शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय
सहकारी ठगी प्रकरण

सहकारी छानबिन समितिद्वारा ५० जनासँग सोधपुछ, रविले दिए ५१ प्रश्नको जवाफ

शुक्रबार, ०७ भदौ २०८१, २३ : ४२
शुक्रबार, ०७ भदौ २०८१

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सहकारी ठगी प्रकरणसँग जोडिएका ५० जनासँग सोधपुछ गरेको छ । समितिका सभापति सूर्य थापाका अनुसार सहकारी ठगेको आरोपमा जेल सजाय भोगिरहेका २० जनासहित शुक्रबारसम्म ५० जनासँग बयान लिइएको हो । 

सभापति थापाले बचत अपचलन, ठगी र यसको समाधानबारे छलफल गरेर तथ्यको आधारमा सत्यमा पुग्नका लागि कोसिस भएको दाबी गरे । उनले भने, ‘अहिलेसम्म ५० जनासँगको सोधपुछ भयो ।  जेलभित्रबाट २० जना ल्याइएको छ । राजधानी र बाहिरबाट पनि बोलाएर छलफल गरेका छौँ । बचत अपचलन, ठगी र यसको समाधानबारे छलफल गरेर तथ्यको आधारमा सत्यमा पुग्नका लागि कोसिस भएको छ ।’

थापाले सहकारी क्षेत्रमा यस ढङ्गले  यसअघि छलफल नभएको समेत बताए । ‘सहकारी क्षेत्रमा यस ढङ्गले पीडक र पीडितसँग, आन्दोलनकारीसँग जिम्मेवार निकायसँग, व्यक्ति र संस्थाहरूसँग यति सघन छलफल विगतमा भएको थिएन,’ उनले भने । 

उनले शुक्रबार पूर्व गृहमन्त्री रवि लामिछानेसँग पनि बयान लिइएको बताउँदै उनलाई ५१ वटा प्रश्न सोधिएको जानकारी दिए । लामिछानेले सबै प्रश्नमा सविस्तार जवाफ दिएका छन् ।

उनले दिएको जवाफ जस्ताको तस्तै पेस गर्ने समेत सभापति थापाले बताए । उनले भने, ‘उनले दिएको जवाफ जस्ताको तस्तै हामी पेस गर्छौँ । प्रतिवेदनमा लेखनमा पनि समावेश गर्छौँ । अनुसूचीमा पनि राख्छौँ ।’

यसैबीच समितिको बैठकमा लामिछानेले आरोपहरु अस्वीकार गरेका छन् । प्रश्नहरुको क्रमैसँग जवाफ दिनेक्रममा उनले गोरखा मिडिया नेटवर्कमा सहकारीबाट आएको ऋणको जिम्मा लिन आफू बाध्य नहुने बताएको समितिका एक सदस्यले बताए । 

उनले आफूले गोरखा मिडिया नेटवर्कमा कुनै लगानी नगरेको भन्दै १५ प्रतिशत ‘स्वेट सेयर’ लिएको बयानको क्रममा बताए ।  लामिछानेले समितिमा बयान दिँदै आफूले मिडियामा एक रुपैयाँ पनि लगानी नगरेको दाबी गरेको  समितिका एक सदस्यले रातोपाटीलाई जानकारी दिए ।

शुक्रबार अपराह्न करिब ४ बजेदेखि बयानका लागि सिंहदरबारस्थित समितिको बैठकमा उपस्थित लामिछानेसँग ११ बजेसँग सोधपुछ भएको थियो । बयानपछि उनी सम्बन्धित कागजातमा हस्ताक्षर गरेर निवासतर्फ फर्किएका थिए ।

सभापति थापाले सहकारीसँग सम्बन्धित २३ जना फरार व्यक्तिलाई अझै छानबिनको दायरामा ल्याउन नसकिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप