आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

नेपाल प्रकृति र दैवीय शक्तिको जीवित उदाहरण हो : मन्त्री पाण्डे

शनिबार, ०८ भदौ २०८१, १२ : ०२
शनिबार, ०८ भदौ २०८१

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति, पर्यटन र उड्डयनको चक्र निर्माण गरी विश्वभरका आगन्तुकहरूलाई नेपालका धार्मिक स्थलहरूको पवित्रताको सहज अनुभूति गराउने वातावरणको निर्माणका लागि सहकार्य गर्न आव्हान गरेका छन् । 

भारतको गुजरातमा आयोजित आठौँ धर्म–धम्ब सम्मेलनलाई शुक्रबार साँझ सम्बोधन गर्दै उनले नेपालका पशुपतिनाथ, हलेसी र मुक्तिनाथ तथा भारतको काशीस्थित शान्तिस्तुपा दुई देशबिचका साझा सम्पदाहरू रहेको उल्लेख गर्दै नेपालमा यस सम्मेलनको भावना प्रतिविम्बित हुने खालको आध्यात्मिक अनुभूति गर्न सकिने उल्लेख गर्दै सम्मेलनका सहभागीहरूलाई नेपाल भ्रमणमा आउन निम्तो दिएका थिए ।

भुटान श्रीलङ्का लगायतका देशका मन्त्रीहरू र अन्य देशका धार्मिक विचारकहरूको ठुलो सङ्ख्यामा सहभागिता रहेको सो सम्मेलनमा मन्त्री पाण्डेले एकता र विविधता नै हाम्रो परम्पराको आधारभूत मान्यता भएको बताउँदै शान्ति र करुणको प्रतीकको रूपमा नेपालमा धर्म र धम्बका सिद्धान्तहरू सदियौँदेखि व्यवहारमा रहेको कुरामा जोड दिए । 

सम्बोधनका क्रममा उनले भने, ‘हाम्रा मनमोहक हिमाल, पवित्र तीर्थस्थलहरू तथा सांस्कृतिक सम्पदाहरूले ब्रह्माण्डीय शक्ति र दैवीय उपस्थितिको झल्को दिई रहेका छन् तसर्थ नेपाल प्रकृति र दैवीय शक्तिको जीवित उदाहरण हो ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको हैसियतमा हाम्रा आध्यात्मिक सम्पदाहरूको संरक्षण प्रवर्द्धन गर्ने निर्णय गरेको उल्लेख गर्दै उनले अगाडि भने,‘म हाम्रो संस्कृति, पर्यटन र उड्डयनको चक्र निर्माणका लागि अन्तर देशीय पूर्वाधार निर्माण र आवागमनको सुदृढीकरण, धार्मिक पर्यटनको प्रवर्धनका साथै विश्वभरका आगन्तुकहरूलाई हाम्रा धार्मिक स्थलहरूको पवित्रताको सहज अनुभूति गराउने वातावरणको निर्माणका लागि सहकार्य गर्न आव्हान गर्दछु । सायद यहि नै धर्म–धम्ब परम्पराको वास्तविक अर्थ प्रतिको योगदान हुने छ ।’

इन्डिया फाउन्डेसनको पहलमा भारतको गुजरातमा आयोजित सम्मेलनमा धर्म–धम्म हिन्दु र बौद्ध सभ्यताहरूबीच सदियाैँदेखि स्थायी निरन्तर रूपमा निकट रहेका विचारहरू भएको र जुन आज पनि सान्दर्भिक भएको बताइएको थियो  ।

अहिलेको बदलिँदो विश्यमा यी दुई विचार बिचको सम्बन्धको पहिचानमा ध्यान केन्द्रित गर्ने उद्देश्यले यो सम्मेलन आयोजना गरिएको हो । यो सम्मेलनको मुख्य उद्देश्य यी दुई विचारबिच क्रस पोलिनेशन गराउने र दुई प्राचीन सभ्यताहरू बिचको सद्भाव बढाउँदै धर्म–धम्म स्वतन्त्रताको वास्तविक महोल खडा गर्ने रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप