आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
साहित्य

दलित चेतना र साहित्य

समाज नबुझेका र दलितलाई दलित नै बनाइराख्न चाहनेहरू दलित मुद्दाबाट भाग्न खोज्छन्
शनिबार, ०८ भदौ २०८१, १९ : ००
शनिबार, ०८ भदौ २०८१

दलित शब्द

दलित चेतनाको विषय र यसको साहित्यमा प्रवेश गर्नुअघि शब्दगत चर्चा सान्दर्भिक छ । यसमा छोटो चर्चा गर्दा ‘दलित’ शब्द नकारात्मक वा सकारात्मक के हो ? भन्ने भ्रम रहेको पाइन्छ । दलित शब्दलाई साथै दलित चेतनामा पनि हाम्रो समाजमा निकै भ्रम रहेका छन् । सिधै यसलाई अस्वीकार गर्ने वर्गले यो शब्द नै हटाउनुपर्छ, यसले विभेद देखायो, यसले समान अवस्था बोध गराएन, यो अपहेलित शब्द बन्यो, यो शब्द कति बोकिराख्ने ? जस्ता मतहरू रहेको पाइन्छ । 

यी मतमा कुनै सत्यता छैन । किनभने दलित शब्द समुदाय एवं वर्गको पहिचान बोध गर्न निर्माण भएको हो । दलित समुदायलाई दलित शब्दले हेपेको होइन, दलित शब्दले हेप्ने हो भने यो शब्द हटाएर अत्यन्तै सुन्दर शब्दले बोलाउन थाल्यौँ भने के भोलिदेखि समाजमा रहेका दलित उत्पीडन हट्छ ? छुवाछुत पूरै समाप्त हुन्छ ? दलित शब्द हटाउँदा समाज समता र अस्तित्वयुक्त हुन्छ भन्नु त धनीको नाम गरिबदास र सर्वहारा विपन्नको नाम धनबहादुर भएजस्तै हो ।  

समस्या शब्दमा होइन; विचार, चिन्तन, व्यवहार र प्रणालीमा छन् समस्या । मनोदशा र परम्पराका नाममा बोक्दै आएको सामन्ती प्रथामा छन् समस्या । वर्गीय रूपमा पनि इतिहासदेखि किनारीकृत पार्दै आएका विभेदमा छन् समस्या । दलित शब्द केवल समुदायगत पहिचानको विम्ब हो । विभेदमा परेको बोध र चिन्तन गरी विभेदबाट मुक्त हुने सङ्घर्ष गर्ने क्रममा दलित शब्द जन्मेको हो । यस शब्दलाई हेर्ने दृष्टिकोणमा, बुझाइमा र मनोविज्ञानमा समस्याहरू जकडिएका छन् । 

यो विषय सामाजिक र राज्यको मुद्दा हो । राज्य शक्तिबाटै सिर्जना भएको समस्या हो र राज्य शक्तिकै औपचारिक पहलमा अन्त्य गर्नुपर्छ । यस मुद्दाबाट जो भाग्न खोज्छ, उसले समाज बुझेको हुन्न वा दलित समुदायलाई दलित नै बनाइराख्न चाहन्छ भन्ने बुझ्नुपर्छ ।

दलित शब्द उत्पीडित वर्ग तथा समुदायको प्रतिनिधित्व, सङ्गठित र संस्थागत सम्बोधन, पहिचान र अभियानको साझा भाषिक संश्लेषण हो । आम शिल्पी, उद्यमी, वैज्ञानिक (घरेलु विज्ञान), सङ्गीतकार, गायक, वाद्यवादक, परिश्रमी, कर्मप्रेमीहरू, जो सदियौँदेखि उत्पीडिनमा छन्, उनीलाई एउटै शब्द ‘दलित’ले बुझाउँछ । यसलाई बुझ्न दलित सङ्घर्षको ऐतिहासिक विकासलाई अध्ययन गर्नैपर्छ । केही समयअघि दलित शब्दको बारेमा आवश्यक चर्चा परिचर्चा पनि भएको थिएन । सीमित बौद्धिक वर्गका मानिस र अभियन्ताहरूमा यसको ज्ञान रहेको थियो । दलित वर्गको हक अधिकारको विषयमा खुलेर विचार विमर्श गर्नु, यस विषयमा साहित्य रचना गर्नुलाई विषयबाहिरको फाल्तु काम मानिन्थ्यो । त्यो निकृष्ट अवस्था आउनुका पछाडि दलित वर्गमाथि कठोर दमन रहेको स्पष्ट हुन्छ । 

आज पनि केही विद्वान् वर्गका मानिसहरू आफूलाई अति बौद्धिक, प्राज्ञिक ठान्छन् र दलित साहित्यको सन्दर्भ उठाउँदा झस्कन्छन् । ‘अझै यो दलित शब्द बोकेर हिँडेको ?’ भनेर अनौठो, आश्चर्य र घृणाको विषय मानेर पन्छिन खोज्छन् । दलित शब्दका बारेमा स्वयं दलित वर्गकै कतिपय मानिसले रोष प्रकट गर्छन् । हामीलाई किन दलित भनेको, किन यो अपमान र हेयले सम्बोधन गरेको भनी प्रश्न गर्छन् । दलित शब्दको चयन र यसको अन्तर्य बोध गर्न प्रथमतः यसको इतिहासको अध्ययनको जरुरी छ । कुनै एउटा लेख, दलित विषयको कुनै एक प्रवचन र कुनै एक कविता वा निबन्ध पढेर वा सुनेर दलित चेतना बुझेँ भन्नु गलत हुन्छ, अल्पज्ञान हुन्छ । यी सब हुनु भनेको दलित शब्दको जन्म कसरी भएको हो भन्ने ऐतिहासिक सङ्घर्षको सन्दर्भ ज्ञान नहुनु हो ।

कति मानिसको मनोविज्ञान वा चिन्तन छ— दलित विषयमा प्रवेश गरेर कहिल्यै पार लाग्दैन, किन बहस गर्ने ? उनीहरू यस्तै बेवास्तावादी मनोदशाले ग्रसित छन् । यी विभिन्न कारणले दलित शब्द र यसले बोकेको तात्पर्यमाथि थुप्रै भ्रम रहेका छन् । मूलतः मानव भएर बाँच्न पाउने कि नपाउने भन्ने समस्या नै दलित समुदायको समस्या हो । मानिसले मानिसको दर्जा नपाउँदा यसलाई समुदायगत वा वर्गगत पहिचानको रूपमा एकाकार गर्न र गोलबद्ध गर्न दलित वर्गकै अभियान, सङ्घर्षबाट दलित शब्दको निर्माण भएको हो । दलित शब्द कसैले दान गरेको वा भनेर जन्मेको होइन ।

  • दलित चेतना

दलित चेतना पूर्ण मानव बन्ने आन्दोलित चेतना हो । दलित चेतना दमन, उत्पीडन, शोषणबाट मुक्त हुने चेतना हो । समाज, संस्कृति, धर्म, परम्परा, संस्कार आदिमा जातकै आधारमा विभेदमा नपरी बाँच्न सक्ने हैसियत खोज्ने क्रान्तिकारी चेतना हो, दलित चेतना । यो समता र समानताले सम्पन्न समाज निर्माण गर्ने चेतना हो । दलित चेतनालाई सङ्कीर्ण अर्थमा केही निरीह मानिसको रोदनका रूपमा लिने नजरअन्दाजी वा कमजोरीहरू समाजमा व्याप्त रहेका छन् । यस्ता अमानवीय सोच, चिन्तन र व्यवहारका विरुद्ध सशक्त प्रतिकार र प्रतिरोध गर्ने चेतना नै दलित चेतना हो । 

दलित चेतनालाई हारेका वर्गको रोदन वा आलाप मान्ने, भाग्यहीन मानिसको आवाजजस्ता हेय रूपमा हेरिने निकृष्ट धारणा समाजमा छन् । यस्ता दृष्टिकोणका विरुद्ध प्रतिरोध र प्रतिवाद गरी मानिसको जात मानिस नै हुन्छ भन्ने जीवन–दर्शन बोकेको चेतना नै दलित चेतना हो । 

वर्तमान समयमा दलित चेतनाको विषयमा व्यापक बहस भएको छ । यो बहसले राम्रो परिणाम दिन्छ । केही समयअघि गैरदलित वर्गका मानिसले होइन, दलित वर्गकै मानिसले पनि यस विषयमाथि भएका बहसमा भाग लिन हच्किने परिवेश थियो । राज्य शक्तिले दलित वर्ग तथा समुदायलाई अत्यन्तै निरीह बनाएको थियो । कतिपय गैरदलित वर्गका मानिसहरू ‘दलित चेतना दलित वर्गको विषय हो, यसको उठान–बैठान तिनले नै गर्छन् । गैरदलित भएर यो विषयमा कुरा गर्ने ? लेख लेख्ने ?’ भनेर अनौठो विचार व्यक्त गर्छन् । 

मूलतः मानव भएर बाँच्न पाउने कि नपाउने भन्ने समस्या नै दलित समुदायको समस्या हो । मानिसले मानिसको दर्जा नपाउँदा यसलाई समुदायगत वा वर्गगत पहिचानको रूपमा एकाकार गर्न र गोलबद्ध गर्न दलित वर्गकै अभियान, सङ्घर्षबाट दलित शब्दको निर्माण भएको हो ।

हिजो यो विषय दमित भएर उठाउनुपर्ने अवस्था थियो । विषय उठाउँदा पनि सङ्कोच मान्थे मानिसहरू । किनभने त्यतिबेला राज्य व्यवस्था कठोर थियो । दलित वर्गको पनि कुनै मुद्दा हुन्छ र भन्ने हेपाहा प्रवृत्ति व्याप्त थियो । अहिले सांस्कृतिक चिन्तनमा केही परिवर्तन र प्रगति भएको छ । यद्यपि पहिचानका सवालमा अनगिन्ती समस्या रहेका छन् । समयले होइन, मानिसमा आएको चेतनाको परिवर्तनले; सामाजिक र सांस्कृतिक परिवर्तनले; राज्य व्यवस्थाले ल्याएका जबर्जस्त बहस र बौद्धिक वर्गमा देखिएको उदार लेखनको क्रमिक प्रगतिले केही आशाका किरण छाएको महसुस भएको छ । 

मूलतः दक्षिण एसियाका बौद्धिक वर्गले पहिचानका विषयमा कलम कम चलाएका छन् । भारदारी प्रवृत्तिका लेखन, स्वच्छन्दतावादी तिलस्मी र प्रकृति गानमा रमाउने बुद्धिजीवी वर्गको मात्रात्मक विकास हाम्रो समाजमा व्यापक छ । यसले पनि पहिचान, मानवता, अस्तित्व, समता र समानताको सवाल पेचिलो भएको छ । यो सन्दर्भ आज धेरै उठेको छ र केही मानिसले यसलाई कति धेरै लिएको भनेर प्रश्न गरिरहेका छन् । यद्यपि यतिखेर दलित शब्द, यसको अभियान, दलित साहित्य, सौन्दर्य चिन्तनमाथि गम्भीर बहस हुन थालेका छन् । यो विषय तबसम्म रहन्छ, जबसम्म समाजमा सम्पूर्ण मानिसले आत्मसम्मानका साथ मानिसकै हैसियत प्राप्त गर्दैनन् । मानिसले मानिसलाई विभेद गरी कथित सानो जात र ठुलो जात भन्ने मान्यता, व्यवहार र क्रिया–प्रतिक्रिया गरेर हेपिन्जेलसम्म दलित चेतनाको बहस बौद्धिक र प्रायोगिक रूपमा रहन्छ । 

  • दलित चेतनाको क्षेत्र

केही मानिसहरू दलित चेतना नितान्त दलित समुदायको क्षेत्रभित्र पर्छ भनेर सोचिरहेका हुन्छन् । दलित चेतनाको क्षेत्र कहाँसम्म छ ? यो विषय कसको हो ? यसले कति आयाम ओगटेको छ ? यसमाथि बहस गर्नु उचित हुन्छ । दलित चेतनाको क्षेत्र कुनै वर्ग वा समुदायमा सीमित हुँदैन । यसको उत्पीडन दलित वर्गमा रहेको छ, तर यसको जिम्मेवारी गैरदलित वर्गमा पनि झन् भारी मात्रामा रहेको छ । यसो भनिरहँदा दलित समुदायभित्रै उपदलित र छुवाछुत रहेको छ नि भनेर कुतर्कहरू गरेको पाइन्छ । 

छुवाछुतको मान्यता मनुवादी दर्शनबाट उद्भव भएको हो । यसमा तहगत संरचना छ, जसलाई सामन्ती प्रथाले निर्माण गरेको हो । दलितभित्र मात्र होइन, गैरदलितभित्र पनि विभिन्न प्रकारले छुवाछुत र विभेद हुँदै आएको छ । यसमा वर्गीय समस्या पनि सहायक बनेको छ । यो पूर्ण वर्गीय समस्या होइन । समाजलाई जातीय आधारमा विभाजित गरी सोही अनुरुप काम वा पेसाको बाँडफाँड गरिएको, पेसालाई नै उच–नीच बनाएर श्रमको उचित मूल्य नदिइएको र नीच वा फोहोर भनिएको पेसा गर्नेलाई समाजमा स्थान नदिइएको हुँदा एउटा वर्ग क्रमशः दलनमा पर्दै आयो । खोक्रो मानवता, आदर्श, धर्म–परम्परा, पवित्र–अपवित्र, छुने वा नछुने, ब्राह्मणवाद, पुरोहितवाद, सानो र ठुलो जात जस्ता मान्यताका कारण नै दलित समुदायले वर्षौंदेखिको यातना भोग्नुपरेको छ । यही भोगाइको प्रतिरोधमा जन्मेको हो दलित चेतना, जो क्रान्तिकारी कदम हो । त्यसैले यो विषय दलित वर्गको त हुँदै हो, किनभने उसले प्रत्यक्ष विभेद भोगेको छ । 

साथै यो विषय गैरदलित वर्गको पनि हो । गैरदलितहरू नभईकन दलित मात्रै यो समाजमा रहेका छैनन् । किनभने दलित हुनुमा गैरदलितहरूको इतिहास र वर्तमान जोडिएको छ । सामन्ती संस्कार, संस्कृति, व्यवहार र परम्परा जोडिएको छ । त्यसैले यो विषय सामाजिक र राज्यको मुद्दा हो । राज्य शक्तिबाटै सिर्जना भएको समस्या हो र राज्य शक्तिकै औपचारिक पहलमा अन्त्य गर्नुपर्छ । यस मुद्दाबाट जो भाग्न खोज्छ, उसले समाज बुझेको हुन्न वा दलित समुदायलाई दलित नै बनाइराख्न चाहन्छ भन्ने बुझ्नुपर्छ । 

आज पनि केही विद्वान् वर्गका मानिसहरू आफूलाई अति बौद्धिक, प्राज्ञिक ठान्छन् र दलित साहित्यको सन्दर्भ उठाउँदा झस्कन्छन् । ‘अझै यो दलित शब्द बोकेर हिँडेको ?’ भनेर अनौठो, आश्चर्य र घृणाको विषय मानेर पन्छिन खोज्छन् । दलित शब्दका बारेमा स्वयं दलित वर्गकै कतिपय मानिसले रोष प्रकट गर्छन् ।

दलित समुदायको उत्पीडनमा वर्गीय समस्या पनि छ, तर आर्थिक रूपमा सम्पन्न मानिसहरू पनि दलित उत्पीडनमा परेकाले आर्थिकभन्दा भिन्न आत्मसम्मान र पहिचानको विषय भएर यो समस्या निर्मित छ । यस सवालमा अर्थतन्त्र सहायक कारक पक्ष मात्रै हो । दलित बनाइनुको उत्पत्तिगत समाजशास्त्रीय इतिहासमा जाने हो भने यसको जन्मको आधार आर्थिक नै हुन आउँछ । अर्थतन्त्रलाई सामन्ती सत्ताले आफ्नो हातमा लिने क्रममै अनेक जातीय, धार्मिकजस्ता विभेद भएका छन् । भाग्यवादजस्ता भ्रामक विचार बाँडेर, अन्धविश्वासहरू उत्पादन गरेर अर्थतन्त्र हत्याउने काम भएको छ । आज भोगिरहेको अवस्थामा हेर्दा चाहिँ दलित वर्गको समस्या जातीय र मानवीय समस्या हो । 

दलित समुदामा रहेको उत्पीडन, अन्याय, अत्याचार आजको युगलाई धिक्कार्ने व्यवहार हो । सभ्य समाज भनिने समयलाई कलङ्कित पार्ने दलित समस्या समाजको समग्र सभ्यताको समस्या हो । दलितमाथिको अन्याय सामाजिक, सांस्कृतिक, राजनीतिक, धार्मिक, आर्थिक र लैङ्गिक क्षेत्रसम्म फैलिएको छ । त्यसकारण यो साझा समस्या हो भन्ने प्राथमिक बुझाइ हुनुपर्छ । यो हाम्रो क्षेत्रको समस्या होइन भनेर जसले भनिरहेको छ, त्यो सामन्ती संस्कारजडित मानसिकता हो भन्नेमा कुनै द्विविधा राख्नुहुन्न । यसमा पैरवी गर्ने, लेख–रचना निर्माण गरी चेतनाको प्रसार गर्ने, समाज र राज्य शक्तिका माध्यमबाट सम्पूर्ण दलित समुदायको समस्या हल गरी समाजलाई शिष्ट, सभ्य, समतामूलक र पहिचानयुक्त बनाउने दायित्व हामी सबैको हो ।

  • दलित साहित्य 

उपरोक्त अनुच्छेदहरूमा चर्चा गरिएका सन्दर्भलाई बोक्ने विचार भएको साहित्य नै दलित चेतनाको साहित्य हो । दलित चेतनाको साहित्य नेपाली साहित्य र अन्य देशका विभिन्न स्रष्टाले पनि रचना गरेको पाइन्छ । यद्यपि गुण र मात्राका दृष्टिले दलित चेतनाको साहित्यको निर्माण कमजोर नै रहेको छ । 

दलित वर्गको उत्पीडनलाई चित्रण गरी यसको समाधानमा विचार निर्माण गर्न सक्ने साहित्य नै दलित चेतनाको साहित्य हुन्छ । यसमा यथार्थीकरण र आलोचनात्मक गरी दुई वर्गमा साहित्यको रेखाङ्कन गर्न सकिन्छ । दलित चेतनालाई यथार्थीकरण गरिएका साहित्यमा दलित समुदायले भोगेका ऐतिहासिक र वर्तमान जनजीवनका घटनालाई जस्तो छ त्यस्तै साहित्यको कलामार्फत व्यक्त गरिन्छ । यस्तो साहित्यमा स्रष्टाले आफूले देखेका कुरा साहित्यमा रूपान्तरण गर्ने काम मात्रै हुन्छ । यसबाट इतिहासमा दलित वर्गमाथि गरिएका अनेक दमनको चित्रण देखेर आजको पुस्ताले सूचना र ज्ञान हासिल गर्छ । आजको दलित समुदायमाथि भएका समस्यालाई चित्रण गर्दा भोलिका पुस्ताले यसको अवस्था साहित्यमार्फत बुझ्ने अवसर पाउँछन् । यसले घटनाको सम्प्रेषण मात्र गर्दछ । 

अर्कोतिर आलोचनात्मक दृष्टिबाट रचिएका दलित चेतनाको साहित्यले दलित चेतनालाई माथि उठाउन, दबाब सिर्जना गर्न, सामन्ती वर्गलाई चुनौती दिन र समाज रूपान्तरण गर्न सामथ्र्य राख्छ । यस प्रकारका साहित्यले साहित्यिक गुणात्मकता हासिल गर्दछ र विचार निर्माणमा सहयोग पु¥याउँछ । आलोचनात्मक चेतनासहित सिर्जित साहित्य दृष्टिकोण बोध गराउन सक्षम हुन्छ र यो लामो समयसम्म रहने सम्भावना हुन्छ । यस्तो साहित्यले बुद्धिजीवी वर्ग र राज्य पक्षलाई पनि सही मार्गदर्शन गर्दछ । समाजमा पहिचान, अस्तित्व र समताको विषयमा कम बोल्ने वर्ग बुद्धिजीवी नै हुन् । पाश्चात्य विद्वान् ग्राम्सीले बुद्धिजीवी वर्गमाथि आलोचनात्मक टिप्पणी गरी यस वर्गको भूमिकाबारे चर्चा गरेको पाइन्छ । 

त्यसकारण समाज परिवर्तनमा नबुझेको वर्गभन्दा बुझेको वर्ग मौन रहनु भनेको दलित चेतनाको साहित्य निर्माण नहुनु, कम हुनु र प्रभावकारी नहुनु हो । अर्कोतिर यस्ता साहित्य सिर्जना भए पनि त्यसको पठन कम हुनु, केही वर्गले नदेखेको झैँ गर्नु, विद्यालय वा विश्वविद्यालयका पाठ्यक्रममा नराख्नु, आलोचना र समीक्षा नगर्नु जस्ता अवस्था देखिएको पाइन्छ । यसले दलित साहित्यलाई कमजोर बनाएको छ र यसको प्रभाव समाज परिवर्तनमा परेको छ । त्यसैले दलित साहित्यमा यिनै समस्याको समाधानका निम्ति वैचारिक आग्रह प्रकट भएको पाइन्छ । 

साहित्यमा दलित चेतनासम्बन्धी सैद्धान्तिक आधारका विभिन्न सापेक्ष विषयवस्तु रहेका छन् । यो विशुद्ध मानवतावादी धारबाट मात्रै जन्मेको होइन । त्यसकारण सबै मानवतावादी साहित्य दलित मुक्तिमा केन्द्रित रहेको पाइन्न । दलित बनाइनु र दलितका उत्पीडनको अन्त्य नहुनुमा ती संस्थाका दार्शनिक चिन्तनले कुनै ठोस धारणा ल्याएका छैनन् । आर्थिक शोषण यसको उत्पत्तिको जग हो । त्यसकारण मार्क्सवादी दर्शन र द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी सिद्धान्तलाई यहाँ परिपूरक मान्यताका रूपमा अघि सारेर मात्रै यसको सैद्धान्तिक आधारलाई स्पष्ट पार्नु उचित हुन्छ । 

दलित चेतनाको साहित्यको सिद्धान्तमा प्रगतिवादी तथा मार्क्सवादी दृष्टिकोणबाट दार्शनिक, राजनीतिक, सांस्कृतिक, ऐतिहासिक र समाजशास्त्रीय अध्ययन उचित हुन्छ । मार्क्सवादले भौतिकवादसित सापेक्ष भई रचना गर्ने र समीक्षा गर्ने दृष्टिकोण राख्छ । भौतिकवाद समाज विकासको अध्ययन गर्ने वैज्ञानिक प्रणाली हो । ऐतिहासिक भौतिकवादले आज दलितका रूपमा कथित अछुत मानिएका मानिसलाई इतिहास निर्माणमा महान् योगदान गर्ने परिश्रमी, लगनशील, कालिगढ, आविष्कारक, कलाकार, मूर्तिकार, निर्माता, श्रमिकको रूपमा औँल्याउँछ । आज जेजस्ता भौतिक उपलब्धिहरू रहेका छन्, त्यो तिनै वर्गका मानिसको रगत पसिनाको मूल्यको परिणाम भएको स्वीकार गर्ने चिन्तन मार्क्सवादले प्रतिपादन गरेको छ । मार्क्सवादी साहित्यको आफ्नै दायरा छ, तर दलित चेतनाको साहित्यको सन्दर्भमा मार्क्सवाद परिपूरक सिद्धान्तका रूपमा उपस्थित हुन्छ ।

अतः दलित चेतना प्रतिरोधको चेतना हो । यो आन्दोलित चेतना हो । यो क्रान्तिकारी विचारको संश्लेषणात्मक शब्दावली हो, यसले अन्याय एवं शोषणको तत्काल विरोध गर्छ र सामन्ती सत्ताको अन्त्यको माग गर्छ । यसले मानव अस्तित्व र सत्ताको स्थापनामा जोड गर्छ । यो सत्ता प्राप्त नभएसम्म दलित चेतनाको अभियान अनेक स्वरूपमा रहन्छ । यही चेतनालाई अँगालेर रचना गरिने साहित्य दलित चेतनाको साहित्य हो । यो जुनसुकै विधामा पनि रचना गर्न सकिन्छ । लक्ष्मीप्रसाद देवकोटा, मोदनाथ प्रश्रित, केवलपुरे किसान, टीआर विश्वकर्मा, पारिजात, बालकृष्णसमजस्ता स्रष्टाले दलित चेतनाको साहित्यलाई आफ्ना साहित्यमा सामेल गरेका छन् । साहित्य समग्र विश्व मानव समाजको सेरोफेरोमा सम्बद्ध रहन्छ । यसले भूतकालीन युगदेखि वर्तमान र भविष्यसम्मको मानव समाजबारे प्रकाश पार्दछ, खोज अनुसन्धान गर्दछ, परिकल्पना गर्दछ, सत्य–असत्य बोध गराउँछ । 

साहित्यभित्र मानव इतिहासका आरोह–अवरोहहरू अध्ययन गर्न सकिन्छ र त्यसले मानव समाजको गठन–विघटनका कार्य–कारण शृङ्खलालाई विभिन्न भाषा, माध्यम र शिल्पमा प्रस्तुत गरेको हुन्छ । हाम्रा पूर्वीय जगत्का प्राचीन ग्रन्थहरू रामायण, महाभारत, पुराण, वेद, मनुस्मृतिलगायत पुराना नाटक, आख्यान, प्रबन्ध, काव्य आदिमा तत्कालीन समाजका परिवेश र चरित्रलाई व्यक्त गरिएको छ । त्यसकारण साहित्य समाजशास्त्रीय अध्ययनको स्रोतका रूपमा पनि रहेको छ । 

एङ्गेल्सका मतमा होमरका इलियाड लगायत ग्रन्थमा फलामका परिष्कृत औजारहरू, आरनको खलाँती, खाने तेल बनाउने कला, गाडा र युद्ध रथ, पानी जहाजका पाटपुर्जा, हाते घट्ट, कुमालेको चक्र जस्ता सामानको उल्लेख भएको छ  । यसले दलित चेतनाको साहित्य अध्ययन गर्ने प्राचीन सामग्री प्रदान गरेको छ । पूर्वीय साहित्यमा पनि यस्ता रचना छन्, जसको अनुसन्धान महत्त्वपूर्ण साहित्यिक शोधको विषय पनि हो । 

साहित्य सिर्जना गर्नेहरू र त्यसका समालोचकहरू पनि समाजका सदस्य हुन् । आजसम्म भएका र पाइएका मानव मानव बिचका विभेदहरू विश्वको सन्दर्भमा वर्णका रूपमा र भारतीय समाजमा वर्णाश्रम तथा धर्मका रूपमा रहेको भए तापनि यसको मूल कारक पक्ष आर्थिक शोषण नै हो । यसको मूल जरा आर्थिक उत्पादनमा लागेका वर्गलाई उपेक्षा गरेर अकुत फाइदा लिने रणनीतिका साथ धर्म, वर्ण, जात, पाप, भाग्य, पूर्वजन्मको फल, भावीको लेखाजस्ता भ्रमपूर्ण नामकरणका झुट आधार खडा गरिएको छ । 

परिश्रम नगर्ने तर धेरै खान खोज्ने स्वार्थी स्वभावका शोषक, सामन्त, विलासी, अमानवीय व्यक्तिवादी चिन्तनयुक्त मानिसका कुकृत्यमूलक षडयन्त्रबाट काम गर्ने वर्गलाई शोषण गर्न र कजाउन अनेक मानसिक, धार्मिक, राजनीतिक, सांस्कृतिक हतियारहरू बनाई मानिसलाई मानिसबाट अलग्याउने काम गरेर दलित वर्ग भाग्य नभएका, पापका कारण अहिले दलित हुनुपरेको, गरिब हुनुपरेको जस्ता जाल तेस्र्याउने काम भएको छ । 

यसो गरेर उत्पादनका साधनमाथि परिश्रम गर्नेलाई ठग्ने प्रपञ्चहरू खडा गरी यसलाई धर्मका पुलिन्दाहरू प्रयोग गरेर शोषणमूलक प्रचलन सुरु भएका हुन् । मनुस्मृति जस्ता एक पक्षीय धर्म ग्रन्थका आधारमा जात–जातका मानिसमा विभेद गर्दै एकपछि अर्को सामन्ती प्रथामूलक ग्रन्थहरू लेखेर मानव शोषण गर्ने क्रममा दलित र गैरदलित जात व्यवस्था खडा गरिएको छ । नेपाली साहित्यमा दलित साहित्यमा कलम चलाउने स्रष्टाहरूको लामो सूची नै तयार भएको पाइन्छ । आंशिक रूपमा र पूर्ण रूपमा दलित चेतनाको साहित्य निर्माण गर्ने साहित्यकारहरूको सङ्ख्यात्मक र गुणात्मक अवस्थामा विकास भएको पाइन्छ । यद्यपि यसमा सन्तुष्ट हुने अवस्था छैन । दलित चेतनाको साहित्यलाई मूलधारको साहित्य बनाउन केही समय प्रतीक्षा गर्नुपर्ने देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. हरिप्रसाद सिलवाल
डा. हरिप्रसाद सिलवाल
लेखकबाट थप