शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

‘जनतामा छाएको निराशालाई अन्त्य गर्न जरुरी छ’

शनिबार, ०८ भदौ २०८१, १४ : ०९
शनिबार, ०८ भदौ २०८१

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुकले राखेको आर्थिक विकासको लक्ष्य पूरा गर्न ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको विकास आवश्यक रहेको बताएका छन् । आज मन्त्रालयमा आयोजित कार्यक्रममा  उनले मुलुकले राखेको आर्थिक विकासको लक्ष्य पूरा गर्न कर्मचारीले जिम्मेवार ढङ्गले कार्यसम्पादन  गर्नुपर्ने बताए ।

“ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको अधिकतम सदुपयोग गरेर मुलुकले राखेको आर्थिक विकासको लक्ष्य प्राप्ति पूरा गर्न सकिन्छ, यसका लागि कार्यक्षेत्रमा खटिने कर्मचारीको महत्वपूर्ण भूमिका रहन्छ”, उनले भने । मन्त्री खड्काले मन्त्रालयभित्र एक ठाउँबाट अर्को ठाउँमा सरुवा हुने प्रक्रिया स्वभाविक भएकाले आफ्नो दायित्व निर्वाह गर्नेगरी नतिजामुखी काम गर्नुपर्ने बताए । उनले भने, “जनतामा छाएको निराशालाई चिर्न जरुरी छ ।”

उनले विगतमा भएका पूर्वाधार निर्माणलाई पूरा गर्ने काममा जुट्नुपर्ने बेला आएको बताए । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गर्नेगरी कर्मचारीले काम गर्नुपर्ने बताए । उनले आयोजनाको टेण्डर प्रक्रियालाई चाँडो टुङ्याएर अगाडि बढे तोकेभन्दा चाँडो काम सम्पन्न हुने उल्लेख गरे ।

ऊर्जासचिव गोपालप्रसाद सिग्देलले विद्युत् उत्पादन हुनसक्ने सिँचाइका आयोजनालाई चाँडो निर्माण सम्पन्न गर्नतर्फ लाग्नुपर्ने बताए । उनले स्थानीय सरकार र प्रदेश सरकारबाट नदी दोहन हुने तर संरक्षण नहुँदा ठूलो विपद्का घटना घटेको बताए ।

जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडीले बजेटको सुनिश्चितता भएमा समयमा नै आयोजना सम्पन्न हुने बताइन् । उनले किसानको खेतमा पानी नपुगे लक्ष्य हासिल नहुने भएकाले लक्ष्य प्राप्तिका लागि काम गर्नुपर्ने बताइन् । उनले राष्ट्रिय गौरवका आयोजनालाई आफ्नो प्रगति विवरण १५÷१५ दिनमा बुझाउन निर्देशन दिइन् ।

जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जीव बरालले उत्पादकत्व बढाउनका लागि राष्ट्रिय गौरवका आयोजनालाई तीव्र गतिमा सम्पन्न गर्नुपर्ने बताए । उनले आयोजना निर्माणमा देखिएका समस्या समाधानमा विभागले काम गर्ने उल्लेख गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप