शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

सोझो गाउँलेका तीन कविता

शनिबार, ०८ भदौ २०८१, १४ : १३
शनिबार, ०८ भदौ २०८१

१) काफल बेच्ने केटी

अँध्यारो ढलिनसक्दै उकालो लाग्छे
नवजात घामलाई म्वाइँ खाँदै मौरीलेक पुग्छे
र सुकेको रोटी चपाउँदै काफल टिप्छे
जीवन जस्तो घनघोर जङ्गलभित्र
वन्यजन्तुुसित डर लाग्दैन उसलाई
बरु सिकारीसँग डराउँछे
यसरी एकान्तमा एक्लै भेट्टायो भने
बाघले मृगलाई झैँ झम्टिन्छ सिकारीले

 

लक्खान चप्पल लतार्दै ओराले झर्छे
दुख्खको देउडा गाउँदै लेकबेँसी गर्छे
बाख्रा चराउँदा पाठीसित रमाउँछे
गाईलाई घाँस लाउँदा बहरसँग धकाउँछे
जिब्रोमा काँडो गाडेर गुजारा चलाउने हरिना
बस बिसौनी नजिक बसेर
कपडा किन्न काफल बेच्छे

 

जयपृथ्वी राजमार्गसँग जोडिएको
सुकुमबासी बस्ती जस्तो बजारमा
मन अमिलो बनाउँदै
गुलिया काफल बेच्नुपर्छ
किनकि काफल किन्नेको आँखा
काफलको दानामा कम
उसको छातीमा बढी पर्छ

 

पचास रुपियाँ मानोको दरले
एक पाथी काफल बेचिसकेर
पेटिकोट किन्न कपडा पसलमा जाँदा
भदौको राँगो जस्तो पसलेले–
“लुगा सिउने सियोमा धागो छिराउन आउँछ ?”
भनेर चारचोटि सोध्छ
र चारैचोटि उसले
क्षितिजमा उल्झेको आकाश हेर्नुपर्छ

 

साहुको ऋणले थिचेर
सास फेर्न मुस्किल परेपछि
सात फेरो लाएको सात दिनमै
बम्बई लागेको लोग्ने
दिल्लीकी देस्यानीसित सल्किएर
उतैतिर हरायो
न फर्केर आउँछ
न रैबार पठाउँछ
मात्र सुइनामी बोलाउँछ
बेकारमा मध्यरातमा जगाउँछ

 

अग्लो डाँडाले छेकेको छ माइती गाउँ
त्यहीँ डाँडाजस्तै छ माइतीको मन
जहाँबाट आइरहन्छ एउटै सन्देश–
“घर खा छोरी घर खा !”
यता बैँसको बोझले थिचिएको हरिना
कुलको इज्जत जोगाउन
माइतीको नाक बचाउन
अस्पतालको वार्ड जस्तो घरमा
बुढी सासू रुँगेर बसेकी छे

 

पढाइ छुटाएर परिवारले
पन्ध्र वर्षमै कन्यादान गरिदियो
अपरिचित युुवकलाई जीवन सुम्पेर
जन्मघरबाट बिदा भएकी थिई
तर अल्जाइमरको बिरामीले झैँ
बिर्सियो बैगुनीले उसलाई
बैगुनीले बिर्सिएको थाहा पाएपछि
डस्न थालेका हुन् पराई आँँखाहरूले

 

जिन्दगीको यस्तो जोखिमपूर्ण यात्रामा
कहिलेसम्म एक्लै हिँड्न सक्छे ऊ ?

 

सैपालको शिरमा जमेको हिउँ जस्तो उसको जवानी
कुनै बिरानो बादलले जुनसुकै बेला पगालिदिन सक्छ
खप्तडको पाटनमा फुलेको भुइँफूलजस्तो उसको परानी
कुनै विषालु शीतले जुनसुकै बेला सुकाइदिन सक्छ
कर्नालीको तीरमा थुप्रिएको बालुवाजस्तो उसको जिन्दगानी
कुनै बौलाहा हुरीले जुनसुकै बेला उडाइदिन सक्छ

 

शिशिरको सिरेटोजस्तो लाग्छ उसलाई समय
डढेलोले खाएको वनजस्तो लाग्छ गाउँघर
सेतीको बगरजस्तो लाग्छ जिन्दगी
र लुटेरा समूहजस्तो लाग्छ
उसलाई यो नकाबधारी दुनियाँ
तर धरतीको छातीमा टाउको राखेर
रुन सक्दिन ऊ !

 

भासुको भिरजस्तो भविष्य देखेर
मन बेचैन भइरहन्थ्यो उसको
तेल्यालेक नाघेर आएको बताससँग
अन्तिमपटक बात मारेपछि
उद्वेलित भएकी हरिना
अब पनि सासूकै छायामा सुस्ताउँछे ?
या नौडाँडा काटेरै भए पनि मुस्काउँछे ?
अथवा
काफलको हाँगोमा अस्ताउँछे ?
००

 

२) डोको बुन्ने दाइ

 

जसले हुरीसँग मितेरी लायो
भिरलाई जिन्दगीको गोरेटो बनायो
भुमरीमा पनि उभिन सक्ने
महान् योद्धाका अगाडि
यी अग्ला–अग्ला हिमालहरू
कति होँचा र पुड्का लाग्छन्
सगरमाथा तिम्रो कम्मरमुनि देखिन्छ
डोको बुन्ने दाइ !
सबैभन्दा शक्तिशाली मानिस हौ तिमी
कमजोर नठान आफूलाई

 

