बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
अन्तर्वार्ता

‘पदाधिकारीमा निर्वाचनभन्दा अर्को बाटो छैन’

तागत छ भने १० प्रतिशत थ्रेसहोल्ड बनाएर देखाए भयो : राजेन्द्र पाण्डे, नेता, नेकपा एकीकृत समाजवादी
आइतबार, ०९ भदौ २०८१

निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध लाग्दा २०३२ सालमै जेल परेका राजेन्द्र पाण्डे त्यसको ११ वर्षपछि त्यही व्यवस्थालाई चुनौती दिँदै जनपक्षीय उम्मेदवार बने र जिल्ला पञ्चायतको सभापति बने । बहुदलीय व्यवस्थाको पुनर्बहाली भएसँगै पटकपटक सांसद बने र मन्त्री पनि बने पाण्डे ।

बागमती प्रदेशको मुख्य मन्त्रीको समेत जिम्मेवारी सम्हालिसकेका पाण्डे नेकपा एकीकृत समाजवादीका नेता हुन् । खरो र निडर स्वभावका पाण्डेसँग रातोपाटीले विविध विषयमा कुराकानी गरेको छ । प्रस्तुत छ पाण्डेसँग गरिएको कुराकानीको सम्पादित अंश– 

  • पार्टी खिइँदै गइरहेको देखिन्छ । कमिटी चाहिँ भयङ्कर ठुलो, के गर्नुभएको यो ?

–पार्टी बनाउने क्रममै केही गल्ती भयो । पहिला नै ठुलो बनाइयो पछि समस्या भयो । महाधिवेशनमा निर्वाचन गरेको भए गल्ती सच्चिन सक्थ्यो । तर त्यो हुन सकेन ।

  • तपाईंहरूले गरेको महाधिवेशनलाई पनि महाधिवेशन भन्न मिल्छ र ?

–महाधिवेशन चाँडो गर्दा समस्या भयो ।

  • महाधिवेशन चाँडैचाहिँ किन गर्नुभएको त ?

–अध्यक्ष हुन चाहना राख्नेलाई चाँडै अध्यक्ष हुन मन लाग्दा र भइरहेका अध्यक्षलाई पनि ढिलो गर्दा के हो के हो भन्ने लाग्दा महाधिवेशन चाँडै भयो । 

क्रान्तिकारी विचार बोकेर हिँड्ने घनश्याम भुसाललगायत सबै निर्वाचनको विपक्षमा रहँदा निर्वाचन हुन सकेन ।
  • माधव नेपाललाई अध्यक्ष र घनश्याम भुसाललाई महासचिवमा टिको लगाउनेबाहेक महाधिवेशनले केही गर्‍यो त ?

–महाधिवेशनले नेपाली विशेषताको कार्यक्रम पास गर्‍यो ।

  • प्रतिस्पर्धालाई निषेध गरेर पनि महाधिवेशन हुन्छ ?

–म लगायत चार पाँचजना साथीहरू मात्र निर्वाचनको पक्षमा रह्यौँ । माधव नेपाल न्युट्रल रहनुभयो । क्रान्तिकारी विचार बोकेर हिँड्ने घनश्याम भुसाललगायत सबै निर्वाचनको विपक्षमा रहँदा निर्वाचन हुन सकेन ।

  • घनश्याम भुसाल त अध्यक्षमै लड्ने भनेको व्यक्ति, उहाँ कसरी निर्वाचनको विपक्षमा हुनुभयो ?

–केन्द्रीय सदस्यहरू समेत फिल्डबाटै प्रतिनिधि आउनुपर्ने केन्द्रीय परिषद्को निर्णयसमेत काठमाडौँमा घुमिहिँड्ने, फिल्डमा जान डराएर आतङ्कित भएका साथीहरूले उल्टाउने काम गरे । यो टिमले महाधिवेशनमा पनि निर्वाचन हुन दिएन ।

  • महाधिवेशनअघि अध्यक्ष माधव नेपालको कडा आलोचक हुनुभयो । तर महाधिवेशनमा भने माधव नेपाललाई नै साथ दिनुभयो भन्ने तपाईंको आलोचना छ । 

–नेपालको कम्युनिस्ट आन्दोलन, माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने कामदेखि कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने, संसद् विघटन गरेर संविधान नै च्यात्ने प्रवृत्तिका विरुद्ध विद्रोह गर्ने आँट काम माधव नेपालले नै गर्नुभयो । त्यस कारण विद्रोहको नेता भएकाले एक पटक माधव नेपाललाई अध्यक्षमा मैले समर्थन गरेको हुँ । 

  • अध्यक्ष बनाउन पनि लाग्ने अनि आलोचना पनि गरिरहन मिल्छ त ? 

–दास मानसिकताबाट म राजनीति गर्दिनँ । म अरूलाई पनि दास बनाउन चाहन्न र कसैको दास पनि हुन चाहन्नँ  । मेरो गर्धन काटिए पनि काटियोस् तर मलाई लागेको कुरा आँटका साथ बोल्ने व्यक्ति हुँ म ।

वरिष्ठ उपाध्यक्षमा मेरो दाबी रहन्छ । निर्वाचनमा उम्मेदवारी हुन्छ ।
  • महाधिवेशन गरेको दुई महिनासम्म पदाधिकारीसमेत बनाउन सक्नुभएको छैन । यति सानो पार्टीमा पदका लागि यति ठुलो विवाद किन ? 

–सकारात्मक रूपमा भन्दा हाम्रो पार्टीलाई सिध्याउन चाहने शक्ति सरकारमै पुगिसके । उनीहरू हाम्रो प्रगति चाहँदैनन् । फुकी फुकी चल्नुपर्ने अवस्था छ । भदौ ९ गतेदेखि बस्ने केन्द्रीय समितिको बैठकले पदाधिकारी छान्छ ।

  • पदाधिकारीमा चाहिँ क-कसलाई टिको लगाइदिँदै हुनुहुन्छ ?

–निर्वाचनभन्दा अर्को बाटो छैन । मैले पार्टी अध्यक्षलाई पनि तपाई न्युट्रल बस्नुस्, गोप्य मतदान गर्नुस्, चुनाव हुन दिनुस् भनेको छु ।

  • तपाईं पनि पदाधिकारीको आकाङ्क्षी हो ?

–वरिष्ठ उपाध्यक्षमा मेरो दाबी रहन्छ । निर्वाचनमा उम्मेदवारी हुन्छ ।

बरु प्रचण्डले हामीसँग एकताको कुराभन्दा पहिले आफ्नो पार्टी एक बनाउन लाग्दा राम्रो हुन्छ ।
  • निर्वाचन हुन्छ भन्ने लाग्छ तपाईंलाई ?

–त्योभन्दा अर्को उपाय छैन । प्रतिस्पर्धा गर्ने सिस्टम पनि बनाउनुपर्छ ।

  • नेकपा माओवादी केन्द्रसँग तपाईंहरूको पार्टी एकीकरण हुन लागेको हो ?

–प्रचारबाजी मात्रै हो । देशभरका वामहरूबिचको एकता गर्ने प्रयत्न गर्नुपर्छ । कुनै एउटा पार्टीसँग होइन । त्यसका लागि हामीले पास गरेका नीतिसँग सहमत हुनुपर्छ ।

  • केही समयपछि यो पार्टी नै रहँदैन भनिँदै छ, देशभरका वाम एक बनाउने कुरा गर्नुहुन्छ ।

–सिधा र कडा भाषामा भन्नुपर्दा पार्टी काममा नलाग्ने, अल्छीहरू, केही नेताहरूलाई सलाम ठोकेर काठमाडौँ मै घुमेर नेता भइरहनेहरूको कुरा हो यो ।

यदि दश प्रतिशत थ्रेसहोल्ड भयो भने लेखेर राख्नुस् दश प्रतिशत थ्रेसहोल्ड बनाउनुपर्छ भन्ने पार्टी एमालेचाहिँ फेरि सत्तामा आउँदैन ।
  • माधव नेपाललाई प्रधानमन्त्री बनाउँछु पार्टी एकीकरण गरौँ भनेर प्रचण्डले भनेका भन्यै छन्, भनिन्छ त ?

–प्रचण्ड, माधव नेपाललाई दलको नेता मान्न तयार भए रे । चुनाव चिन्ह पनि कलम नै हुने भयो रे, पालो आउँदा प्रधानमन्त्री मान्न पनि तयार भए  रे भन्ने आएको छ । तर माओवादीसँग हाम्रा धेरै कुरा मिल्दैन । बरु प्रचण्डले हामीसँग एकताको कुराभन्दा पहिले आफ्नो पार्टी एक बनाउन लाग्दा राम्रो हुन्छ । हिजो ओली र प्रचण्ड मिल्दा कम्युनिस्ट आन्दोलन नै धराशायी भयो ।

  • तपाईंका पार्टीका अधिकांश सांसदहरू नै अर्को पार्टीमा जाने तयारीमा छन् भन्ने छ,  कसरी रोक्न के गर्नुहुन्छ ? 

–हाम्रा केही सांसद साथीहरूको भड्याङभुडुङ बोल्ने शैली छ । उहाँहरू विवेकहीन प्राणी होइन । जनताबाट निर्वाचित भएर आएको हो । उहाँहरूले दुःख गरेर बनाएको पार्टी हो । दुःख गरेको पार्टीमा नभएर अन्त कहाँ हुन्छ ? नेपालीमा एउटा भनाइ छ नि धोबीको कुत्ता, घरको न घाट । त्यस्तो हुनसक्छ ।

  • थ्रेसहोल्ड बढाउनुपर्छ र देशलाई दुई दलीय प्रणालीमा लैजानुपर्छ भन्ने बहस अहिले छ । यसले तपाईंहरूको निद्रा हराएको होला होइन ?

–तागत छ भने दश प्रतिशत बनाएर देखाए भयो । यदि दश प्रतिशत थ्रेसहोल्ड भयो भने लेखेर राख्नुस् दश प्रतिशत थ्रेसहोल्ड बनाउनुपर्छ भन्ने पार्टी एमालेचाहिँ फेरि सत्तामा आउँदैन । शङ्कर पोखरेलले भनेको कुरा एमालेभित्रै पनि विरोध हुन थालिसकेको छ । यो लागु हुने कुरै छैन । यो साना दललाई तर्साएर आफूतिर तान्ने षडयन्त्र हो ।

संविधानसभा अध्यक्ष सुवास नेम्वाङले लोकमानसिंहलाई १३ पन्ने च्यात्न लगाएको प्रसङ्ग पनि छ ।
  • तपाईंहरू त तीन प्रतिशत थ्रेसहोल्ड हुँदा पनि राष्ट्रिय पार्टी बन्न  नसकेको होइन ?

–दश प्रतिशत थ्रेसहोल्ड हुँदा पनि राष्ट्रिय पार्टी हुने गरी काम गर्छौँ । हेरिरहनुस् गरेर देखाउँछौँ ।

  • भ्रष्टाचार निवारणसम्बन्धी विधेयकमा अनुसन्धानका लागि हदम्याद राख्ने विषयमा तपाईंको पार्टीको धारणा के हो ?

–भ्रष्टाचारीलाई जहिले भेटिन्छ कारबाही हुनुपर्छ । हाम्रो पार्टी भ्रष्टाचारमा हदम्याद राख्ने कुराको विरोधमा छ ।

  • एउटा व्यक्तिलाई जीवनभर तरबार झुन्ड्याइरहने त ? अनि लामो समयपछि पनि यो विषय राजनीतिक प्रतिशोधको हतियार बन्ने खतरा पनि रहन्छ नि त ?

–लोकमानसिंह कार्की अख्तियार प्रमुख हुँदा यस्ता घटना भएका छन् । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले लोकमानसिंहलाई १३ पन्ने च्यात्न लगाएको प्रसङ्ग पनि छ । मुद्दा दर्ता हुने बित्तिकै निलम्बन हुने विषय पनि छ । अख्तियारकै मान्छेले बेनामे उजुरी हालेर आफूलाई मन नपरेको मान्छेलाई दुःख दिने पनि हुने गरेको छ भन्ने सुनिन्छ । यस्ता धेरै  विषय छन् जुन मसिनो ढंगले छलफल गरेर मात्र निर्णयमा पुग्नुपर्छ ।

  • अख्तियारमा पदाधिकारी नियुक्तिको जुन प्रक्रिया छ त्यो नसुधारी यस्ता कानुन बनाएर मात्र भ्रष्टाचार अन्त्य होला त ?

–सचिवबाट अवकाश लियो अनि अख्तियार जाने प्रचलन हटाउनुपर्छ । समाजका विज्ञहरू तर फ्रेस मानिसहरूको परीक्षा लिएर पठाउनुपर्छ ।

नेपाल अन्य शक्ति राष्ट्रको चङ्गुलमा नपुगोस् भन्ने भारतको कोसिस हो जस्तो लाग्छ ।
  • नेताहरू तपाईंहरू नै हो अनि यस्तो खालको नियुक्ति कल्पना गर्ने मात्र त होला नि ?

–मलाई ४३ सालमै राजतन्त्र फाल्न मन थियो तर निकै पछि मात्र राजतन्त्र गयो । यो कुरा पनि त्यस्तै हो । आज उठ्यो १० वर्षपछि भए पनि मैले भनेको हुन्छ ।

  • दुई ठुला दल मिलेर सरकार बनेपछि त तपाईंहरू निराश हुनुहोला नि ? अब बार्गेनिङ त बन्द भयो ।

–बार्गेनिङ भनेको दुई चारवटा मन्त्री पाउने कुरा थियो होला । मन्त्री भएका साथीहरूले केही गर्न सकिएन भनिरहनुभएको छ । केही गर्न नसक्ने मन्त्री पठाएर के काम ? प्रतिपक्षमा छौं । जनताका समस्या कुरा उठाउन सजिलो हुन्छ । नत्र अहिले कांग्रेसका सांसदहरूको जस्तो हुन्छ । सरकारले गरेको भनेर प्रधानमन्त्रीलाई प्रश्न गर्नुपर्‍यो । नुन नहालेको तरकारीजस्तो प्रश्न गरिरहेका छन् । 

  • हाम्रो परराष्ट्र मन्त्रीको भारत भ्रमण चर्चामा छ, यसबारे तपाई टिप्पणी केही छ ?

–नेपाल अन्य शक्ति राष्ट्रको चङ्गुलमा नपुगोस् भन्ने भारतको कोसिस हो जस्तो लाग्छ । विशेष गरी अमेरिकी शक्ति नेपालमै केन्द्रित हुनसक्ने गरी जुन विश्व गतिविधि चल्दै छन् त्यस्तो शक्ति नेपालमा नआओस् र नेपाल त्यतातिर ढल्केर जाने स्थिति नबनोस् भन्ने भारतको प्रयत्न हुनसक्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया