सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

एमपक्स घातक कि कोरोना ? यी पाँच बुँदाले छुट्ट्याउँछ फरक

शुक्रबार, ०७ भदौ २०८१, १३ : ४१
शुक्रबार, ०७ भदौ २०८१

काठमाडौँ । विश्व स्वास्थ्य संगठनले ‘एमपक्स’ अर्थात् मङ्कीपक्सलाई लिएर वैश्विक स्वास्थ्य आपतकाल घोषणा गरेपछि ‘एमपक्स नयाँ कोरोना हो ?’ भन्ने प्रश्न विश्वस्तरमा उठेको छ ।

वैज्ञानिक र स्वास्थ्य विशेषज्ञले यसबारे मानिसको चिन्ता जायज भए पनि एमपक्स अर्को कोरोना नभएको प्रस्ट पारेका छन् । युरोपमा विश्व स्वास्थ्य संगठनका क्षेत्रीय निर्देशक डा. हान्स क्लुगेले भने, ‘एमपक्स नयाँ कोरोना होइन, आम जनसङ्ख्यामा यसको जोखिम कम छ ।’

उनले एमपक्सलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने आफूहरूलाई थाहा भएको बताए । युरोपमा यो सङ्क्रमणलाई कसरी रोक्ने भन्नेबारे पनि जानकार रहेको उनको भनाइ छ ।

कोरोना र एमपक्स दुवै सङ्क्रमण भाइरसका कारण हुन्छ । तर दुवैको लक्षण निकै फरक छ र फैलिने तरिका पनि अलग छ । केन्याको आगा युनिभर्सिटी अस्पतालका प्रोफेसर रोडने एडम भन्छन्, ‘दुवै रोगका सम्बन्धमा समानताभन्दा पनि भिन्नता धेरै छन् ।’

एमपक्स र कोरोनाबिचको भिन्नता जान्नका लागि यी पाँच बुँदा सहयोगी हुन सक्छ ।

१. एमपक्स नयाँ भाइरस होइन

एमपक्स कोरोनाजस्तो नयाँ भाइरस होइन । एमपक्स पहिला मङ्कीपक्स नामले चिनिन्थ्यो । यो रोग सन् १९५८ देखि मौजुद छ । यो भाइरस सबैभन्दा पहिला डेनमार्कको बाँदरमा देखिएको थियो । मानिस यो भाइरसको चपेटामा आएको सन् १९७० देखि हो, जतिबेला डीआर कङ्गोका मानिसमा यो सङ्क्रमण देखिएको थियो ।

त्यस यता पश्चिम र मध्य अफ्रिकामा यो भाइरस धेरै पटक फैलिसकेको छ । एमपक्सलाई लिएर वैश्विक स्वास्थ्य आपतकालको घोषणा सबैभन्दा पहिला सन् २०२२ मा भएको थियो । यो भाइरस अहिलेसम्म ७० देशमा फैलिसकेको छ ।

जबकि कोरोनाको पहिलो मामिला सन् २०१९ मा चीनको उहानमा देखिएको थियो । कोरोनाले चाँडै नै वैश्विक महामारीको रूप लिएको थियो । वैज्ञानिकका अनुसार यी दुवै भाइरसलाई वैश्विक स्वास्थ्य आपतकाल घोषित गरिएको छ, तर कोरोनाको तुलनामा एमपक्सबारे वैज्ञानिकहरूलाई धेरै कुरा थाहा छ ।

२. एमपक्स सङ्क्रामक छैन

एमपक्स कोरोनाजस्तो सङ्क्रामक छैन । यद्यपि दुवै रोग सङ्क्रमितसँग निकट सम्पर्कमा रहेका व्यक्तिलाई सर्दछ । तर एमपक्सको तुलनामा कोरोना तीव्र गतिमा फैलिन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना कुनै मानिसले खोक्दा, हाँच्छ्युँ गर्दा, बोल्दा, नजिकै बस्दा फैलिन्छ । तर एमपक्स भने सङ्क्रमितको निकै नजिक रहँदा फैलिन्छ । सङ्क्रमित व्यक्तिको छाला छोएमा, शारीरिक सम्बन्ध राखेमा, सङ्क्रमित व्यक्तिले प्रयोग गरेको ओछ्यान प्रयोग गरेमा, उसका लुगा प्रयोग गरेमा मात्र एमपक्स सर्दछ । लामो समयसम्म आमने–सामने बसेर कुराकानी गर्दा पनि एमपक्स भाइरस एक मानिसबाट अर्को मानिसमा सर्न सक्छ ।

कोरोनाको मुख्य लक्षणमा ज्वरो, घाँटी खसखसाउने देखिन्छ । एमपक्सको मुख्य लक्षणका रूपमा ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने, घाँटी सुन्निने, डाबर आउनेजस्तो हुन्छ ।

डिसेम्बर २०१९ देखि अगस्ट २०२३ सम्म ७६ करोडभन्दा बढी मानिसमा कोरोना सङ्क्रमण देखिएको थियो भने मे २०२२ देखि हालसम्म एमपक्स सङ्क्रमण विश्वभर एक लाखको हाराहारीमा देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । अफ्रिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल प्रिभेन्सन (सीडीसी) का अनुसार करिब १८ हजार ९१० एमपक्स सङ्क्रमण पाइएको छ जसमा ६०० भन्दा बढीको मृत्यु भएको छ ।

३. खोपको उपलब्धता

एमपक्सको खोप पहिलादेखि नै उपलब्ध छ । कोरोनाको मामिलामा सबैभन्दा चुनौती खोपको थियो । किनकि यसको खोप बनिसकेको थिएन । खोप निर्माण गर्नु, त्यसको परीक्षण गर्नु, प्रयोगका लागि अनुमति पाउनु जस्ता चुनौती कोरोना सङ्क्रमणको समयमा थियो । तर एमपक्सको खोप पहिलादेखि नै उपलब्ध छ ।

एमपक्स ‘स्मलपक्स’ जस्तै हो, जसको खोप सन् १९८० मै उपलब्ध थियो । स्मलपक्सको खोप नै एमपक्सका लागि प्रभावकारी देखिएको छ । प्रोफेसर एडम भन्छन्, ‘यसले शत प्रतिशत संरक्षण गर्दैन । २०२२ मा जब यो रोग युरोप र उत्तरी अमेरिकामा फैलियो, त्यतिबेला वृद्धवृद्धामा यसको जोखिम कम थियो । यसको एउटै कारण हो, वृद्धवृद्धाले स्मलपक्सको खोप लगाएका थिए ।’

खोप बनाउने कम्पनी बावेरियन नोर्डिकले सन् २०२२ मा डेढ करोडभन्दा बढी डोज खोप उत्पादन गरेर विभिन्न ७६ देशमा पठाइएको थियो ।

४. कोरोनाजस्तो तीव्र रूपमा फैलिँदैन

समयसँगै भाइरस पनि फेरिन्छ । तर केही भाइरस निकै तीव्र गतिमा आफ्नो रूप फेर्छन्, जस्तो कि कोरोना । तर एमपक्सको भाइरसले त्यसरी रूप फेर्दैन । किनकि एमपक्स डीएनए भाइरसबाट हुन्छ भने कोरोना आरएनए भाइरसबाट हुन्छ ।

अमेरिकी सोसाइटी अफ माइक्रोबायोलोजीका अनुसार डीएनए भाइरसले आरएनए भाइरसजस्तो तीव्र गतिमा रूप फेर्दैन ।

एमपक्सको दुई रूप छन्– क्लेड १ र क्लेड २ । तर कोरोनाको सार्स कोभ–२ भाइरसबाट २० भन्दा बढी क्लेड छन् । अहिलेसम्म एमपक्स सङ्क्रमण क्लेड–१ भाइरसबाट फैलिरहेको छ, जसलाई क्लेड–१ बी पनि भनिन्छ ।

५. लकडाउन वा खोपको बाध्यता छैन

एमपक्सलाई वैश्विक स्वास्थ्य आपतकाल घोषणा गरिएपछि कतिपयलाई सन् २०२० मा कोरोना सङ्क्रमणकालको सम्झना स्वाभाविक रूपमा आयो । कोरोनाकालमा जस्तै लकडाउनको अवस्था सामना गर्नुपर्ने त होइन भन्नेबारे सर्वत्र चासो बढ्यो ।

तर एमपक्सको सम्बन्धमा अहिलेसम्म त्यस्तो अवस्था आउने देखिएको छैन । विगत दुई वर्षमा एमपक्स अफ्रिकाको १६ देशमा फैलिएको छ । तर अफ्रिका सीडीसीले कुनै सीमा बन्द गर्न या लकडाउन गर्ने कुरा गरेको छैन ।

अफ्रिकी सीडीसीका निर्देशक जनरल डा. जीन कासिका अनुसार अहिलेसम्म आवतजावत रोक्नुपर्ने कुनै कारण देखिएको छैन । विश्व स्वास्थ्य संगठनका आपतकालीन कार्यक्रमका कार्यकारी निर्देशक डा. माइक रियान भन्छन्, ‘एमपक्स यस्तो भाइरसको जसलाई सही समयमा सही कदम उठाएर नियन्त्रण गर्न सकिन्छ ।’

एमपक्सबाट सङ्क्रमित व्यक्ति वा उनीहरूसँग जोडिएका वस्तुको सम्पर्कबाट टाढा रहेर सङ्क्रमण हुनबाट जोखिन सक्ने विज्ञ बताउँछन् । एमपक्सबाट भएका घाउ छोएमा साबुनपानीले हात धुने वा सेनिटाइजर प्रयोग गर्दा पनि यसको सङ्क्रमणबाट जोगिन सक्ने विज्ञको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप