शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
अदालत

बोटका राजा न्याय माग्न ‘कोर्ट’मा !

शुक्रबार, ०७ भदौ २०८१, १५ : ०८
शुक्रबार, ०७ भदौ २०८१

सुर्खेत । आफूलाई बोटको राजा मान्ने राउटे समुदाय पछिल्लो समय न्याय माग्न कोर्ट (अदालत) पुगेका छन् । राउटे मुखिया वीरबहादुर शाही आफ्नो समुदायका नागरिकको न्यायका लागि अदालत पुगेका हुन् ।

०८१ वैशाख २० गते गुराँस गाउँपालिका–२, तल्लो डुङ्गेश्वरमा राउटे समुदायका सुरेन्द्र बहादुर शाहीकी दुई वर्षीय छोरी जामुने शाहीलाई ट्रकले ठक्कर दिएपछि राउटे मुखिया शाही यतिबेला अदालतसम्म पुगेका छन् ।

दैलेख प्रहरीका अनुसार प्रहरीको सहयोगमा शाही अदालतसम्म पुगेका हुन् । यसअघि पहिलो पटक सुर्खेतको गुर्भाकोट, मेहलकुनामा राउेट युवतीमाथि गैर–राउटे समुदायका युवकहरूले गरेको यौन दुर्व्यवहारको घटना प्रहरी तथा अधिकारकर्मीको सहयोगमा अदालतमा पुगेको थियो । उक्त घटनामा संलग्न युवकहरूलाई अदालतले दोषी ठहर गर्दै फैसला सुनाएको छ ।

त्यसपछि अदालतसम्म पुगेको राउटेको यो दोस्रो घटना हो । स्वयं राउटे मुखिया शाहीले नै मुद्दा दर्ता गराएका हुन् । यसभन्दा पहिला राउटे समुदाय विभिन्न उजुरी लिएर प्रहरीसम्म पुग्ने गरे पनि अदालतसम्म पुग्ने गरेका थिएनन् ।

केही वर्षअघि सुर्खेतको कटकुवामा राउटे समुदायका सुरेन्द्र शाही सवारी दुर्घटनामा परेका थिए । गाडीको ठक्करले उनको मृत्यु भए पनि उक्त घटना अदालतसम्म पुगेन ।

जिल्ला प्रहरी प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक सुनिल दाहालका अनुसार राउटे समुदायले जामुने शाहीलाई ट्रकले ठक्कर दिएको घटना पनि अगाडि बढाउन चाहेका थिएनन् । ‘हाम्रो सहयोगमा राउटे मुखियाले मिनी ट्रक चालक बल रावत विरुद्ध जिल्ला अदालत दैलेखमा मुद्दा दायर गरेका हुन्,’ उनले भने, ‘चालक रावतलाई धरौटीमा छाडेका हुनाले सरकारी वकिल कार्यालयले पुनरावेदन गरेको हो ।’

उक्त मुद्दा बिहीबार उच्च अदालत सुर्खेतको दैनिक पेसीमा राखिएको थियो । तर विपक्षी (चालक)का तर्फका कानुन व्यवसायीका तर्फबाट स्थगित गरिएको उच्च अदालत सुर्खेतका सूचना अधिकारी प्रेम प्रकाश थापाले बताए ।

उच्च अदालत सुर्खेतमा असार २० गते मुद्दा दर्ता भएको हो । जिल्ला अदालत दैलेखका सूचना अधिकारी हरी प्रसाद उपाध्याय राउटे समुदायबाट आएको यो पहिलो मुद्दा भएको बताउँछन् ।

fail photo

लामो समयदेखि राउटे समुदायबारे अध्ययन, अनुसन्धान गरेका दैलेखका पत्रकार भक्तबहादुर शाही राउटेमा बिस्तारै रुपान्तरण आएको बताउँछन् । उनले भने, ‘राउटेहरू हामीलाई कोर्टको राजा भन्छन् भने आफूलाई बोटको राजा भन्छन् । त्यसो भन्नुको पछाडि उनीहरू प्रायः जङ्गलमा निस्फिक्री कु–काठ काट्न पाउने तर गैर–राउटेलाई बन्देज हुन्छ । भन्नुको अर्थ राउटेलाई जङ्गल फडानी गर्दा कानुन लाग्दैन ।’

तर पछिल्लो समय बाहिरी समुदायसँग पनि घुलमिल हुन थालेको र राउटे समुदाय रैतीमार्गको बाटो पछ्याउन थालेको उनको भनाइ छ ।

उनका अनुसार ६० को दशकसम्म राउटेहरू पूर्ण रूपमा जङ्गलमा निर्भर थिए । त्यसअघि गैर–राउटेसँग उनीहरू घुलमिल हुन चाहन्नथे । राउटे र गैर–राउटेबिच कुनै कुरामा द्वन्द्व भएमा तत्कालीन मुखिया मानबहादुर शाहीले नेतृत्व गरेर समुदायबिचकै छलफलका माध्यमबाट टुङ्गोमा पुर्याउँथे ।

पछिल्लो समय सडक सञ्जालको विकास, जलवायुको असर, काठका भाँडाकुँडा बिक्री  कम भएपछि र राष्ट्रिय वनहरू समुदायमा हस्तान्तरणमा भएपछि उनीहरू समाजसँग घुलमिल हुन थाले । साथै राज्यले पनि सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरेपछि उनीहरू राज्यसँग निर्भर हुन थाले ।

शाहीका अनुसार राउटे कुनै बेला पैसा छोएपछि पाप लाग्छ भन्थे । तर आजभोलि कसैले उनीहरूको फोटो खिच्न चाहेमा पैसा माग्ने गरेका छन् । यी यावत् कारण उनीहरू समुदायसँग नजिक भए र गैर–समुदायले मान्दै आएको कोर्ट (अदालत)लाई पनि मान्न थालेका छन् ।

शाहीले भने, ‘यो एक हिसाबले रुपान्तरण हो तर, संस्कृतिका हिसाबले एउटा सम्पदा नै सङ्कटमा परेको छ ।’ राउटे एउटा सम्पदा भएको र त्यहाँ अहिले विभिन्न संघ–संस्थाहरूले उनीहरूको इच्छा विपरीत काम गरिरहेको शाहीको बुझाइ छ ।

शाही राउटेको जीविकोपार्जनमा सुधार, संस्कृति र परम्परा बचाउनका लागि राज्यले नै एउटा उच्चस्तरीय समिति गठन गर्नुपर्ने बताउँछन् । उक्त समितिले राउटेको संस्कृति, परम्पराबारे अध्ययन, अनुसन्धान गर्नुपर्ने देखिन्छ । ‘त्यसमा मानवशास्त्री, अर्थशास्त्री र समाजशास्त्रीलाई राख्नुपर्छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप