शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
रातोपाटी साताको कविता

लक्ष्मी मालीका तीन कविता

शनिबार, ०८ भदौ २०८१, १४ : ४५
शनिबार, ०८ भदौ २०८१

१) आमा, तिम्रो नाम के हो ?

हजुरबा छोरी भन्नुहुन्छ 
मामा दिदी भन्नुहुन्छ 
बाबा श्रीमती भन्नुहुन्छ 
म आमा भन्छु
आमा, तिम्रो नाम के हो ?

म विद्यालय गएँ 
महाविद्यालय गएँ
त्यहाँ तिम्रो नाम चाहिएन
धेरैलाई परिचय दिएँ
कसैबाट तिम्रो नाम सोधिएन
म बालिग भएँ
मताधिकार पाएँ
मेरो परिचयपत्रमा कतै तिम्रो नाम लेखिएन 

म नागरिक भएँ
बाबुकै नामबाट 
म जागिरे भएँ
बाबुकै नामबाट
म बेनाम आमाकी छोरी
भन न आमा, तिम्रो नाम के हो ?

कसैबाट सोधनी नभएको 
कतै उच्चारण गर्ननपरेको
तिम्रो नाम
सार्वजनिक गर्न चाहन्छु म
धर्ती भन्ने उपनाम होइन आमा

मलाई तिम्रै खास नाम चाहिन्छ
भन आमा !
तिम्रो नाम के हो ?
००

२) मेरी छोरी

सिमलको भुवाजस्ती 
मेरी छोरी सुकोमल भइन
मेरी छोरी सहनशील भइन
मेरा पुराना इच्छाहरूको विपरीत 
मेरी छोरी
आगोलाई निषेध गर्ने
पानी र हिउँका ढिक्काहरू भइन

म उसकी त्यस्ती आमा हुँ
जसले ग्रीष्मकालीन घाममा आगो निलेको छ 
यतिखेर सोध्दै छु म आफैँलाई
मेरै दशधारा दुध पिएकी मेरी छोरी 
आवाज र आगोका यामहरूका विपक्षमा 
कसरी मौन र हिउँका ढिक्काहरू हुन सक्छे ?

मुटुभरि सियो

पैतालाभरि काँडैकाँडा बोकेर
आधा रातमा बर्बराउँथेँ म आमा
सास फेर्नका निम्ति हावामा
मेरा लागि धुलो र धुवाँहरू मात्र थिए
ठिक त्यही याममा
मेरो गर्भभित्र दस महिना बसेकी मेरी छोरी
गर्भबाहिरको संसारमा
धुलो, धुवाँ र काँडाहरू विरुद्ध विद्रोह गर्दै छे
मेरा उहिलेका इच्छाहरूको विपरीत
मेरी छोरी फूलको थुँगोजस्ती भइन

मेरो चेतनाको क्षितिजलाई हल्लाउँदै छन्
उसका आवाजहरू
ऊ मलाई भन्दै छे
“म तपाईंका प्राचीन इच्छाहरूमा आगो सल्काउँछु

हाम्रा इच्छाहरूका निम्ति लड्न तयार छु !”

ऊ यत्तिको कठोर हुन्छे भनेर 
अहँ, मैले त सोचेकै थिइनँ !

मैले निलेको आगोको ज्वाला भएर जन्मी ऊ 
मैले पिएको धुँवाको बारुद भएर हुर्की ऊ 
मैले खपेको अपमानको प्रतिफल भएर बढी ऊ 
उसको नसानसामा रगत होइन
आगोका नदीहरू बगेका छन्
उसका आँखाहरूमा घृणा
प्रतिशोध भएर बसेको छ

पिठ्युँमा भारी र 
गर्भमा छोरी बोकेर
सहस्र साहुका बातहरू खाएकी
श्रमशील आमाकी छोरी
सहनशील हुनै नसक्ने रहिछ
सुकोमल हुनै नसक्ने रहिछ
एउटा जीवन्त शिक्षा भएर
प्रस्तुत भएकी छे मेरो अघिल्तिर 
भविष्यकी प्रतिमूर्ति 
मेरी छोरी !
००

३) नछँ गल्ली

भँगेराको चिरबिर स्वरसँगै 
नछँ गल्ली ब्युँझिन्छ
सुनधारा, सङ्कटा र भद्रकालीको 
चहलपहलसँगै
प्रत्येक बिहान मेला लाग्छ 
नछँ गल्लीमा ।
बढारकुँडार, लिपपोत, पानीपँधेरो
ग्वारामरी, चतामरीको लस्कर 
पसल पसलमा मानिसको ओइरो 
दगुरादगुर, हस्याङफस्याङ मर्निङ वाक 
हरेक बिहान मानिसहरू यसरी ओहोरदोहोर
मानौँ मेला लागिरहेको छ नछँ गल्लीमा । 
एउटा परिवार हो नछँ गल्ली
जहाँ आपत्विपत्मा एकै ढिक्का हुन्छन्
कुनै चाडपर्व आउनुअघि नै
चहलपहल सुरु हुन्छ
हरेक चाडपर्व उल्लासमय बन्छ ।

हरेक दिनको मेलामा
हुनेखानेको बाहुल्यता हुन्छ 
हरेक चाडपर्वमा
नयाँ लुगा उनीहरू नै लाउँछन्
मीठामीठा परिकारको भोज 
उनीहरूकहाँ नै बन्दछन् 
यसरी हरेक दिन हरेक वर्ष
हरेक मेला, जात्रा 
चाडपर्वहरूले
गरिबको उपहास गर्छन्
नछँ गल्लीमा ।

यसरी थिचिएका
गरिब बच्चाहरूका आँखाहरू 
टुलुटुलु हेर्छन् आफ्नै साथीहरूले 
लगाएका नयाँ लुगाहरूमा 
टलक्क टल्किने जुत्ताहरूमा
थुक निल्छन्
रछ्यानमा मिल्काएका भोजका लपेसहरूमा 
लपेसमा बचेका दुईचार सिता चिउरा
र हाडका टुक्राहरूमा
यसरी
मैयाँसाहेब र काजीसाहेबहरूबाट किचिएका 
हाकुचा, सियुचा, भुयुचा र मैचाहरूले
दसैँ आएको चाल पाउँछन्
घोडेजात्रा आएको थाहा पाउँछन् 
मेरो नछँ गल्लीमा ।

आफ्ना साथीहरू
हातमा किताब च्यापेर स्कुल गएको देख्दा
टोलाउँदै हेर्छन्
अनि आफूहरूले पनि
हातमा किताब च्यापेको
स्कुल गएको सपना देख्छन्
यसरी
हाकुचा, सियुचा, भयुचा र मैचाहरू
पाङ्ग्रा गुडाउँदै
फोहोरी शब्दमा गाली गर्दै कुस्ती खेल्दै 
जवान हुन्छन् नछँ गल्लीमा ।
०००

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लक्ष्मी माली
लक्ष्मी माली
लेखकबाट थप