मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय
टीकापुर घटना

टीकापुर घटनाको नवौँ वर्ष : अझै पनि राजनीतिक निकास खोज्दै टीकापुरवासी

शुक्रबार, ०७ भदौ २०८१, १२ : ५०
शुक्रबार, ०७ भदौ २०८१

धनगढी । कैलालीको टीकापुर नगरपालिका–१, शक्तिनगर मुक्तकमैया शिविरकी सीता चौधरी थारु विद्रोह दिवस मनाउने तयारीमा छिन् । शिविरका बरघर (गाउँ प्रमुख)ले शुक्रबार बिहानै विद्रोह दिवस मनाउन जान शिविरभरि निर्देशन दिएपछि शिविरका अन्य सदस्यजस्तै उनी पनि तयार भएकी छन् ।

मुक्तकमैया समाजकी केन्द्रीय सदस्यसमेत रहेकी सीता चौधरीले त्यहाँस्थित शक्तिनगर, शिवनगर र चमेलीपुर शिविरको नेतृत्व गरेर जाने बताइन् । टीकापुर नगरपालिका–१, सिर्जनशील टोल विकास समितिका अध्यक्ष गोपाल चौधरी पनि विद्रोह दिवस कार्यक्रममा जाने तयारीमा छन् ।

अधिकारको लागि थालेको आन्दोलनकै रूप भएको बताउँदै उनले २०७२ सालदेखि प्रत्येक वर्ष दिवस मनाउँदै आएको जानकारी दिए । उत्साहित हुँदै सीता चौधरीले भनिन्, ‘यस अर्थमा आज विद्रोह दिवस हो कि, आजकै दिन हामीले आफ्नो हक अधिकारको लागि आवाज उत्कर्षमा पु¥याएका थियौँ । तर राज्यले हाम्रो आवाजलाई नै दबायो । हाम्रा मान्छेहरूलाई नभएको मुद्दा लगायो ।’

अहिले कायम भएको सुदूरपश्चिम प्रदेश सरकारले थारुलाई आधिकार दिन निकै कन्जुस्याइँ गरेको उनको भनाइ छ । उनले भनिन्, ‘सायद हाम्रो चाहना अनुसारको थरुहट भएको भए यो दिन आउने थिएन ।’ सीता र गोपाल चौधरीको जस्तै टीकापुर नगरपालिका–६, लक्षिनापुर गाउँका भलमन्सा रामकृष्ण चौधरी पनि बिहानैदेखि कार्यक्रममा जाने तयारीमा छन् ।

रामकृष्ण चौधरीले रातोपाटीसँग भने, ‘हामी आज पनि स्मरण गरिरहेका छौँ । त्यो आन्दोलन कसैको विरुद्ध थिएन । कुनै जाति विशेषको विरुद्ध पनि थिएन । केवल संविधानमा हाम्रो पनि अधिकार लेखियोस् भन्ने थियो । तर टीकापुर घटनापछि राज्यले दमन ग¥यो ।’

थरुहट थारुवान राष्ट्रिय मोर्चा कैलाली, थारु कल्याणकारिणी सभा कैलालीलगायत संघ संगठन शुक्रबार टीकापुरमा विद्रोह दिवस मनाउँदै छन् ।

के थियो घटना ?

२०७२ ताका संविधान लेखन चलिरहँदा २ परस्पर विरोधी अखण्ड सुदूरपश्चिम र थरुहट आन्दोलन उत्कर्षमा थियो । अखण्ड पक्षधरको माग मौजुदा सुदूरपश्चिामञ्चल विकास क्षेत्रलाई प्रदेश बनाइनुपर्ने र थरुहट पक्षधरको माग थारु बाहुल क्षेत्रलाई थरुहट बनाइनुपर्ने थियो ।

यसैबिच २०७२ भदौ ७ गते थरुहट आन्दोलनकारी र प्रहरीबिच झडप भयो । यस क्रममा एक नाबालकसहित ८ प्रहरीको ज्यान गयो । स्थिति नियन्त्रण बाहिर गएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी ग¥यो । सेना परिचालन गरियो । भोलिपल्ट भदौ ८ गते कर्फ्युका बिच तथा सेना र प्रहरीकै उपस्थितिमा थारु समुदायका घर, पसल, एफएमलगायत ८३ बढी संरचनामाथि आगजनी भयो ।

सोही घटनाको स्मरणमा थरुहट थारुवान आन्दोलनकारीहरूले आजको दिन विद्रोह दिवस मनाउने गरेका हुन् ।

‘राजनीतिक रुपमा निकास खोज्नुपर्छ’

टीकापुर घटना मद्दामा राज्यले २८ जनामाथि मुद्दा चलायो । जसमध्ये ३१ जना अझै फरार छन् । पक्राउ परेका रेशमलाल चौधरी, लक्ष्मण थारुसहित २७ जना विभिन्न तहको अदालतबाट सजाय फैसला भइ सजाय भुक्तानी गरिसकेका छन् । केही भने अदालतबाट सफाइ पाएका छन् ।

तर राजनीतिक मुद्दालाई आपराधिक मुद्दाकै नजरियाबाट हेरिएपछि समाजमा त्यसको दीर्घकालीन समाधानभन्दा पनि नकारात्मक असर परेको थरुहट अगुवा बताउँछन् ।

टीकापुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धविन्द्र रावलले थरुहट आन्दोलनको मुद्दा र टीकापुर घटनाले समाजमा गहिरो असर पारेको बताउँछन् । ती मुद्दा र परिघटनाहरु राजनीतिक मुद्दा भएकाले राजनीतिक रूपमा समाधानको बाटो खोज्नुपर्ने उनको भनाइ छ ।

टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रपाणि सापकोटाले थारु दिवसको कार्यक्रममा आफूहरूको पनि ऐक्यवद्धता रहेको बताए । उनले भने, ‘नहुनुपर्ने घटना भइहाल्यो । अब हामी सबै मिलेर यहाँको विकास र समृद्धिमा एकढिक्का भएर लागेका छौँ । म पनि कार्यक्रममा जाने तयारीमा छु ।’

के छ कार्यक्रम ?

थरुहट थारुवान राष्ट्रिय मोर्चा कैलाली, थारु कल्याणकारिणी सभा कैलालीलगायत संघ संगठनले शुक्रबार टीकापुरमा नवौँ विद्रोह दिवसको अवसरमा जनसभाको आयोजना गरेका छन् ।

थरुहट थारुवान राष्ट्रिय मोर्चा कैलालीका संयोजक माधव थारुले थरुहट राजबन्दीहरुको प्रमुख अतिथ्यमा कार्यक्रम गरिरहेको जानकारी दिए । उनका अनुसार कार्यक्रमका मुख्यवक्तामा थरुहट नेता लक्ष्मण थारु, थरुहट नेता एवं नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी, नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रामजनम चौधरी, संविधान सभा सदस्य एवं नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णकुमार चौधरी कुन्दन, नेकपा एमालेका केन्द्रीय सल्लाहकार होरीलाल चौधरी छन् ।

गत वर्ष टीकापुरमा नागरिक उन्मुक्ति पार्टी र थारु अधिकारवादी संघ संगठनले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका थिए । तर यो वर्ष एउटै मञ्चमा कार्यक्रम गर्ने बताएका छन् ।

कार्यक्रममा कैलाली, कञ्चनपुर र बर्दियासहितका जिल्लाबाट सहभागीहरु आउने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप