बिहीबार, २० मङ्सिर २०८१
ताजा लोकप्रिय

गीतसङ्गीतमा अब सेन्सर चाहियो – गौतम

शनिबार, ०८ भदौ २०८१, ०८ : ५५
शनिबार, ०८ भदौ २०८१

काठमाडौँ । तीजलाई लक्षित गर्दै निर्माण गरिएको गायिका कविता अर्यालको ‘तीजका गीत कस्ता बने’ बोलको गीत लोकार्पण गरिएको छ । शुक्रबार राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले ललितपुर स्थित न्यु मिलेनियम स्कुलमा आयोजना एक कार्यक्रममा वरिष्ठ लोकगायक तथा चलचित्र निर्देशक नारायण रायमाझी, विशिष्ट अतिथि प्रतिनिधि सभा सदस्य सोभिता गौतम, चलचित्र पत्रकार सङ्घका उपाध्यक्ष कुबेर गिरीलगायतले सामूहिक लोकार्पण गरे ।

कार्यक्रममा गीतको भिडियो पनि देखाइएको थियो । भिडियो हेरिसकेपछि प्रमुख अतिथि रायमाझीले गायिका कविताले मौलिकतालाई ध्यान दिएर गीत निर्माण गरेकोमा धन्यवाद दिए । पछिल्लो समय तीजको मर्म बोल्ने गीतहरू कम भएकाले यस्ता गीत बन्नुपर्नेमा जोड दिए । रायमाझीले पहिले चेलीको कथा तीजका गीतमा आउँथे तर अहिलेका गीतमा त्यो मर्म नभेटिएको भन्दै श्रृष्टा आफै सुध्रिनुपर्ने बताए ।

‘केहि समय अघिसम्म दुर्गेश थापाको गीत आउँदा विकृति ल्यायो भन्थे तर अहिले ती भन्दा कस्ता कस्ता गीत आएका छन् । जुन गीतहरू सुन्न पनि अप्ठ्यारो लाग्छ’ रायमाझीले भने । 

यस्तै प्रतिनिधि सभा सदस्य सोभिता गौतमले तीजको इतिहास आजको गीतबाट जान्ने मौका पाएको बताइन् । उनले भनेकी छिन्, ‘यो तीजको गीत मात्र नभएर इतिहास बनेर बस्नेमा विश्वास लिएकी छु ।’

‘देश बदलिन, समाजमा रहेका हरेक व्यक्ति बदलिनु आवश्यक छ । समाजका हरेक क्षेत्रका व्यक्तिको नेतृत्व बदलिनु पर्छ । त्यसमा पनि कला क्षेत्रमा रहेका व्यक्तिहरूले समाज परिवर्तनमा ठुलो भूमिका खेल्छन् । त्यसैले कलाकर्मीले विशेष ध्यान दिनुपर्छ’ गौतमले भनिन् । ‘लोकतन्त्र छ भन्दैमा मनपरी गर्न पाइँदैन, समाजलाई बिथोल्न पाइँदैन ।’ 

उनले पछिल्लो समय देखिएको विकृतिले गीतसङ्गीतमा पनि चलचित्रमा जस्तै सेन्सरसिपको आवश्यकता महसुस भएको बताइन् । उनले भनेकी छिन्, ‘चलचित्रलाई नियमन गर्न सेन्सर गर्ने निकाय छ । यस्तै गीतसङ्गीतलाई पनि नियमन गर्ने निकायको आवश्यक महसुस भएको छ ।’ 

कार्यक्रममा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका संस्थापक अध्यक्ष गोविन्द गिरीले पहिले चेलीका वेदना तीजका गीतमा आउने गरेको तर अहिले उत्ताउला, उटपट्याङ गीतलाई तीज गीतको नाम दिने गरिएको भन्दै त्यस्ता काम नगर्न श्रष्टाहरुलाई अनुरोध गरे । 

यस्तै चलचित्र पत्रकार सङ्घका उपाध्यक्ष कुबेर गिरीले पछिल्लो समय गीतहरू व्यावसायिकतामा बढी केन्द्रित भएपछि विकृति आउने रहेछ भन्दै त्यो कुरालाई स्वयम श्रष्टाले नै सेन्सर गर्नुपर्ने बताए । साथै गायिका कविता अर्यालले मौलिकतालाई ध्यानमा राखेर गीत सार्वजनिक गरेकोमा बधाई दिए । 

गायिका कविता अर्याल आफ्नो नयाँ गीतको सन्दर्भमा बोल्दै सधैँ आफूले मौलिकतामा ध्यान दिएको बताइन् । ‘गीत भनेको सोचाई हो । मानिसले आफ्नो सोचाइमा आएको कुरा व्यवहारमा देखाउँछ । अहिलेको समयमा तीजका गीत कस्ता आए भन्ने कुरामा तीजको समयमा आउने गीतमा तीज विशेष मौलिकता झल्किनुपर्छ । तीजका गीत डिस्कोमा नाच्ने खालका हुनु हुँदैन । डिस्कोका गीत देखी भजनका गीतका आफ्नै महत्त्व छ र तीजको पनि आफ्नो महत्त्व छ’ गायिका अर्यालले भनिन् । 

संस्थाका सचिव कमल सरगम चौलागाईंले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष हरि दुलालले स्वागत मन्तव्य राखेका थिए ।

सार्वजनिक गीत गायिका स्वयमको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप