्तक झलमल देखिएको छ ।
आलेखलाई मिल्दो, विश्वासिलो र बलियो बनाउने दृष्टान्त–चित्रको खोजी नगरिनुको पछाडि केही बाध्यता वा अप्ठेरा होलान् । अर्को यो पुस्तक रेखाचित्रले भरिएको छ, त्यो पनि श्यामश्वैत रङले भरिएकाले गर्दा तुलनात्मक रूपमा यो पुस्तक अलि कमजोरजस्तो देखिन्छ । यद्यपि भित्र गुदी हेर्दा यो पुस्तकले निकै माथिको दर्जा समातेको अनुभूति हुन्छ ।
नेपाल आर्ट काउन्सिल र ‘ट्रेड एन्ड एक्स्पर्ट प्रमोसन सेन्टर’ मिलेर यो पुस्तक निकालेकाले कलालाई व्यापार र व्यवसायसँग जोड्ने थोरबहुत उपक्रम स्पष्ट देखिन्छ ।
सन् २०२२ मा ‘नेपालिज डेइटिज– वान’ र सन् २०२४ मा ‘नेपाली डेइडिज– टु’ नाम दिएर कलाहरू प्रदर्शन गरिएको थियो । यी दुई प्रदर्शनीमा प्रदर्शन गरिएका कलाहरू यस पुस्तकमा परेका छन् ।
लैनसिंह वाङ्देलले सन् १९९१ मा बनाएका ‘फिस टेल एट सनसेट’ र ‘माउन्ट एभरेस्ट ओइस्ट साइड’देखि उत्तम नेपालीको ‘शिव’ नामक आधुनिक कला, मिथिला कलाकार एससी सुमनका चित्रहरू, शशिविक्रम शाहका ‘आधुनिक गणेश’ आदि कला यस पुस्तकमा समावेश गरिएको छ । यस्तायस्तै धेरै चित्र र मूर्तिहरू पुस्तकमा परेका छन् । अनौठो कुरा त यी कुनै पनि कलाको विषयवस्तु कुनै पनि आलेखमा उल्लेख छैनन् ।
अभिलेखनका रूपमा यी चित्र वा मूर्तिहरू पुस्तकमा आउनु आफैँमा सुन्दर कार्य हो, अनुसन्धानकर्ताका लागि यो अति नै महŒवपूर्ण सामग्री बनेको छ । तथापि यी कलाबारे आलेखले उल्लेख नगर्दा राम्रो सन्देश भने जाँदैन ।
सामान्यतया आधुनिक कलाकारहरूले अचेल देवी–देवताका मोटिफहरू लिएर वैचारिक रूपमा व्यंग्य वा प्यारोडी गर्ने गर्छन् । अहिले कलाकारले तीन प्रकारबाट देवी–देवताका आइकनहरूलाई प्रयोग गरिरहेका छन् । पहिलो— श्रद्धा, भक्तिभाव, अर्थात् पूजाआजा गर्न भगवान्कै रूपमा मूर्ति वा चित्रहरू बनाउने गरिन्छ ।
दोस्रो— मौलिकतासहित आफ्ना भाव प्रकट गर्न आधुनिक कलाकारले भगवान्का आइकनलाई प्रयोग गर्ने गर्छन् ।
तेस्रो— धर्मगाथा र लोककथाहरूलाई प्रयोग गरेर आजका सामाजिक मुद्दालाई सम्पे्रषण गर्न कलाकारले देवी–देवताका आइकनलाई प्रयोग गर्ने गर्छन् । यी सबैलाई एकै ठाउँमा प्रस्तुत गर्न खोजियो भने अलमल देखिन्छ नै ।
यसरी हेर्दा यस पुस्तकमा आर्ट काउन्सिलले गत वर्ष गरेको ‘डेइटिज वान’ र यसपल्ट भएको ‘डाइटिज टु’का विविध प्रसंग जोड्न खोजेको देखिन्छ ।
- सात आलेख
यस पुस्तकमा समेटिएका आलेखहरू अलग–अलग विषयमा भए पनि केन्द्रमा देवी–देवतालाई राखिएको छ । त्यसैले पुस्तकको विषयवस्तु देवी–देवता, मठ–मन्दिर, जात्रा आदिमा केन्द्रित छ ।
पुस्तकमा परेका सातवटा आलेख निम्न छन् — सागरशमशेर राणाको ‘हिन्दुइज्म सनातम धर्म’, रत्नशमशेर राणाको ‘तन्त्र शास्त्र’, वसन्त महर्जनको ‘बुद्धिजम् इन नेपाल’, स्वस्ति राजभण्डारी कायस्थको ‘रिलिजिअस आर्ट अफ नेपाल’, सोफिया एल पाण्डेको ‘प्रिजर्भेसन अफ द कल्चरल हेरिटेज अफ नेपाल’, कनकमणि दीक्षितको ‘रिटर्न अफ् आवर डेइटिज’ र विकासरत्न धाक्वाको ‘ट्रेड एन्ड एक्सपर्ट अफ नेपाल ह्यान्डी क्राफ्ट एन्ड इट्स इम्प्याक्ट’ ।
धेरै हदसम्म आलेखका शीर्षकले नै कुन विषयवस्तु भन्ने दर्शाएका छन् । सम्बन्धित विषयवस्तुका ज्ञाताले लेखेको हुँदा आलेखहरू निकै गहन छन् ।
स्वस्तिले आफ्नो आलेखमा कलाको ऐतिहासिक रूपरेखाको चर्चा गरेकी छन् । केभ आर्टको प्रसङ्ग कोट्याउँदै उनले त्यतिबेलादेखि नै चित्रमा रङको प्रयोग हुने गरेको उल्लेख गरेकी छन् । यस्तै उनले ‘नेचर अफ् रियालिजम्’ र ‘सेडिङ टेक्निक’को समेत चर्चा गरेकी छन् । कलामा ऐतिहासिक रूपमै बहस गर्न यसले एउटा आधार दिएको छ ।
हाम्रा पुर्खाले बनाएका कला, मठ–मन्दिर, जात्रा, संस्कार आदिले आज हामीलाई सकारात्मक सन्देशहरू सञ्चारित गरिरहेको उनको भनाइ छ । गजलक्ष्मी, श्रीलक्ष्मीका मूर्तिहरूदेखि यक्षको प्रसङ्ग निकाल्दै १९औँ शताब्दीको मध्येतिर देखापरेका समसामयिक कलाको शुभारम्भका कलाकार राजमान चित्रकारको प्रसङ्ग उठाएर उनको आलेख टुङ्गिएको छ । उनको आलेखले नेपाली कलाको आरोह–अवरोहलाई बुझ्न–बुझाउन मद्दत गर्छ ।
वसन्त महर्जनलाई बौद्ध दर्शन र इतिहासलाई विस्तारमा व्याख्या गर्ने विद्वान्का रूपमा हेर्ने गरिन्छ । उनले बुद्ध धर्म र दर्शनलाई बौद्धिस्ट आर्टसँग रमाइलो गरी जोडेका छन् । यस्तै विकास रत्न धाक्वाले विभिन्न प्रसंग उल्लेख गर्दै हस्तकलाको महत्त्व दर्शाएका छन् ।
सोफिया एल पाण्डेले नेपाली परम्परा, सम्पदा धरोहर आदिको प्रसङ्ग उठाउँदै सदियौँदेखि बन्दै आएको हाम्रो वास्तुकला (मठ–मन्दिर, स्तुपा वा चैत्य दरबार र महल आदि)मा हाम्रो सांस्कृतिक परम्परा मात्र दृश्यावलोकन नभई कलाकारको शिल्प दक्षता पनि स्पष्ट रूपमा देखापर्ने उल्लेख गरेकी छन् । यस्तै, तन्त्रको गहन व्याख्या–विश्लेषण गर्दै रत्नशमशेर राणाले मोक्षको प्राप्तिका प्रसंग उठाएका छन् ।
हिन्दु र बौद्ध धर्मावलम्बीबिच निकै सौहार्द सम्बन्ध देखिन्छ । यी दुई धर्मलाई अलग्गाएर हेर्ने नसकिने भन्दै सागरशमशेर राणाले गजबका उदाहरण पेस गरेका छन् ।
हिन्दुहरूकी जीवित देवी कुमारीको छनोट प्रक्रिया बौद्धिस्ट परिवारबाट हुने गर्छ । वरिष्ठ पत्रकार कणकमणि दीक्षितले नेपालको संस्कृतिलाई लिभिङ कल्चरको उपमा दिँदै पौभा चित्रको प्रसंग उल्लेख गरेका छन् ।
‘नेवार ट्रेडिसनल मोटिफ एन्ड डिजाइन’
परम्परागत कलाकार राम प्रकाश श्रेष्ठले लेखेको ‘नेवार ट्रेडिसनल मोटिफ एन्ड डिजाइन’ पुस्तक नेपाली परम्परागत कला सिर्जना गर्दा आवश्यक हुने बुट्टाहरूको महŒव र प्रयोगमाथि केन्द्रित छ । एक प्रकारले यो पाठ्यपुस्तकजस्तो देखिन्छ ।
श्रेष्ठ आफैँ परिपक्व र माझिएका परम्परागत कलाकार हुन् । दशकौँदेखि राम्रा र गुणस्तरीय परम्परागत पौभाचित्र बनाउँदै आएका श्रेष्ठका अनुभव र ज्ञानलाई पुस्तकमा सकेसम्म विस्तारमा समेट्ने प्रयास गरिएको छ । यसले गर्दा पौभाकलाका सिकारु कलाकारलाई यो पुस्तक उपयोगी देखिन्छ ।
परम्परागत कला बनाउँदा शास्त्रीय विधि–विधानलाई पछ्याइन्छ । अर्थात् विभिन्न अवयव लगायत बुट्टाहरूलाई सही ठाउँमा राख्नुपर्ने हुन्छ । कुनै पनि देवी–देवताको चित्र बनाउँदा आवश्यक बुट्टाहरूलाई ध्यान दिनुपर्ने हुन्छ । यसका लागि गाइड बुकका रूपमा यो पुस्तक आएको छ । नेपाली कलालाई निरन्तरता दिन र संरक्षण गर्न यो पुस्तकले ठुलै सहयोग पु¥याउने देखिन्छ ।
चार सय २० पृष्ठको यो पुस्तकमा १४ वटा विषय उठान गरिएको छ । हरेक विषयका बारेमा थोरै परिचयात्मक प्रस्तुतिपछि प्रशस्त रूपमा नमुनाहरू दिइएका छन्, जसलाई हेरेर बुझ्ने मात्र होइन चित्रको अभ्यास गर्न पनि सकिन्छ ।
(मल्ल कलाकार र कला समीक्षक हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसले लामो दुरीको मिसाइल हान्यो: युक्रेन
-
अमेरिकामा धोकाधडीको आरोपपछि रक्ताम्मे बन्यो अदानीको कम्पनीका सेयर
-
विमानस्थलको ‘डेन्जर’ स्थानमा रहेको यस्तो छ निगमको डिपो, तस्बिरमा हेर्नुहोस्
-
सहकारी बचतकर्ताको बचत फिर्ता हुने अवस्था बनाउनुपर्छ: श्रेष्ठ
-
माइतीघरमा आन्दोलन चलिरहँदा सर्वाेच्चमा प्रधान न्यायाधीशसहितको टिमले के गर्ला मुद्दा ?
-
नेकपा बहुमतको नवौं महाधिवेशन माघ ४ गतेदेखि काठमाडौँमा