जसले पखान खोदेर पानी निकाल्यो
बन्जरलाई बस्तीमा बदल्न
जसले पसिनाको बादल खसाल्यो
उसैलाई खडेरीले खाएको देख्दा
यी हरिया हरिया पहाडहरू
कति सुक्खा र उजाड लाग्छन्
माहुरीले तिमीलाई गुरु मानेको छ
डोको बुन्ने दाइ !
सृष्टिकै श्रेष्ठ प्राणी हौ तिमी
अभिशप्त नसम्झ आफूलाई

 

सीपको बदला जसले सजाय पायो
सापटीमा जसले सर्वस्व गुमायो
पेटको घाउ दुखेर उसको
आँखाको बाढी जब उर्लेर आउँछ
यी स्वच्छ र निर्मल नदीहरू
कति फोहोर र दूषित लाग्छन्
तिम्रा धमिला आँसु निख्रिएर
बनेको हो निलो समुद्र
डोको बुन्ने दाइ !
मेघ भएर गर्जिनुपर्छ अब
वाष्पीकरण गर आफूलाई

 

विधेयक र अध्यादेशका मस्यौदाले जहाँ
व्यापारीले आफ्नो डायरी भर्छ
समाजवादी पार्टीको सरकारले जहाँ
बहुराष्ट्रिय कम्पनीको विज्ञापन गर्छ
कात्रो किन्दा पनि कमिसन खोज्ने
कुनै घुस्याहा मानिसजस्तो
यो सिङ्गो विश्व व्यवस्था
कति भ्रष्ट र निकृष्ट लाग्छ
बाँस चिर्दा चिर्दा आफैँ चिरा चिरा भयौ
डोको बुन्ने दाइ !
चिर्नैपर्ने चिज अर्कै रहेछ
अर्जापेर राख आफूलाई

 

माटो मुछ्नेहरूको मुटुमा नङ्ग्रा गाडेर
जहाँ गिद्धले लान्छ
भुइँ पुछ्नेहरूको आन्द्राभुँडी सोहोरेर
जहाँ ब्वाँसोले खान्छ
जहाँ मान्छेले मान्छेलाई स्वादले चपाउँछ
मान्छेकै खुन खाएर जहाँ मान्छे मताउँछ
सपनामा समेत तर्साउन आउने
अत्याचारी शासकको अनुहारजस्तो
यो सभ्यता र समृद्धि
कति क्रुर र बर्बर लाग्छ
भालुसँग भिडेर जसरी
निगाला ल्याउँछौ लेकबाट
डोको बुन्ने दाइ !
आसुरी युगसँग लडेर त्यसैगरी
एक एक हिसाब लिनुपर्छ
इस्पात बनाऊ आफूलाई

 

प्रभुका चरणमा प्रसाद चढाएपछि
जहाँ सारा पाप मोचन हुन्छ
कालोलाई सेतो बनाउन जहाँ
अनेक प्रपञ्च रचिन्छ
भगवानको नाममा भावनाको व्यापार हुने
यी मन्दिर, मस्जिद, गुम्बा र चर्चहरू
कति कुरूप र अपवित्र लाग्छन्
चोया गाँछेर बुनेका हौ तिमीले
यो डालोजस्तो दुनियाँ
ए डोको बुन्ने दाइ !
असली ईश्वर त तिमी रहेछौ
मेरो सलाम छ तिमीलाई ।
००

 

३) आँसुले भिजेको मरुभूमि

 

आमाको मायाजस्तो घाम उतै छ
बाबाको छायाजस्तो जून उतै छ
पे्रयसीको स्पर्शजस्तो हावा
र बहिनीले बनाएको सर्बतजस्तो
पानी उतै छ
सम्झनाको तरेलीमा अल्झिएको
एक मुठी सास छ मसँग यहाँ

 

खल्तीको घाउ दुखेर खपिनसक्नु भएपछि
हजुरबाको हस्तीहाड बन्दकी राखेर
आँसु लुकाउँदै अरब आएको हुँ
आगो पठाउन अँगेनोमा
भोकको भूकम्पले हल्लाएपछि घरको जग
पुरै जिन्दगी दाउमा लगाएर
कलिलो उमेरमा गाण्डीव उठाएको हुँ
प्राण बचाउन परिवारको

 

जीवनको जङ्गलमा सपनाका सुसेलीहरू हाल्दै
आफ्नै आगनमा वसन्त बोलाएर
बैँसको गीत गाउनुपर्ने बेला
बिरानो बस्तीमा आएर
आँसु बगाइरहेको छु
समयको सागरमा सम्भावनाको डुङ्गा खियाउँदै
विश्वविद्यालयका उज्याला भित्ताहरूमा
सुन्दर भविष्य सजाउनुपर्ने बेला
तातो बालुवामा छाती धसिरहेको छु

 

बाँझो पल्टाइरहेको गोरुले
निर्दयी हलीको चुटाइ खाएझैँ
अर्बबको लगातारको लात सहनुपर्दा
सुरु–सुरुमा अमरसिंहको आत्माले
आफूलाई धिक्कारेजस्तो लाग्दथ्यो
उँटहरूको बथानमा बर्सौं बिताउँदा
कतिबेला आफैँ उँट भइसकेछु
अब त यातनाहरू मेरा लागि
घोडालाई कोर्रासरह भएका छन्

 

अदक्ष डाक्टरहरूको असफल उपचारद्वारा
भेन्टिलेटरमा पु-याइएको देशलाई
आवश्यक अक्सिजन जुटाउन
पचास डिग्री सेन्टिग्रेडमा म
मरुभूमिमा परेड खेलिरहेछु
हरेक वर्ष बर्खा लागेपछि
सपनाको खेती गर्ने सरकार
रगतसँग साँटेको रेमिटान्समा
-याल चुहाइरहेछ ।।
०००


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सोझो गाउँले
सोझो गाउँले
लेखकबाट थप