केनेडीद्वारा ट्रम्पलाई समर्थन गर्ने घोषणा, सँगै मञ्चमा देखिए
एरिजोना । अमेरिकी राष्ट्रपतिका स्वतन्त्र उम्मेदवार रोबर्ट एफ केनेडी जुनियरले अब डोनाल्ड ट्रम्पलाई समर्थन गर्ने घोषणा गरेका छन् । योसँगै केनेडी जुनियरले आफ्नो उम्मेदवारी पनि फिर्ता लिएका हुन् ।
एरिजोनामा आयोजित र्यालीमा उनले डोनाल्ड ट्रम्पसँग स्टेज पनि सेयर गरेका थिए । केनेडी जूनियर पूर्व अमेरिकी राष्ट्रपति जोन एफ केनेडीका वंशज हुन्। ७० वर्षीय केनेडी यसअघि डेमोक्रेटिक पार्टीका सदस्य थिए तर सिद्धान्तको द्वन्द्वका कारण उनले पार्टी छाड्ने निर्णय गरेका थिए ।
र्यालीको मञ्चमा स्वागत गर्दै डोनाल्ड ट्रम्पले केनेडीलाई अभूतपूर्व र प्रतिभाशाली नेताको रूपमा पनि वर्णन गरे। शुक्रबार कमला ह्यारिसले शिकागोमा डेमोक्र्याटिक पार्टीको अधिवेशन कार्यक्रममा राष्ट्रपतिको उम्मेदवारी स्वीकार गरेकी थिइन्। उनले अमेरिकीहरूलाई ट्रम्पलाई समर्थन नगर्न पनि आग्रह गरेकी थिइन्।