रवि लामिछाने र स्वर्णिम वाग्लेमाथि खनिए कांग्रेस नेता बस्नेत
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय समिति सदस्य जितजंग बस्नेत सहकारी ठगी र दोहोरो पासपोर्टमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र अर्का नेता स्वर्णिम वाग्लेमाथि खनिएका छन् । बस्नेतले लामिछानेलाई तत्काल पक्राउ गरी थुन्न गृहमन्त्रीलाई सुझाव समेत दिएका छन् ।
शुक्रबारको बैठकमा केन्द्रीय सदस्य जितजंग बस्नेतले पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई पक्राउ गरेर थुन्न ढिलाई भएको बताएका हुन् । ‘रबि लामिछानेलाई थुन्न किन ढिला गरिएको हो ? सरकार र गृहमन्त्री हाम्रै छ । लामिछानेको दोहोरो पार्सपोर्ट र नागरिकता भएपछि थुन्न के को ढिलाई ? सहकारी ठगी उनको थप अपराध हो, उनलाई तुरुन्त थुनौं’, बस्नेतको भनाइ उधृत गर्दै एक नेताले भने ।
बस्नेतले लामिछानेलाई पक्राउ नगर्ने हो भने राज्यले प्रत्येक नेपाली नागरिकलाई दोहोरो पार्सपोर्ट र नागरिकता दिनसक्नुपर्ने बताए । ‘नेतालाई छुट दिँदा जनतालाई किन छुट नदिने ?’ बस्नेतले प्रश्न गरे । त्यस्तै उनले अर्का नेता स्वर्णिम वाग्लेले देशहित विपरीत मनरो डक्ट्रीनबारे बोल्दा पार्टी चुप बसेकोमा पनि असन्तुष्टि जनाए । ‘वाग्लेले मनरो डक्ट्रीनबारे बोल्दा पार्टी किन चुप ? के कांग्रेस जे हुँदा चुप लागेर बस्ने हो ?’, बस्नेतको प्रश्न छ ।
यसैगरी अर्का केन्द्रीय सदस्य शंकर भण्डारीले हिन्दु राष्ट्रका लागि संकलित एक हजारभन्दा बढि महासमिति सदस्यहरुको हस्ताक्षरबारे के निर्णय भयो ? भन्दै प्रश्न गरेका छन् । ‘महासमिति सदस्यबाट भएको कुरालाई इग्नोर गर्न मिल्दैन’, भण्डारीको भनाइ छ ।