बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

अमेरिका आर्थिक मन्दीको संघारमा रहेको चेतावनी

शुक्रबार, ०७ भदौ २०८१, १४ : २३
शुक्रबार, ०७ भदौ २०८१

वाशिङ्टन डीसी । अमेरिकी अर्थतन्त्रको स्वास्थ्यबारे अधिकांश मानिसहरू ढुक्क छन् । तर लगानी अनुसन्धान कम्पनी बीसीए रिसर्चले भने स्थिति ठीक उल्टो देखिरहेको बताएको छ ।

कम्पनीका अनुसार अमेरिका मन्दीको संघारमा छ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ ‘फेड’ले आगामी महीनाहरू कटौती गर्ने आशा गरिएको ब्याजदर बजारलाई उकास्न पर्याप्त नहुने बीसीए रिसर्चले भनेको छ ।

‘हामीमध्ये हरेकले आर्थिक मन्दी आउन लागेको छ भनेर मानिरहेका छौं, तर बजारको अपेक्षा यसको ठीक उल्टो छ,’ बीसीए रिसर्चका प्रमुख रणनीतिज्ञ गेरी इभान्स भन्छन् । अमेरिकाको श्रम बजारको अवस्था खस्किरहेकोतर्फ औंल्याउँदै इभान्सले अर्थतन्त्र सुस्ताइरहेको संकेतहरू प्रकाशमा ल्याएका छन् । सन् २०२१ को अक्टोबरयता पहिलो पटक जुलाईमा बेरोजगारी दर ४ दशमलव ३ प्रतिशतमा उक्लिएको अमेरिकी श्रम मन्त्रालयले बताएको थियो ।

अमेरिकाको उत्पादन गतिविधि पनि उक्त महीना आठ महीनाकै न्यून स्तरमा आएको अर्को सूचकले देखाएको छ । स्थिति तीव्र गतिमा खस्किदैं गएको उनको भनाइ छ । यो वर्षको अन्त्यसम्ममा फेडले कम्तिमा तीन पटक ब्याजदर घटाउने अपेक्षा लगानीकर्ताहरूले गरेका छन् । तर तीन पटकको ब्याजदर वृद्धिले पनि खतराको सुई कम नगर्ने इभान्सको भनाइ छ ।

‘एकाध ब्याजदर कटौतीले आर्थिक मन्दी टार्ने छैन । औसतमा मन्दी १० महीनासम्म चल्छ.... फेडले घटाएको ब्याजदरले आर्थिक गतिविधिलाई बढावा दिन कम्तिमा एक वर्ष लाग्छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप