शनिबार, ०६ पुस २०८१
ताजा लोकप्रिय
संस्मरण

मेरो घाम जो अस्तायो– १

शनिबार, ०८ भदौ २०८१, १५ : ४५
शनिबार, ०८ भदौ २०८१

जीवनमा सबैका स–साना घाम हुन्छन् । माया दिने, न्यानो दिने, सहारा दिने, आफू जल्दै जाँदा बल्ने धिपधिपे दियोको उज्यालोमा टुकुटुकु हिँडाउँदै निम्छरो जीवनको थालनीमा अलि परसम्म पुर्‍याउने, र ‘अब तँ आफैँ उडी जा, तँ आफैँ गरी खा’ भनेर आसिक दिने ममतामयी घाम ।

हो, घाम मेरो पनि थियो । त्यो घाम मेची नदीको किनारमा मेरै आँखामुखेन्जी जलेर खाक भयो । उसले जीवन बिसायो र उसको अन्तिम महाविश्रामसँगै मेरो सानो घाम फेरि कहिल्यै नझुल्किने गरी अस्तायो । 

ऊ मेरो जेठो दाजु थियो । मेरा जन्म दिने बा अकालमै बिते र घरायसी मोर्चामा ऊ मेरा बापछिको मलाई कर्म दिने कर्तामा भर्ती भयो । हाम्रो घरमा दाजुभाइ, दिदीबहिनी ‘तँ’ भनेर एकअर्कालाई पुकाथ्र्यौं । मेरो दाजु मेरो ‘तँ’ थियो, म उसको ‘तँ’ थिएँ । मेरो त्यो अन्तरङ्ग ‘तँ’ दृश्यजगत्मा अब छैन । छ त केवल उसका सम्झनाहरूको न्यास्रोलाग्दो तरेली छ ।

दशैँ मुखमुख आउँदै थियो । दशैँको उल्लासमा उदासीको वर्षा गर्दै एक बेलुकी ९ बजे बिजुलीपथबाट काँकडभिट्टामा मेरो घाम अस्ताएको खबर आयो । राजधानी नाउँको शोषक, शासकहरू समेत बास बस्ने लोडसेडिङ नगरीमा त्यो घडीमा बिजुलीबत्ती झलमल्ल बलिरहेको थियो । क्लेशको करौँतीले हृदय रेट्ने खबरले जब मेरा कर्णपट स्पर्श गर्‍यो, मेरो संंसारै अँध्यारो भयो ।

आखिरीपल्ट मुख हेर्न र दागबत्तीको साक्षी बस्न गहभरि आँसु लिएर मेची नदीको किनारमा पुगेँ म । त्यहाँ कुलबन्धु र इष्टमित्रको ठुलै कुँडुलो लागेको थियो । उमेर र पुस्ताले पाका काका दिलीप सङ्ग्रौला कुँडुलोको अभिभावकीय बागडोर सम्हालेर एक टङ्कार मेरो बाटो हेर्दै रहेछन् । तिनलाई देख्दा मेरो कर्तव्यको भार एकचौथाइ हलुङ्गो भयो । 

हाम्रा बा हाम्रो घरको शासकीय सिंहासनका उदार अधिपति थिए । दाजु मेरो साथी थियो र नै दाजुसँग मलाई अलि कम डर लाग्थ्यो । कुट्न त दाजु पनि मलाई पाट्टपुट्ट कुट्थ्यो तर नीलडाम बस्ने गरी कुटेको सम्झना जतनले जोगाइराखेको मेरो मनको पन्तुरोमा छैन । ऊ मायाको साइज मिलाएर मलाई कुट्थ्यो । बाको छायातुल्य भएर म जताततै उनको पछि लाग्न रहर गर्थें ।

भाउजूका दुईवटी बहिनी थिए । एउटी मजत्रै, अर्की अलि सानी । भोलिपल्ट बिहान तिनलाई देखाउँदै ससुराले सोधे, ‘साना ज्वाइँ, कुनचाइँ रोज्छौ, लु भन ।’ म अक्क न बक्क परेँ, के भन्ने ? लाजले भित्रभित्रै काउकुती लागेर म डल्लो परेँ ।

तर दाजुको छाया भएर उसलाई पछ्याइरहन मलाई अलि सहज लाग्थ्यो । हो, मेरो त्यो दाजु, बापछिको मेरो त्यो घाम, अहिले जीवनका सबै सपना र दुःख बिसाएर मेची नदीको किनारमा चिर निद्रामा डुबेको थियो । बेचैनीको पिरो धुवाँ उडिरहेका व्याकुल आँखाले हेरेँ— ऊ स्पन्दनहीन छ, ऊ वकशून्य छ । अब ऊ मलाई देख्दैन । ‘के छ, केटा ?’ भनेर अब ऊ मलाई कहिल्यै सोध्दैन । हाडछाला मात्र बाँकी रहेको उसको टीठलाग्दो भौतिक देह देख्दा मेरो मनमा आत्मसान्त्वनाकारी भावतरङ्ग उठ्यो— बरा, दाजुले दुःखै लुकाएछ ।

दाजु उत्तानो परेर काँचा बाँसको खटमाथि महाविश्रामको शरण परेको थियो । खट काँध थापेर भारी मनले उसलाई मैले अन्तिम स्पर्श गरेँ । पानीमा चप्ल्याङचुप्लुङ गर्दै चितावरिपरि फेरो मारेर सनातनी कर्मकाण्डको लयमा मैले उसलाई अन्तिम आदर अर्पण गरेँ । चितामाथि पुत्पुत् धुवाँ उठ्यो । धुवाँसँगै ऊ अब कहिल्यै नदेखिने, कहिल्यै नसुनिने गरी शून्यमा विलीन हुँदै गयो । र त्यो धुवाँमा मडारिँदै सम्झनाका तरङ्गहरू मेरो मनको गोप्य गुफाबाट जमजमाउँदै अगाडि आउन थाले ।

तिथिमिति मलाई सम्झना छैन । तर ५–६ वर्षको उमेरदेखिका सम्झनाको अमिट जालो मेरो मनको लघु आकाशमा बुनिएको छ । हाम्रो घरमाथि अघिल्तिर निहुरिएको आकाश छुने रमिते डाँडो थियो । त्यो नाथे डाँडाले आकाशे घामलाई छेकेर गाउँलाई ओसिलो र ठिहिरो बनाउँथ्यो । हिउँद लाग्यो कि बिहान–बेलुकै जाडाले स्युस्यु । जाडामा म दाजुसँग चुलामा सुत्थेँ । सुत्नुअघि नित्य हाम्रो सानो बातचित हुन्थ्यो ।

‘कान्छा, तँ छेउमा सुत्छस् कि भित्तामा ?’

‘छेउमा ।’

‘भित्तामा सुत् नाथे । तँ मझेरीमा खस्लास् !’

खटनबमोजिम म लुसुक्क चुलाको मुखतिर भित्तामा सुत्थेँ । रातैपिच्छे ऊ घरीघरी मलाई छामेर ओढ्ने मिलाइदिँदै भन्थ्यो, ‘तँलाई उपद्र्याहा ।’

ऊ हँसिया, खुर्पा वा बन्चरो बोकेर गाईवस्तु चराउन माथि जङ्गलतिर उकालो लाग्थ्यो । उसका आँखा छलेर म फटाफट उसका पाइला पछ्याउँथेँ । जब मलाई देख्थ्यो, ङिच्च हाँसेर ऊ भन्थ्यो, ‘तँलाई उपद्र्याहा !’

‘तँ वस्तु हेर्दै गर्,’ पट्टेर घारीबिचको चिल्लो ढुङ्गोमा मलाई बसाएर एक दिन उसले भन्यो, ‘म दाउरा चिर्छु ।’

अलि बेरमा उत्तिसको रुख गल्र्याम्म ढल्यो । रुख गिँडियो र ऊ भकाभक दाउरा चिर्न थाल्यो । तितेपाती घारीमा देख्नु केही छैन, केको वस्तु हेर्नु ! मलाई झपक्क निद्रा लाग्यो र मेरो पालो ढुङ्गाको थाप्लोमै सुतेँ लमतन्न ।

‘कान्छा, तँ छेउमा सुत्छस् कि भित्तामा ?’ ‘छेउमा ।’ ‘भित्तामा सुत् नाथे । तँ मझेरीमा खस्लास् !’ खटनबमोजिम म लुसुक्क चुलाको मुखतिर भित्तामा सुत्थेँ । रातैपिच्छे ऊ घरीघरी मलाई छामेर ओढ्ने मिलाइदिँदै भन्थ्यो, ‘तँलाई उपद्र्याहा ।’

बिचमा त मेरी आमा ! प्रलयै पो भएछ । निधारमा मलाई केको हो चिसचिसो भयो । मैले भ्रमित आँखा उघार्दा संसार चाकाचुलीझैं फनफनी घुम्दै थियो । टोपी भिजाएर ऊ मेरो निधारमा छ्यापछ्याप पार्दै रहेछ ।

‘तँ बौरिस् ?’ हो कि होइन जस्तो उसको स्वर मेरा कानमा गुन्जियो ।

मैले बल्ल चाल पाएँ, म त निद्रामै भिरालो ढुङ्गोबाट पुल्टुङपुल्टुङ गर्दै तल झ्याँसमा गुल्टिन पो पुगेँछु । मेरा आँखामा सहस्र भुमरीको दृश्य फनफनी नाचिरहेकै थियो । यसो हेर्छु त गाँठे, उसका गहभरि टलपलटलपल आँसु पो छन् ।

‘वस्तु हेर्दै गर् भन्या, भनेको नमानी तँ नाथे उँधो मुन्टिने ! तँलाई उपद्र्याहा !’

अब भने म दुखेको चाल पाउन थालेँ । हेर्छु, मेरा कुहिना खोस्सिएका छन्, घुँडा खोस्सिएका छन् । भुँडी दर्फरिएको छ । निधारमा टुटुल्को उठेको छ । निधारैमा रगत रमरम रसाइरहेको घाउ पनि छ । भित्र कताकता छाती दुखिरहेछ ।

बुटीझार माडेर उसले मेरा घाउमा निचोरिदियो । खपिनसक्नु चहर्‍यायो मलाई, तर रन्थनिएर मैले ‘एय्या’ भनिनसक्दै उसले प्वाक्क भन्यो, ‘अझ एय्या भन्छस् ? तँलाई उपद्र्याहा !’

उसले पातको सोलीमा पानी ल्याएर मलाई ख्वायो । ऐँसेलु टिपिदियो, म खान थालेँ । अलिबेर ऊ कतै अलप भयो । अनि चराका मट्याङ्ग्राजत्रा दुइटा फुल लिएर मुसुमुसु हाँस्दै ऊ प्रकट भयो । उसले दर्शनढुङ्गामा झुलो राखेर चकमकले एकै चोटमा आगो पार्‍यो । सुकेका झ्याँस बटुलेर आगो जोर्‍यो । पातमा बेरेर फुल पोल्यो । र बडो विनोदी भाकामा भन्यो, ‘लु खा, केटा । तँ अहिल्यै तगडा हुन्छन् ।’

मैले कुपुकुपु खाएँ, उसले टुलुटुलु हेर्‍यो । र मलाई नलड्ने ठाउँमा सुताएर भन्यो, ‘लु, याँ सुतेर थकाइ मार् । तँलाई उपद्र्याहा !’

घाम डुब्न त्यस्तै एक जुवाजति बाँकी थियो । घरतिर ओरालो लाग्ने सुरले काँधमा हेमानको सुकेको मुढो बोक्दै उसले मलाई सोध्यो, ‘तँ हिँड्छस् कि बोकूँ ?’

‘हिँड्छु ।’

‘सक्लास् के हाव केटा ?’

‘सक्छु ।’

‘सकिनस् भने मलाई भन्नू नि । तँलाई उपद्र्याहा ।’

ओरालोमा अघिअघि सुस्त गतिमा गाईवस्तु झर्दै थिए । पछिपछि दाजु ठ्याँसठ्याँस नाक बजाउँदै हिँड्दै थियो । र उसको पछिपछि सकीनसकी म घिसारिँदै थिएँ ।

‘कान्छा, तँ आउँदै छस् ?’ हात ढाडपछाडि हल्लाउँदै उसले सोधखोज गर्‍यो ।

‘छु,’ मैले भनेँ ।

‘खै, कहाँ छस् तँ ?’

‘इः याँ छु ।’

उसले मेरो भुँडी छाम्यो र मेरो च्युँडो मुसार्‍यो ।

‘राम्रो आँखा हेरेर हिँड् । फेरि लड्लास् नि ! तँलाई उपद्र्याहा !’

मैले बल्ल चाल पाएँ, म त निद्रामै भिरालो ढुङ्गोबाट पुल्टुङपुल्टुङ गर्दै तल झ्याँसमा गुल्टिन पो पुगेँछु । मेरा आँखामा सहस्र भुमरीको दृश्य फनफनी नाचिरहेकै थियो । यसो हेर्छु त गाँठे, उसका गहभरि टलपलटलपल आँसु पो छन् ।

जीवनको नाटकमा दाजु पोथीजस्तो थियो र म थिएँ उसको चल्लो जस्तो । ऊ करुणामयी पखेटा फिँजाएर मलाई छोप्थ्यो । ऊ मलाई सधैँ न्यानो र सुरक्षा दिने यत्न गरिरहन्थ्यो ।

अहिले सानो भए पनि कुलकुल–कुलकुल बगिरहेको कञ्चन नीलो मेची नदीको किनारमा धुवाँको मुस्लोमुनि चितामा मेरो त्यो न्यानो घाम जलिरहेको थियो । जिउ झिल्स्याउने खालको आगाको रापसँग जुध्दै नगिचै गएर यसो हेरेँ, उसको मुखाकृति जलेर सपाट भइसकेछ । अब ऊ निराकार छ । त्यो निराकार अस्थि पनि अब छिट्टै खरानीमा परिणत हुनेछ ।

र फेरि दाजु जल्दा उठेको धुवाँको त्यो मुस्लोले मेरा सुषुप्त सम्झनाका तन्तुहरूलाई ब्युँझायो । असारमास खेतमा रोपाइँ हुँदैथ्यो । उखर्माउलो गर्मी याम थियो त्यो । गोरुका पुच्छर निमोठ्दै, धमिलो पानीमा फुर्तिला लहर उठाउँदै र हिलो गजज्ज पार्दै दाजुले दाँदे कुदाएको रोमाञ्चक दृश्य आँखै नझिम्क्याईकन म हेर्दैथेँ ।

दाँदे कुदाउन मलाई कत्रो रहर थियो, ‘उपद्र्याहा’ दाजु भने मलाई मरिगए दिने होइन । अलिबेर थरक मारेर सुर्ती खान ऊ म भएठाउँ आएर टुक्रुक्क बस्यो । 

‘दाँदे चढ्छस्, केटा ?’ 

‘चढ्छु ।’

‘भो, नचढ् । तँ पाहाझैँ हिलामा पछारिन्छस् ।’

‘नाइँ, चढ्छु ।’

म चढेँ । हिलाम्मे दाँदे चिप्लो न चिप्लो थियो । हात तन्काएर दुईतिरका अनौ अँठ्याएँ ।

‘दह्रो गरी समात् है, केटा ।’

‘हुन्छ ।’

दाजुले गोरूलाई सिर्कनाले स्याँट्ठ हान्दै पुच्छर निमोठ्यो । गोरु एकैचोटि बत्तिए । अनौमा दाजुको पकड फुस्क्यो । र नभन्दै म पाहाझैँ हिलामा झ्वाम्मै पोखिएँ । मलाई दाँदेले लतार्दै परसम्म पुर्‍यायो । मेरी आमा ! आज भने म मरेँ ।

सातोपुत्लो उडेको मेरो मन त्यसैत्यसै कहालियो । आँखामा हिलो, नाकमा हिलो, कानमा हिलो, मुखमा हिलो— म सर्वाङ्ग हिलैहिलो भएँ । मेरा आँखा पोले, नाक निसासियो, कान बजे, मुखमा गन्दे हिलो हुलुक्क भयो । आतेसको भावमा म हिलामा मडारिँदै थिएँ, दाजुले कुद्दै आएर मलाई झ्याइँकुटी खेलाउँदै उता कुलामा पुर्‍यायो ।

म चरीनाङ्गै भएँ । दाजुले मलाई कुलोमा चोबल्यो । जिउको हिलो सनक्क पखालिदियो । लुगा धोइदियो । र भन्यो, ‘लुगा नसुकुन्जेल नाङ्गै बस् । तँलाई उपद्र्याहा !’

परेन कि मलाई आपत् ! रोपाइँमा दिदीहरू छन्, भाउजूहरू छन्, लाठेहरू छन् । नाङ्गैभुतुङ्गै देखेर तिनले मलाई कुरीकुरी गर्दैनन् ? आलीको भित्तोतिर फर्केर लाज छोप्दै म सुँक्कसुँक्क रुन थालेँ ।

‘भो नरो,’ दाजुले मलाई फकायो । र आफ्नो हिलाम्मे दौरा फुकालेर मलाई लाइदियो । ह्वाल्र्याङे दौरा मेरा कुर्कुच्चा मुनिसम्म लत्रियो । मेरो चिसो कपाल मुसार्दै ऊ कित्कित्–कित्कित् हाँस्यो । ‘तँ त भूतजस्तो पो भइस्, हाव केटा । तँलाई उपद्र्याहा !’

चिताको धुवाँको मुस्लोबाट स्मृतिको अर्को लहर उठ्यो । दाजु मैतालु लिन जान ठिक्क पर्‍यो । बा बुढाले मलाई सोधे, ‘ए कान्छा, तँ दाजुको साथी जान्छस् ?’

मलाई खुदो भयो । किन नजानु ! देश पनि हेरिने, मुख पनि फेरिने ।

‘जान्छु,’ जानलाई मैले आफ्नो सानो खुट्टो थपक्क उचालेँ । तमोर नदीतिर ओरालैओरालो ऊ अघि लाग्यो, म उसको पछि लागेँ । जाँदाजाँदै उसले मलाई सोमतको पाठ रटायो— ढोगभेट यसरी गर्नू । बातचित यसरी गर्नू । खित्का छाडेर नहाँस्नू नि केटा, कुटुम्बका अगाडि नाक जाला । भात धेरै मागेर नछाड्नू । गजक्क परेर बस्नू । त्याँ उपद्र्याइँ गरिस् भने खालास् नि चड्कनच्युरा !

वेगवान् तमोर नदीमा नाउ चढेँ । डरले त्यसैत्यसै मुटु काम्यो । र दाजुको पाखुरो च्याप्प समातेँ ।

‘डर लाग्यो ?’

‘लाग्या छैन ।’

‘अझ ढाँट्छस् ? तँलाई उपद्र्याहा !’

नाउमा सकुशल पारि तरियो । डुबेर मरिएन ।

पारिपट्टि किनारमा रुमालबाट पुवाको टपरी झिक्दै उसले सोध्यो, ‘भोक लाग्यो, केटा ?’

‘लाग्या छैन ।’

‘अझ ढाँट्छस् ? तँलाई उपद्र्याहा !’

आमाले पकाइदिएको मिठो पुवा दाजुभाइले खायौँ, चिसो पानी खायौँ र लाग्यौँ अब उकालैउकालो ।

हपहपी गर्मी थियो । उकालोमा मेरो सास बढ्यो । निधारमा पसिनाका धारा छुटे । दाजु लमकलमक गर्दै कहाँकहाँ माथि पुगिसक्यो, म कहाँकहाँ तल छुटेँ ।

‘हाव केटा !’ उँधो फर्केर उसले भन्यो, ‘तँलाई मुस्किल परो ?’

मैले भनेँ, ‘परो ।’

ऊ तल झर्‍यो र हात समातेर मलाई सुस्तरी मास्तिर डोर्‍यायो । अलि माथि पानीको कुवामा पुगियो ।

‘पानी भेट्टियो,’ उसले भन्यो, ‘पुवा खान्छस्, कान्छा ?’

भुँडी पटुस्स छ, केको पुवा खानु ?

‘भो, खान्नँ,’ मैले नकारेँ ।

अलि बेरमा अर्को कुवातिर हेर्दै उसले भन्यो, ‘पानी आयो, पुवा खान्छस्, केटा ?’

यसो हेरेको त ऊ मुसुमुसु हाँसिरहेको पो छ । मेरो पालो च्याँट्ठिएर भन्दिएँ, ‘तैँ खा ।’

‘दाजुलाई त्यसरी मुख छाड्छस्, तँलाई उपद्र्याहा !’

साँझपख दाजुको ससुराली पुग्यौँ । उसका ससुराले पहिले उसलाई ढोगे, अनि त्यसपछि मलाई । के उल्का भा हो यो ! म छक्क परेँ । मान्छे भने त्यत्रो बुढो छ, म फुच्चेलाई घ्याच्च ढोग्छ ।

पछि, मेजमानी भान्सा गरेपछि ससुराले पहिले तेल घसेर दाजुका गोडा मचकमचक मिचिदिए, अनि ममाथि धावा बोल्न आइलागे । काउकुती लागेर मलाई खपिनसक्नुभयो र खुट्टो फुत्त माथि सारेर म डल्लो परेँ । बूढा मापाका रहेछन्, तिनले त मेरो खुट्टो तानेर मलाई फेरि पो काउकुती लाए । इत्तेरिका उपद्र्याहा ससुरा !

‘साना ज्वाइँको गोडो त माछोजसरी पो फुत्क्यो है !’ यसो भनेर बुढा खितित्त हाँसे ।

धत् बूढा ! यो ससुराली भनेको त हैरानीको गुँड पो रहेछ ! आइन्दा म मरिगए आउँदिनँ ।

भाउजूका दुईवटी बहिनी थिए । एउटी मजत्रै, अर्की अलि सानी । भोलिपल्ट बिहान तिनलाई देखाउँदै ससुराले सोधे, ‘साना ज्वाइँ, कुनचाइँ रोज्छौ, लु भन ।’

म अक्क न बक्क परेँ, के भन्ने ? लाजले भित्रभित्रै काउकुती लागेर म डल्लो परेँ ।

‘यल्ले दुइटैलाई उडाउन बेर छैन,’ दाजुले भन्यो । र ऊ कितित्त हाँस्यो ।

‘खाउला है ज्वाइँ कुटाइ,’ उपद्र्याहा ससुरा पनि किच्च हाँसे ।

रिसले मेरो टुप्पीबाट धुवाँ छुट्यो ।

पर्सिपल्ट हामी घरको बाटो लाग्यौँ । दाजु निकै पर अघिअघि छ, म माझमा छु, भाउजू निकै पर पछिपछि छिन् । बोल्नु केही छैन, खालि माटाका मूर्तिझैँ एकसुरले हिँड्या छ, हिँड्या छ । यी कस्ता दाजु–भाउजू होलान् !

तमोर नदी तरेर खलखली पसिना काढ्दै हामी माथि टुनीधाराको चौतारीमा पुग्यौँ । भाउजूले मलाई यसोक्क कोट्याएर भनिन्, ‘बाबु, दाजुलाई खाजा खाने भन त ।’

मैले भनेँ । ऊ बस्यो । भाउजूले खाजा बाँडिन् । दाजुले पूर्वतिर फर्केर खायो, भाउजूले पश्चिमतिर फर्केर खाइन् । 

‘गाँठे !’ मेरो चुलबुले मनमा चञ्चले कुरो खेल्यो— यो लोग्ने–स्वास्नीको जात भनेको अनौठै चिज रहेछ । कामै नलाग्ने ! एक वचन बोल्नु छैन । दाजु उता ठुस्स छ, भाउजू यता गुत्थ ।

उकालोमा म गलेँ । मेरा पिँडुला बटारिए । मेरो चाल घट्यो । अनि दाजुले मलाई हात समातेर सहारा दियो ।

‘भाउजूसित तँ किन नबोल्या ?’ खपिनसक्नु भएर मैले खुलदुली पोखेँ ।

ऊ फिस्स हाँस्यो । मेरो गालो प्याट्ट पड्कायो । र चञ्चल औँलाले मेरो कपाल मुसार्दै भन्यो, ‘मान्छे सानो, कुरा ठूला । तँलाई उपद्र्याहा !’

(०६७ साल) 

अर्को किस्ता पछि ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खगेन्द्र संग्रौला
खगेन्द्र संग्रौला

लेखक एवं वाम चिन्तक/विश्लेषक
 

लेखकबाट थप