सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डका लागि पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

शुक्रबार, ०७ भदौ २०८१, १३ : ०८
शुक्रबार, ०७ भदौ २०८१

काठमाडौँ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले ‘एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड’ को २१ औँ संस्करणका लागि पिपल्स च्वाइस अवार्डको मनोनयन शुक्रबार सार्वजनिक गरेको छ । स्पोर्टस अवार्डको २१औँ संस्करण भदौ २८ गते काठमाडौँमा आयोजना हुँदैछ ।
मञ्चले एक कार्यक्रमबिच पिपल्स च्वाइज अवार्डका लागि विभिन्न खेलका पाँचजना खेलाडीको नाम सार्वजनिक गरेको हो । पिपल्स च्वाइस अवार्डका लागि राष्ट्रिय क्रिकेट टोली महत्वपूर्ण सदस्य गुलशन झा पनि मनोनयनमा परेका छन् ।

यसैगरी, भलिबल खेलाडी कविता भट्ट, कबड्डी खेलाडी मानमती बिष्ट, फुटबल खेलाडीकी प्रीति राई र रग्बी खेलाडीका श्रीराम श्रेष्ठ पनि पिपल्स च्वाइस अवार्डका लागि मनोनयनमा परेका छन् । मनोनयनमा परेका पाँच खेलाडीमध्ये एकजनाले पिपल्स च्वाइस अवार्ड प्राप्त गर्नेछन् ।

पिपल्स च्वाइस विधाको विजेताको चयन मञ्चका सदस्य र राष्ट्रिय प्रशिक्षक तथा ई–सेवा र फेसबुक पेजमा खेलप्रेमीले गर्ने मतका आधारमा हुने आयोजक मञ्चले जनाएको छ । पिपल्स च्वाइज अवार्डको विजेताले पल्सर मोटरसाइकल पुरस्कार पाउने छन् ।

खेलप्रेमीले ई–सेवामा गरेको मतको मतभार ५० प्रतिसत, फेसबुकमा गरेको मतको भार २५ प्रतिसत तथा खेल पत्रकार र राष्ट्रिय प्रशिक्षकको मतको भार समान १२.५ प्रतिशत हुने जानकारी मञ्चका महासचिव एवं अवार्डका लागि खेलाडी छनोट समितिका संयोजक प्रज्जवल ओलीले दिए । पिपल्स च्वाइस विधाको लागि भोटिङ पार्टनरका रुपमा रहेको ई–सेवासँग मञ्चले शुक्रबार नै सम्झौता पनि गरेको छ ।

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २१ औँ संस्करणमा विभिन्न १० वटा विधा समावेश गरिएको छ । पिपल्स च्वाइस अवार्डका अतिरिक्त वर्षको उत्कृष्ट पुरुष खेलाडी, वर्षको उत्कृष्ट महिला खेलाडी, वर्षको उत्कृष्ट युवा खेलाडी र वर्षको उत्कृष्ट प्रशिक्षकले पनि अवार्ड प्राप्त गर्नेछन् ।

यसैगरी, अवार्ड कार्यक्रमको आगामी संस्करणमा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड र टिम अफ दी इयर विधालाई पनि समावेश गरिएको छ । उत्कृष्ट घोषित हुने पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षकले पुरस्कार स्वरुप पल्सर एनएस २०० मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् ।

पिपल्स च्वाइस विधाका विजेताले पल्सर एनएस ४०० पुरस्कार पाउने छन् । अन्य विधाका विजेताले जनही एक लाख रुपैयाँ पुरस्कार पाउने मञ्चले जनाएको छ । यसपटक पिपल्स च्वाइस अवार्डको मनोनयनमा परेका खेलाडीमध्ये क्रिकेटका गुलशन झा राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य हुन् । नेपाललाई पहिलोपटक एसिया कपमा छनोट गराउने क्रममा उनले एसीसी प्रिमियर कपको फाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध एक विकेट लिनुका साथै अविजित ६७ रनको योगदान गरेका थिए ।

१६ वर्षको उमेरमै राष्ट्रिय टोलीबाट खेल्ने अवसर पाएका नेपाल पुलिस क्लबका अलराउन्डर गुलशनले आईसीसी एसिया टी–२० विश्वकप एसिया छनोटको फाइनलमा ओमानविरुद्ध सर्वाधिक ५४ रन बनाएका थिए । त्यसक्रममा उनले २५ बलमा चार छक्का र पाँच पनि चौका प्रहार गरेका थिए ।

यसैगरी, भलिबलकी कविता भट्ट राष्ट्रिय टोलीकी महत्वपूर्ण सदस्य हुन् । उनी विभागीय टोली एपीएफ क्लबबाट भलिबल खेल्छिन् । कविता भट्ट नेपालले हालै घरेलु मैदानमा काभा महिला नेसन्स लिगमा दोस्रो स्थान हासिल गर्दा पनि टोलीकी महत्वपूर्ण सदस्य थिइन् ।

अघिल्लो वर्ष यही प्रतियोगितामा कांस्य पदक जित्दा पनि टोलीमा रहेकी उनले चीनको हान्झाउमा सम्पन्न १९ औँ एसियाली खेलकुदमा पनि नेपालको प्रतिनिधित्व गरेकी थिइन् । गत वर्ष एपीएफ क्लबले ढोरपाटन महिला डबल लिग, केएनपी राष्ट्रिय महिला च्याम्पियनसिप र टाइगर कपको उपाधि जित्दा उनको भूमिका महत्वपूर्ण रहेको थियो । उनी केएनपी च्याम्पियनसिपमा उत्कृष्ट सर्भर पनि घोषित भएकी थिइन् । गत वर्ष एपीएफ क्लब एनभीए कपमा उपविजेता बन्दा उनी उत्कृष्ट ब्लकर घोषित भएकी थिइन् ।

यसैगरी, कबड्डीकी मानमती बिष्ट नेपालले चीनको हान्झाउमा सम्पन्न १९ औँ एसियाली खेलकुदमा महिला कबड्डीमा ऐतिहासिक कांस्य पदक जित्दा टोलीकी महत्वपूर्ण सदस्य थिइन् । रेड र डिफेन्स दुबैमा उनको प्रदर्शन उत्कृष्ट थियो । १२ औँ दक्षिण एसियाली खेलकुद (साग)मा एथलेटिक्सबाट भाग लिएकी मानमतीले १३ औँ सागमा भने कबड्डी टोलीबाट रजत पदक जितेकी थिइन् ।

नेपाल पुलिस क्लबकी खेलाडी मानमतीले छैटौँ राष्ट्रिय खेलकुदमा एथलेटिक्समा प्रतिस्पर्धा गर्ने क्रममा चारसय मिटर हर्डल्स, आठसय मिटर दौड, चार गुणा चार सय मिटर रिलेमा स्वर्ण पदक जितेकी थिइन् । कबड्डी सुपर लिग तथा राष्ट्रिय कबड्डी प्रतियोगितामा पुलिस क्लब च्याम्पियन बन्दा उनी सर्वोत्कृष्ट खेलाडी घोषित भएकी थिइन् ।

यसैगरी, प्रीति राई महिला राष्ट्रिय फुटबल टोलीकी प्रभावशाली मिडफिल्डर हुन् । उनले १६ वर्षको उमेरमै राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गरेकी थिइन् । गत वर्ष साउदी अरेबियामा सम्पन्न आठौँ वाफ वुमेन्स च्याम्पियनसिपमा नेपाल उपविजेता बन्दा पनि प्रीतिको प्रदर्शन उत्कृष्ट थियो ।

लेबनानविरुद्धको सेमिफाइनल खेलमा उनले निर्णायक गोल गरेकी थिइन् । राष्ट्रिय महिला लिगमा सात गोल गरेकी उनले एएफसी वुमन्स च्याम्पियनसिप तथा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पनि गोल गरेकी थिइन् । यसैगरी, श्रीराम श्रेष्ठ प्रभावशाली रग्बी खेलाडी हुन् । नेपालमा आधुनिक रग्बी खेल सुरु हुँदाका खेलाडी श्रीराम राष्ट्रिय खेलकुदमा बागमती प्रदेशलाई च्याम्पियन बनाउने कप्तान पनि हुन् ।

चीनको हाङ्झाउमा सम्पन्न १९ औँ एसियाली खेलकुदमा नेपाली टोलीका मुख्य खेलाडी श्रीरामले ओलम्पिक छनोटका साथै तीन पटक एसियन रग्बी सेभेन्समा पनि सहभागिता जनाएका छन् । उनले रग्बी फिप्टिन्समा पनि नेपालको प्रतिनिधित्व गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप