शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय
तिज गीत

तिजका गीत : लगानी लाखमा, आम्दानी हजारमा

पैसाभन्दा पनि अन्य फाइदा धेरै
शनिबार, ०८ भदौ २०८१, १७ : ३०
शनिबार, ०८ भदौ २०८१

काठमाडौँ । गायिका सुनिता बुढाक्षेत्रीको स्वरमा रहेको तिज गीत ‘बिजुली चमक्क’ अहिले चर्चामा छ । गीतमा वरिष्ठ गायक तथा संगीतकार कस्तुप पन्तको शब्द, सङ्गीत छ । गायिका निता आचार्यको ‘नाच्ने हो हिल भाँच्ने गरी’ पनि धेरैले रुचाएका छन् । यो गीतमा डीपी खनालको शब्द र शङ्कर थापा ‘स्माइल’को सङ्गीत छ ।

यी त केही उदाहरण मात्र हुन् । यतिबेला सङ्गीत बजार नियाल्ने हो भने ‘बिस्तराले पोल्यो’, ‘दिउँला बरिलै’, ‘मादलु घन्काउँदै’, ‘टिकटकमा भाइरल हल्लाएरै’, ‘चियर्स बियर’, ‘पोहरदेखि बाझो छ खेत’, ‘सिमीबोडी लौका र चिचिन्डा’, ‘कामी दाइको कस्तो छ घन ठोकाइ’, ‘बुढो विदेश गयो भनी फुइँ लाउँछे’, ‘मायाको पोको चोखो छ चोखो’, ‘बिहे अगाडि म त दिन्न बरीलै’, ‘बरीलै हल्लाउन मन लाउँछ’, ‘लाजले छोपेको’, ‘हल्लाएरै हो’ लगायतका गीत तिजकै अवसर पारेर भित्रिएका छन्  ।

गत असार यता तिजलाई लक्षित गर्दै बजारमा दैनिक ३ देखि ७ वटासम्म गीत बजारमा आइरहेका छन् । यो क्रम अझै केही दिन जारी रहनेछ ।

गत वर्षको तुलनामा यो वर्ष धेरै नै तिज गीत भित्रिने देखिएको छ । गायक तथा सङ्गीतकार कस्तुप पन्तले भने, ‘विगतका वर्षहरूमा एक सयदेखि डेढ सय हाराहारीमा तिज गीत आउँथ्यो, यो वर्ष ३ सयभन्दा बढी हुन सक्छ ।’ पन्त आफैँले भने यस वर्ष तिजका लागि एकमात्र गीत ल्याएका छन् ।

deepak-sharma

सङ्गीतकार दीपक शर्मा पनि विगतका वर्षको तुलनामा यो वर्ष तिजका गीत बढेको बताउँछन् । कतिपयले त चर्चाका लागि तिजको अवसर भन्दै अन्य गीत ल्याउने गरेको उनी सुनाउँछन् ।

  • अडियोमा लगानी कति ?

पछिल्लो समय गीत–सङ्गीत निर्माणका लागि लगानी धेरै खर्च हुन्छ । अडियोमा मात्र एउटा गीतका लागि ५० हजारदेखि एक लाख रुपैयाँसम्म खर्च भएको पाइन्छ ।

गीतको अडियो निर्माणमा गीतकार, भाका, गायक–गायिका, स्टुडियो र एरेन्जर लगायतमा खर्च गर्नुपर्ने हुन्छ । एक गीतका लागि गीतकारले १५ देखि २५ हजार, भाकाले पनि १५ देखि २५ हजार, सङ्गीतकारले २० देखि ३० हजार, गायक–गायिकाले १५ देखि २५ हजार, स्टुडियो २० देखि २५ र एरेन्जरले २० देखि २५ हजार रुपैयाँ लिने गर्छन् । गीतकार, सङ्गीतकार र गायक–गायिका आफैँ भएकाको भने कम खर्च हुन्छ ।

radhika-hamal

अहिले बजारमा देखिएका अधिकांश तिज गीतको अडियोका लागि ५० हजारदेखि एक लाख रुपैयाँसम्म लगानी हुने गरेको वरिष्ठ गायिका राधिका हमाल बताउँछिन् ।

‘गीतकार, सङ्गीतकार, गायक–गायिका वा अन्य क्षमता हुनेले ५० हजारमा पनि गीत बनाएका छन्’, हमालले भनिन्, ‘सबैमा खर्च गरेर राम्रो बाजासमेत राखियो भने एक लाखले पनि नपुग्न सक्छ ।’

  • भिडियोको खर्च कति ?

अहिले भिडियो निर्माणमा पनि २ लाखदेखि १० लाखसम्म खर्च गर्ने गरेको देखिएको छ । भिडियोमा राखिने प्रविधि कलाकार, टेक्निसियन लगायत विभिन्न पक्षको जनशक्ति र दक्षताले पनि भिडियोको लगानी निर्धारण गर्ने गरेको छ । केहीले त १० लाख रुपैयाँभन्दा बढी खर्च गरेर म्युजिक भिडियो बनाएका पनि छन् ।

भिडियो निर्माणमा कोरस, मेकअप म्यान, लाइटम्यान, साउन्ड म्यान, क्यामेराम्यान, सम्पादन, लाइट, ट्रली क्यामेरा, ड्रेस, यातायात, लोकेसन, भान्सा, कन्सेप्ट, कोरियोग्राफी, निर्देशन र मोडल लगायतका शीर्षकमा प्रमुख खर्च हुन्छ । कतिपयले त आर्ट र एसिस्टेन्ट निर्देशक पनि राख्ने गरेका छन् ।

भिडियोमा थोरैमा पनि कोरस ३ हजार (प्रति व्यक्ति र प्रतिदिन), मेकअप म्यान प्रतिदिन ६ हजार, लाइटम्यान (प्रति व्यक्ति र प्रतिदिन) २५ सय, साउन्ड म्यान, (प्रति दिन) ५ हजार, क्यामेराम्यान न्युनतम् १० हजार, सम्पादन १० हजार, लाइट, ट्रली, क्यामेरा २० हजार, ड्रेस न्यूनतम पनि २० हजार, यातायात ३० हजार, भान्सा प्रतिदिन १० हजार, कन्सेप्ट २० हजार रुपैयाँभन्दा माथि, कोरियोग्राफी २० हजार रुपैयाँदेखि माथि, निर्देशक ५० हजार रुपैयाँदेखि माथि, मोडल कलाकार हेरेर १५ हजारदेखि ३÷४ लाखसम्म खर्च हुने गर्छ ।

कलर करेक्सन, भीएफएक्स, प्रचारप्रसारमा समेत कतिपयले एक लाख रुपैयाँभन्दा बढी खर्च गर्छन् ।

kumar-kc

बजारमा यो वर्ष देखिएका तिज गीतका भिडियो २ लाखदेखि १० लाखसम्ममा बनेको भिडियो निर्देशक कुमार केसी बताउँछन् । ‘भिडियोका कलाकार, कोरसको संख्या कति, लाइट कति र कस्तो लगायत धेरे कुराले बजेटमा थपघट हुन्छ’, निर्देशक केसीले भने, ‘मैले यो वर्ष २ लाखदेखि १० लाखसम्मको भिडियो बनाएको छु ।’

केसीले यो तिजका लागि दर्जनभन्दा बढी गीतको भिडियो बनाएको बताए ।

  • आम्दानी छैन, लगानीमात्र

एउटा गीत भिडियोसहित तयार भएर बाहिर आउँदा कम्तीमा पनि ३ लाख रुपैयाँ लगानी हुन्छ । यो तिजका लागि बनेका गीतका भिडियो पनि ३ लाखदेखि १० लाख रुपैयाँसम्मका छन् । यति धेरै लगानी भएका तिज गीतले आम्दानी टन्नै गर्नुपर्ने हो । तर अधिकांश गीतले लगानीको दश प्रतिशत पनि उठाउन मुस्किल छ । कतिपय गीतले हजारमा पनि चित्त बुझाउनुपर्छ ।

अहिले गीत–सङ्गीतले आम्दानी गर्ने भनेको युट्युब, रिल, अडियो प्लेटर्फम, फेसबुक, इन्स्टाग्राममा हुन् । तिज गीतको समयसीमा छोटो हुने भएकाले यी प्लेटर्फमबाट लगानीको १० प्रतिशत पनि उठाउन मुस्किल छ ।

आम्दानी नभए पनि नाम, चर्चा, निरन्तरता र स्टेज कार्यक्रमका लागि अहिले तिज गीतमा लगानी भइरहेको गायक तथा सङ्गीतकार कस्तुप पन्त बताउँछन् ।

kastup-panta

‘यो सिजनमा युट्युब च्यालनको सस्क्राइब बढ्ने, च्यानल एक्टिभ देखिने, नयाँ युट्युब स्थापित हुने हुन्छ । अहिले राम्रो भएका युट्युबमा यस पछाडि हालिएका गीतले पनि राम्रो दर्शक पाउँछन्’, पन्तले भने, ‘कलाकारले गीतको कारणले देश विदेशमा कार्यक्रमसमेत पाउँछन् ।’

गीतले कलाकारलाई मेलामहोत्सव दिलाउने हुँदा आम्दानी राम्रो हुने पन्तको भनाइ छ । पन्तको विचारसँग शत प्रतिशत सहमति जनाउँछिन् गायिका सरु गौतम । गायनमा उपस्थितिका लागि गीत निकाल्नुपर्ने उनको धारणा छ ।

saru-gautam

‘आम्दानी नभए पनि मेरो अफिसियल च्यानलका लागि राम्रो हुन्छ भनेर तिज गीत ल्याएकी हुँ’, गौतमले भनिन्, ‘गीतको कारण विभिन्न स्टेज कार्यक्रम हात पर्छ ।’

कलाकार गीत–सङ्गीतले भन्दा पनि स्टेज कार्यक्रमले बाँच्दै आएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप