जसपा नेपालले सबै केन्द्रीय सदस्यलाई भुगोलमा खटायो
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले भदौ ९ गतेदेखि सुरु गर्न लागेको संगठन सुदृढीकरण चार महिने अभियानको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । अभियानको काठमाडौँमा उद्घाटन गर्ने र त्यसपछि विधिवत रुपमा सातै प्रदेशमा सञ्चालन गरिने तय भएको कार्यकारिणी सदस्य मनिष सुमनले जानकारी दिए ।
काठमाडौँको कार्यक्रममा बागमती प्रदेशका सबै जिल्लाका नेता तथा कार्यकर्ता सहभागी हुनेछन् । पछि अन्य प्रदेशहरुमा यस्तै एउटा एउटा कार्यक्रम गर्ने र स्थानीय तहसम्म नेता तथा कार्यकर्तालाई परिचालन गर्ने तयारी रहेको नेता सुमनले बताए ।
जसपा नेपालका प्रत्येक केन्द्रीय सदस्यलाई स्थानीय तहसम्म खटाइएको छ । सो पार्टीमा २१५ जना केन्द्रीय सदस्य छन् । नौ जनाका कार्यकारिणीबाहेक सबैलाई यो अभियानमा जिम्मेवारी तोकिएको जसपाले जनाएको छ । यस्तै केन्द्रीय सदस्यहरुलाई फरक फरक पालिका दिइएको छ ।
स्थानीय तहमा खटिने केन्द्रीय सदस्यलाई प्रदेश समिति र जिल्ला समितिले पनि सघाउने छ । कार्यक्रम कसरी सञ्चालन गर्नेलगायतका विषयमा तल्ला तहका समितिले सहयोग गर्नेछ ।
यो अभियानको मुख्य उद्देश्य नै संगठन विस्तार गर्ने हो । साधारण सदस्यदेखि लिएर क्रियाशिल सदस्यको संख्या बढाउने उद्देश्य अभियानबाट राखिएको छ । २०८४ सम्म पाँच लाख पार्टीका क्रियाशिल सदस्य पुर्याउने लक्ष्य लिएको अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय समितिको बैठकमा बताएका थिए ।
सोही अनुरुप अभियानको अवधिमा धेरै भन्दा धेरै व्यक्तिलाई पार्टीमा ल्याउने, पार्टीको नीति सिद्धान्त र विचारबारे प्रशिक्षित गर्ने योजना बनाइएको नेता सुमनले बताए । सुमनका अनुसार सबै जना केन्द्रीय सदस्यलाई एउटा एउटा डायरी दिइने भएको छ । अभियानको अवधिमा आफूले गर्ने गतिविधिको बारेमा सो डायरीमा उल्लेख गर्ने र अभियान सकेपछि त्यो डायरी नै पार्टीलाई बुझाउनुपर्ने निर्णय पार्टीले गरेको छ ।
जसपा नेपालले भदौ १५ गते जनकपुर र १६ गते वीरगञ्जमा अर्को कार्यक्रमको आयोजना गरेको छ । १५ गतेको कार्यक्रममा सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका कार्यकर्ता र नेता सहभागी हुनेछन् भने १६ गतेको कार्यक्रममा रौतहट, बारा, पर्सा र हेटौडा समेतका कार्यकर्ता सहभागी हुने जसपा नेपालले जनाएको छ ।
भदौ १८ गते कोशी प्रदेशमा कार्यक्रम हुने छ भने त्यसमा सो प्रदेशका सबै जिल्लाका नेता तथा कार्यकर्ता सहभागी हुने बताइएको छ । भदौ २३ गते लुम्बिनी प्रदेशको भैरहवामा र २४ गते नेपालगञ्जमा कार्यक्रमको आयोजना हुने बताइएको छ ।
त्यस्तै, भदौ २५ गते गण्डकी प्रदेशको पोखरा र सुदुरपश्चिम प्रदेशको धनगढीमा कार्यक्रम हुने जसपा नेपालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीको वायर्नम्युनिख क्वार्टर फाइनलमा
-
खदीजा चम्किएपछि म्यान्चेस्टर सिटी दुई खेलअघिनै क्वार्टरफाइनल प्रवेश
-
रुसले युक्रेनमा हाइपरसोनिक प्रणालीको क्षेप्यास्त्र प्रहार गरेको दाबी
-
विकास परियोजनाको नाममा कालीगण्डकी नदीको अस्तित्व मेटिने चिन्ता
-
भ्रष्टाचार विरोधी आन्दोलन मधेसबाट सुरु भयो : आजपा
-
काठमाडौं प्लाजा सर्वसाधारणको सवारी पार्किङका लागि खुला हुने