प्रधानमन्त्रीलाई भेट्न जाँदा मन्त्री पद 'सरप्राइज'
२०५४ जेठ ४ गते म सिंहदरबारस्थित आवास तथा भौतिक योजना मन्त्रालयको कार्यकक्षामा व्यस्त थिएँ । प्रधानमन्त्रीज्यूले फोनमा कुरा गर्न खोजेको जानकारी निजी सचिवले दिए ।
मैले फोन उठाएँ । सदाझैँ भद्र र शालीन आवाजमा प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले सोधे– ‘कमलजी, एकछिन यता आउन सक्नुहुन्छ कि ?’
‘हस् !’ भनेर फोन राखी म तुरून्तै प्रधानमन्त्री निवास बालुवाटारतिर लागेँ । ‘प्रधानमन्त्रीले किन बोलाउनुभयो होला !’ मनमा खुलदुली भइरह्यो । बाटोभरि अनेक कुरा खेलाउँदै बालुवाटार पुगें । प्रधानमन्त्री चन्द मलाई नै पर्खिएर बसिरहेको थाहा पाएँ । म सोफामा बस्नेबित्तिकै प्रधानमन्त्रीबाट प्रस्ताव आयो– ‘डा. प्रकाशचन्द्र लोहनीले भर्खरै राजीनामा दिएर जानुभयो । कमलजीले परराष्ट्रमन्त्रीको जिम्मेवारी लिइदिनुहुन्थ्यो कि ?’
लोकेन्द्रबहादुर चन्द सधैँ छोटो कुरा गर्ने । लामो व्याख्या, विश्लेषण गरेर, फुलबुट्टा भरेर कुरा गर्ने स्वभावै होइन उनको । नेपाली राजनीतिमा स्वच्छ छवि भएका कमै राजनीतिज्ञहरूमध्ये एक मानिन्छ चन्दलाई । राजनीतिबाहेक साहित्यमा उच्च रूचि र राम्रो दखल छ । मदन पुरस्कार विजेता चन्दका थुप्रै साहित्यिक कृति प्रकाशित छन् ।
प्रधानमन्त्रीले परराष्ट्रमन्त्री भैदिन गरेको आग्रह अस्वीकार गर्ने कुनै कारण थिएन । मैले तत्कालै ‘हुन्छ’ भनेँ । सोही साँझ मलाई आवास तथा भौतिक योजनाका अतिरिक्त परराष्ट्रमन्त्रीमा नियुक्त गरिएको राजदरबारको विज्ञप्ति प्रकाशित भयो ।
बालुवाटारबाट निस्कँदा मेरो मन प्रफुल्लित थियो तर डा. लोहनीले राजीनामा दिएको विषयले भने अलि दुःखित भएँ ।
केही दिन अघिमात्र स्थानीय निर्वाचन सम्पन्न भएको थियो । सो निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट गृहमन्त्री रहेका वामदेव गौतमले ‘ठाडो हस्तक्षेप गरी निर्वाचन परिणाम प्रभावित तुल्याए’ भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र निकै विरोध भइरहेको थियो । डा. लोहनीलगायत मन्त्रिमण्डलमा रहेका राप्रपाका हामी प्रायः सबै मन्त्री गृहमन्त्रीको ज्यादति र प्रधानमन्त्रीको निरीहपनप्रति असन्तुष्ट थियौँ । त्यसबारे हामीबिच छलफल भइरहेको थियो । आवश्यक भए सामूहिक रूपमा सरकारबाट अलग्गिने कुरा पनि भएको थियो । तर, अचानक डा. लोहनीले राजीनामा दिएर हिँडे । त्यही रिक्त रहेको परराष्ट्र मन्त्रालय सम्हाल्नुपरेको हो ।
नेकपा (एमाले) को सहयोगमा राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता लोकेन्द्रबहादुर चन्द २०५३ फागुन २९ गते प्रधानमन्त्री भए । सरकार गठनका बखत उनले मलाई जलस्रोतमन्त्री बनाउने बचन दिएका थिए । तर, किन हो कुन्नि, सो मन्त्रालय आफैँसँग राखी मलाई त्यस बखत आवास तथा भौतिक योजना मन्त्रालयको जिम्मेवारी दिइयो । आफ्नो रूचिको मन्त्रालय नपाउँदा स्वभावतः म खासै सन्तुष्ट हुने कुरा भएन तर बाहिर केही बोलेको थिइनँ । सायद, त्यही बुझेर होला, परराष्ट्रसहित दुवै मन्त्रालयको जिम्मेवारी ममाथि आयो । नियतिको खेल बुझ्न सकिन्न तर समय अत्यन्त बलवान् छ । अन्ततः २०५४ जेठ ४ गते बयालिस वर्षको उमेरमा म परराष्ट्र मन्त्रालयको कार्यभार सम्हाल्न पुगेँ ।
परराष्ट्र मन्त्रालय मेरा लागि प्रियमात्र होइन, आकर्षक पनि हो । अन्तर्राष्ट्रिय सम्बन्धको विद्यार्थीका नाताले कूटनीतिमा सुरूदेखि मेरो रूचि थियो । विभिन्न मुलुकका परराष्ट्रमन्त्रीका गतिविधि र भूमिकाबाट म निकै प्रभावित थिएँ ।
परराष्ट्र मन्त्रालय मेरा लागि प्रियमात्र होइन, आकर्षक पनि हो । अन्तर्राष्ट्रिय सम्बन्धको विद्यार्थीका नाताले कूटनीतिमा सुरूदेखि मेरो रूचि थियो । विभिन्न मुलुकका परराष्ट्रमन्त्रीका गतिविधि र भूमिकाबाट म निकै प्रभावित थिएँ । डा. हेनरी किसिङ्जरको त फ्यान नै हुँ । सोभियत सङ्घका आन्द्रेय ग्रोमिको, भुटानका दावा छिरिङ, पाकिस्तानका जुल्फिकर अलि भुट्टो पनि मेरा मन पर्ने विदेश मन्त्रीहरू हुन् । किसिङ्जरले अमेरिकी परराष्ट्रमन्त्रीको हैसियतमा सन् १९७१ मा गरेको चीनको गोप्य भ्रमण, शीत युद्धकालमा विभिन्न देशका परराष्ट्रमन्त्रीहरूले संयुक्त राष्ट्रसङ्घमा दिएको प्रवचनले मेरो मनमस्तिष्कमा अमिट छाप परेको छ ।
नेपालकै परराष्ट्रमन्त्रीहरू डा. डिल्लीरमण रेग्मी, डा. तुलसी गिरी, ऋषिकेश शाह, कीर्तिनिधि विष्ट, पद्मबहादुर खत्री, शैलेन्द्रकुमार उपाध्यायहरूको विद्वता, छवि, व्यक्तित्व र ‘ग्ल्यामर’ बाट म निकै प्रभावित छु । त्यसैले कुनै दिन परराष्ट्रमन्त्री भएर काम गर्ने सुषुप्त चाहना मभित्र निकै अगाडिदेखि नै जागृत भएको थियो ।
हुन त त्यसअघि पनि म झण्डै परराष्ट्रमन्त्री भइसकेको थिएँ । २०५२ भदौमा मनमोहन अधिकारी नेतृत्वको नेकपा (एमाले) को अल्पमतको सरकार हटेपछि प्रधानमन्त्री भएका नेपाली कांग्रेसका शेरबहादुर देउवा नेतृत्वको सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी थियो । सो सरकारमा राप्रपाको पहिलो मन्त्रीको रूपमा मलाई खटाइयो । मन्त्रीमा मेरो नाम सिफारिस भएपछि प्रधानमन्त्री देउवाले ‘कमलजीलाई कुन मन्त्रालय दिने’ भनेर राप्रपा अध्यक्ष सूर्यबहादुर थापालाई फोन गरे । अध्यक्ष थापाले मेरै अगाडि मलाई नसोधिकनै ‘कमल थापालाई परराष्ट्र दिनुहोस्’ भने । फोन राखेर अध्यक्ष थापाले मतिर हेर्दै भने, ‘देशभित्र तपाईंको राम्रो छवि बन्दैछ, अब अन्तर्राष्ट्रिय क्षेत्रको अनुभव हासिल गर्नुपर्छ । देशविदेशका नेताहरूसँग चिनजान गर्नुपर्छ ।’
सूर्यबहादुर थापाको भनाइबाट म भावविह्वल भएँ । मप्रति उनको स्नेह र सद्भाव छ भन्ने त थाहा थियो तर मेरो व्यक्तित्व निर्माणमा समेत त्यति धेरै चिन्ता र चासो राख्लान् भन्ने मलाई पहिलो पटक अनुभव भयो ।
सूर्यबहादुर थापा नेपाली राजनीतिका शिखर व्यक्तित्व हुन् । २०१७ पुस १ गते राजा महेन्द्रले शासन व्यवस्था हातमा लिएपछि गठन भएको मन्त्रिपरिषद्मा डा. तुलसी गिरी र विश्वबन्धु थापापछि उनी तेस्रो वरीयतामा थिए । डा. गिरी मन्त्रिपरिषद्को पहिलो अध्यक्ष भए पनि पञ्चायतमा प्रधानमन्त्री पद पाउने पहिलो व्यक्ति सूर्यबहादुर थापा हुन् । उनलाई पञ्चायती व्यवस्थाको संस्थापकमध्ये एक मानिन्छ ।
२०४७ सालमा बहुदलीय प्रजातन्त्र पुनःथापना भएपछि हठात् अलपत्र परेका पञ्चायतका कार्यकर्ताहरूलाई सङ्गठित गरेर संरक्षण प्रदान गर्नेमा थापाको ठुलो योगदान छ । बहुदलीय व्यवस्था पुनःस्थापनापछि खडा भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक अध्यक्ष हुन् सूर्यबहादुर थापा ।
परराष्ट्रमा नाम सिफारिस भएपछि उत्साहित हुँदै खुसीको खबर परिवारजनलाई सुनाउन विशालनगर घर पुगेँ । रेडियो नेपालको समाचार सुन्न सबै परिवारजन र घरमा भेलामा भएका पार्टीका साथीहरू एकै ठाउँमा जम्मा भयौँ । तर नसोचेको कुरा, हामीले प्रतीक्षा गरे विपरीत कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रीमा मेरो नाम आयो । आश्चर्य त लाग्यो नै, अलिकति खिन्न पनि भएँ ।
पार्टी अध्यक्ष सूर्यबहादुर थापाको सदाशयता र सिफारिसका बाबजुद त्यस बेला म परराष्ट्र मन्त्री हुन पाइनँ । परराष्ट्रमा मेरो नाम सिफारिस भएपछि पार्टीका केही अग्रजहरू (जो आफैँ परराष्ट्र र जलस्रोतजस्ता मन्त्रालयमा जान चाहन्थे)ले प्रधानमन्त्री देउवालाई दबाब दिएकाले सल्लाह विपरीत मलाई कानुनमन्त्री बनाउन बाध्य भएछन् ।
२०५४ असोजमा फेरि सूर्यबहादुर थापा चौथो पटक प्रधानमन्त्री हुँदा भने मैले परराष्ट्रको जिम्मेवारी पाएँ । देउवाको नेतृत्वमा परराष्ट्रमन्त्री बनाउन नसके पनि आफ्नै नेतृत्वको सरकारमा मलाई परराष्ट्रमन्त्री बनाएरै छाडे ।
यसैगरी पहिलो पटक परराष्ट्रमन्त्री भएको करिब अठार वर्षपछि नेकपा (एमाले) का नेता के.पी. शर्मा ओलीको नेतृत्वमा गठित मन्त्रिपरिषद्मा मलाई उपप्रधानसहित तेस्रो पटक परराष्ट्र मन्त्रालयको जिम्मेवारीमा जाने अवसर प्राप्त भयो ।
(राप्रपा नेपालका अध्यक्ष तथा पूर्वपरराष्ट्रमन्त्री कमल थापाद्वारा लिखित ‘नाकाबन्दी र भूराजनीति–कूटनीतिमा मेरो अनुभव र अनुभूति’ पुस्तकमा उल्लिखित एक अंश । उक्त पुस्तक भदौ १० गते विमोचन हुँदैछ )