शिखर धवनद्वारा अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट संन्यासको घोषणा
काठमाडौँ । भारतीय ओपनिङ ब्याट्सम्यान शिखर धवनले शनिबार अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । बायाँ हाते ब्याट्सम्यानले सामाजिक सञ्जालमा आफ्ना फ्यानहरूलाई भावुक भिडियो पोस्ट गर्दै सबै प्रकारका अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट संन्यासको घोषणा गरेका हुन् ।
धवनले पछिल्लो पटक भारतका लागि २०२२ मा एकदिवसीय सिरिज खेलेका थिए। तर पछिल्ला दिनमा शुभमन गिल र अन्य युवा ब्याट्सम्यानको प्रदर्शनका कारण उनले टोलीमा आफ्नो स्थान गुमाएका थिए ।
धवनले भारतका लागि ३४ टेस्ट, १६७ एकदिवसीय र ६८ टी–२० खेल खेलेका छन्। उनले अहिलेसम्म ५० ओभरको एकदिवसीय खेलमा ६७९३ रन बनाएका छन् भने उनको औसत ४४.११ रन रहेको छ ।
उनले टेष्ट खेलमा ४०.६१ रनको औसतमा २३१५ रन बनाएका छन् । भिडियोमा उनी भन्छन्, ‘आज म यस्तो बिन्दुमा उभिएको छु जहाँबाट फर्केर हेर्दा सम्झना मात्रै देखिन्छ र अगाडि हेर्दा सारा संसार देखिन्छ । मसँग सधैँ एउटै गन्तव्य थियो, भारतबाट खेल्ने र त्यो पूरा पनि भयो। जसको लागि म धेरै मानिसहरूलाई धन्यवाद दिन्छु। सबैभन्दा पहिले मेरो परिवार। मेरो बाल्यकालका प्रशिक्षक तारक सिन्हाजी, मदन शर्माजी, जसको नेतृत्वमा मैले क्रिकेट सिकेँ। त्यसपछि मेरो टोली जससँग मैले वर्षौंसम्म खेलेँ। मैले एउटा परिवार पाएँ। नाम पाएँ र सबैको माया पाएँ।’
उनले भने, ‘तर कथामा अगाडि बढ्नको लागि पाना पल्टाउनुपर्छ भनिन्छ । त्यसोभए, म पनि त्यसै गर्न जाँदैछु। म अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट संन्यासको घोषणा गर्दैछु।’ धवनले भारतका लागि २६९ अन्तर्राष्ट्रिय खेल खेलेका छन् जसमा उनको नाममा २४ शतक छ। उनी यस वर्षको आईपीएल २०२४ मा पञ्जाब किंग्सको कप्तानीमा देखिएका थिए। साथीहरुले उनलाई ‘गब्बर’ भनेर सम्बोधन गर्दै आएका छन् ।
धवन एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ४० भन्दा बढीको औसतमा पाँच हजारभन्दा बढी रन बनाउने विश्वका आठ ब्याट्सम्यानमध्ये पर्छन्। यी खेलहरूमा उनको स्ट्राइक रेट ९० भन्दा माथि रहेको छ । यो सूचीमा भारतीय ब्याट्सम्यानमा रोहित शर्मा र विराट कोहली मात्र परेका छन् ।
शिखर धवनले टेस्टमा धमाकेदार डेब्यू गरेका थिए । आफ्नो टेस्ट करियरको सुरुमा उनले पहिलो खेलमा अस्ट्रेलियाविरुद्ध शतक प्रहार गरेका थिए। मोहालीमा भएको यो टेस्टमा उनले ८५ बलमा शतक बनाएका थिए । यो कुनै पनि डेब्यु गर्ने ब्याट्सम्यानको सबैभन्दा छिटो शतक हो । यो खेलमा उनले १८७ रन बनाए र यो खेल भारतको पक्षमा गयो ।
सन् २०१३ धवनको करियरको शिखर थियो। यो वर्ष उनले एकदिवसीय खेलमा ५०.५२ को औसत र ९७.८९ को स्ट्राइक रेटमा ११६२ रन बनाए । उनले यो वर्ष च्याम्पियन्स ट्रफीमा भारतको जितमा पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनले च्याम्पियन्स ट्रफीको पाँच इनिङ्समा ३ सय ६३ रन बनाएका थिए जसमा दुई शतक थियो ।
यो प्रतियोगिताबाट नै उनी रोहित शर्मासँग ओपनिङ ब्याट्सम्यानको रुपमा जोडिएका थिए । ओपनिङ ब्याट्सम्यानको जोडीको रूपमा, उनीहरूले एकदिवसीय क्रिकेटको चौथो उत्कृष्ट पारी खेले। यो सचिन तेन्दुलकर र सौरभ गांगुली पछि भारतको सबैभन्दा सफल ओपनिङ ब्याटिङ जोडी साबित भयो।