१० बजे, १० समाचार
आज मिति २०८१ साल भदौ महिनाको ७ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–
१.समितिमा लामिछाने
ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गोरखा मिडिया नेटवर्कमा सहकारीबाट आएको ऋणको जिम्मा लिन आफू बाध्य नहुने बताएका छन् ।
शुक्रबार सहकारी बचत अपचलनसम्बन्धी संसदीय विशेष छानबिन समितिमा बयान दिँदै उनले आफूले गोरखा मिडिया नेटवर्कमा कुनै लगानी नगरेको भन्दै १५ प्रतिशत ‘स्वेट सेयर’ लिएको बयानको क्रममा बताएका हुन् ।
लामिछानेले समितिमा बयान दिँदै आफूले मिडियामा एक रुपैयाँ पनि लगानी नगरेको दाबी गरेको समितिका एक सदस्यले रातोपाटीलाई जानकारी दिए ।
२. कांग्रेस बैठक
नेपाली कांग्रेसके केन्द्रीय समिति बैठक फेरि भदौ १२ गतेसम्म स्थगित भएको छ । केन्द्रीय समिति बैठकमा दुई महामन्त्रीको प्रस्तावबारे सहमति नजुटेपछि फेरि बैठक स्थगित गरेको बताइएको छ। यसअघि पनि सोही प्रस्तावबारे अन्योल उत्पन्न भएपछि बैठक स्थगित गरेर शुक्रबार बसेको थियो ।
शुक्रबारको बैठकमा परराष्ट्रमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाले आफ्नो भारत भ्रमणबारे केन्द्रीय समिति बैठकलाई ब्रिफिङ गरेकी छन् ।
बैठकबारे थप समाचार
३. बस दुर्घटना
तनहुँको आबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित मस्र्याङ्दी नदीमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ । शुक्रबार भारतीय नम्बर प्लेट–७६२३ को बस मस्र्याङ्दी नदीमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २७ पुगेको हो ।
४. सर्वोच्चको फैसला
सर्वोच्च अदालतको संवैधानिक इजलासले २०७९ सालमा भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनसँग सम्बन्धित मुद्दा खारेज हुने फैसला सुनाएको छ ।
बुधबार सर्वोच्च अदालत अन्तर्गत संवैधानिक इजलासमा पेसी चढेका ती मुद्दाको औचित्य सकिएको भन्दै खारेज हुने फैसला सुनाएको हो ।
आम निर्वाचन २०७९ सँग सम्बन्धित ती रिट निवेदनमा पुनः मतगणनादेखि पुनः निर्वाचनसम्म माग गरिएको थियो । तर सर्वोच्च अदालतका प्रधान न्यायाधीशसमेत सामेल हुने संवैधानिक इजलासले निर्वाचन सकिएको २१ महिनापछि ती मुद्दाको औचित्य नभएको ठहर गरेको हो ।
५. आयोगको पत्र
राष्ट्रिय मानवअधिकार आयोगले भ्रष्टाचारजन्य कसूरमा हदम्यादका आधारमा उन्मुक्ति हुने गरी ऐन संशोधन नगर्न अनुरोध गरेको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा भ्रष्टाचारजन्य कसूरमा हदम्यादका आधारमा उन्मुक्ति हुने गरी ऐन संशोधन प्रस्ताव अगाडि बढाइएकोबारे आयोगको गम्भीर ध्यानाकर्षण भएको भन्दै उन्मुक्ति हुनेगरी ऐन संशोधन नगर्न भनेको हो ।
साथै आयोगले हदम्यादका आधारमा उन्मुक्ति हुने गरी ऐन संशोधन प्रक्रिया अगाडि नबढाउन प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिलाई पत्राचार गरेको प्रवक्ता डा टीकाराम पोखरेले जानकारी दिए ।
६. मन्त्रिपरिषद्को निर्णय
सरकारले विज्ञापन बोर्ड र सुरक्षण मुद्रण केन्द्रमा गरी आर्थिक वर्ष २०८१–८२ का लागि १६ अधिकृतस्तरको अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
२०८१ भदौ ६ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सो जानकारी गराएका हुन् ।
७. रविमाथि मुकुलको अर्को फायर
रास्वपा निलम्बित महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेलाई भ्रष्टाचारी‚ राहदानी दुरुपयोग गरेर अपराध गर्ने ठग हो भनेर प्रमाणित गर्न सक्ने भन्दै पार्टीलाई स्पष्टीकरण बुझाएका छन् ।
पार्टीको भदौ ५ मा बसेको केन्द्रीय समिति बैठकले मुकुललाई साधारण सदस्यबाट निलम्बन गर्नु पूर्व अन्तिम एकपटक स्पष्टीकरण दिने मौका दिएको थियो ।
शुक्रबार स्पष्टीकरण बुझाउँदै उनले सभापति लामिछानेको कुकर्मको पर्दाफास गर्ने भन्दै लेखेका छन्‚‘ राष्ट्रिय ठगको चर्चा राष्ट्रिय स्तरमा हुन्छ, पार्टीभित्र मात्र सीमित हुँदैन । तपाईँजस्तो ठग, भ्रष्ट र अपराधीको कब्जाबाट पार्टीलाई मुक्त गराएरै छाड्छु ।’
८. स्थानीयको तहको प्रतिवेदन
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७९–८० को संस्थागत क्षमता स्वमूल्यांकनको गुणस्तर परीक्षण पश्चातको प्रतिवेदन सार्वजनिक गरेको छ ।
प्रतिवेदनअनुसार उच्चतम अंक प्राप्त गर्ने तीन–तीन वटा गाउँपालिका र नगरपालिकासमेत सार्वजनिक गरेर पुरस्कृत गरिएको मन्त्रालयले जनाएको छ । जसअनुसार नगरपालिकातर्फ नीलकण्ठ नगरपालिका (धादिङ), तिलोत्तमा नगरपालिका (रुपन्देही) र रत्ननगर नगरपालिका (चितवन) क्रमशः प्रथम द्वितीय र तृतीय भई पुरस्कृत भए । यस्तै गाउँपलिकातर्फ धादिङको बेनिघाट गाउँपालिका प्रथम हुँदा समान अंक ल्याई गुल्मीको रुरुक्षेत्र गाउँपालिका र सिन्धुपाल्चोकको ईन्द्रवती गाउँपालिका पुरस्कृत भए ।
९. अदालतमा राउटे
आफूलाई बोटको राजा मान्ने राउटे समुदाय पछिल्लो समय न्याय माग्न कोर्ट (अदालत) पुगेका छन् । राउटे मुखिया वीरबहादुर शाही आफ्नो समुदायका नागरिकको न्यायका लागि अदालत पुगेका हुन् ।
०८१ वैशाख २० गते गुराँस गाउँपालिका–२, तल्लो डुङ्गेश्वरमा राउटे समुदायका सुरेन्द्र बहादुर शाहीकी दुई वर्षीय छोरी जामुने शाहीलाई ट्रकले ठक्कर दिएपछि राउटे मुखिया शाही यतिबेला अदालतसम्म पुगेका छन् ।
१०. आर्थिक समाचार
चालू आर्थिक वर्षको पहिलो महिनामा मुलुकको व्यापार घाटा सवा १ खर्ब १६ अर्बभन्दा बढी देखिएको छ ।
भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको आयात निर्यातको तथ्याङ्क अनुसार साउनमा १ खर्ब २८ अर्ब ३७ करोड ७१ लाख रुपैयाँ बराबरको वस्तु आयात हुँदा जम्मा १२ अर्ब २२ करोड ६१ लाख रुपैयाँ बराबरको मात्र निर्यात हुन सकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वरिष्ठ अमेरिकी सेना थिए ट्रम्पको होटल अगाडि पड्किएको ट्रकको चालक
-
पशुपति क्षेत्र विकास कोषका दुई जना परिषद् सदस्यविरुद्ध दायर रिट खारेज
-
कर्तव्यज्यान मुद्दाका आरोपी प्रहरी कार्यालयमा हाजिर
-
एमसीसीद्वारा नेपाल कम्प्याक्टका लागि थप पाँच करोड अमेरिकी डलर सहयोग स्वीकृत
-
कीर्तिमानी पर्वतारोही मिङ्मालाई भव्य स्वागत, तस्बिरहरू
-
पाँच महिनामा सात करोड बढी राजस्व सङ्कलन