हिमपहिरो
मुस्ताङमा हिमपहिरो पछि खोला थुनियो, प्रशासनद्वारा अलर्ट जारी
शुक्रबार, ०७ भदौ २०८१, १५ : २९

काठमाडौँ । मुस्ताङमा हिमपहिरो पछि खोला थुनिएको छ । थासाङ गाउँपालिका २ स्थित कोबाङको बोक्सिखोलामाथि हिम पहिरो आएर खोला थुनिएको भन्दै जिल्ला प्रशासन कार्यालयले आसपासका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
हिमपहिरोका कारण ८० प्रतिशत पानी थुनिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी भोजराज पाण्डेले जानकारी दिए । तर भूगोल छिद्र भएका कारण खासै पानीको ताल भने नपरेको उनको भनाइ छ । ताल नपरेकाले आत्तिनुपर्ने अवस्था नरहेको उनले बताए ।
‘ताल परेको छैन । बोक्सीखोलामा २० प्रतिशत मात्र पानी बगेको छ,’ उनले भने, ‘जोखिम धेरै छैन, तर अलर्ट रहनुपर्छ ।’ उनले हिमपहिरोसहित ठुलो ढुंगाहरु झरेर खोला थुनेको बताए ।