माओवादी अन्तरविरोध समाधानका लागि विशेष कि नियमित महाधिवेशन ?
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रमा विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन गर्ने भन्ने बहस सुरु भएको छ । प्रदेशस्तरीय संयुक्त परामर्श समिति बैठक अन्तरगत बागमती प्रदेशको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले विशेष महाधिवेशनबाट आन्तरिक समस्या हल गर्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिएका छन् ।
तर केही सदस्यले विशेष महाधिवेशनमा जानुभन्दा नियमित महाधिवेशनमा जाँदा उपयुक्त हुने सुझाव दिएको ललितपुर जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य हरि दाहालले जानकारी दिए ।
‘विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन गर्ने भन्ने सन्दर्भमा पार्टीभित्र बहस जारी छ,’ उनले भने, ‘अधिकांशले नियमित महाधिवेशनमा जाँदा उपयुक्त हुन्छ भनेका छन् । केहीले सांगठनिक समस्या विशेष महाधिवेशनबाट हल गर्नुपर्ने सुझाव दिएका छन् ।’
दाहालका अनुसार केहीले आगामी केन्द्रीय समिति बैठकबाट समस्याको समाधान खोज्न प्रस्ताव गरेका छन् । यस सम्बन्धमा बहस जारी रहेकाले कुनै निष्कर्षमा नपुगेको उनले बताए ।
अर्का केन्द्रीय सदस्य लेखनाथ दाहालका अनुसार अधिकांश नेताले विशेष महाधिवेशनमा जानुपर्ने सुझाव राखेका छन् । विशेष महाधिवेशन गर्ने पक्षमा अध्यक्ष प्रचण्डसमेत रहेकाले प्रदेशस्तरीय परामर्श समितिको सुझावका आधारमा राजनीतिक दस्तावेज तयार हुने र आगामी केन्द्रीय समिति बैठकले विशेष महाधिवेशनको मिति तोक्ने उनको जिकिर छ ।
‘परामर्श समितिको बैठकमा बोल्ने अधिकांश नेताहरूले विशेष महाधिवेशनमा जानुपर्ने सुझाव अध्यक्षलाई दिएका छन्’, उनले भने, ‘सबै प्रदेशबाट आएका सुझावलाई समेटेर उहाँ(अध्यक्ष)ले आगामी केन्द्रीय समिति बैठकमा दस्तावेज पेस गर्छु भन्नुभएको छ । केन्द्रीय समिति बैठकले विशेष महाधिवेशनको मिति तोक्छ ।’
यसअघि प्रदेशका अध्यक्षहरूले पनि विशेष महाधिवेशनमा गएर आन्तरिक विवाद हल गर्न सुझाव दिएका थिए । रातोपाटीसँग कुरा गर्दै माओवादी बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेल, कोशीका अध्यक्ष हर्कबहादुर नेम्वाङ, लुम्बिनीका अध्यक्ष सुदर्शन बराल, कर्णालीकी अध्यक्ष विमला केसी लगायतले सांगठनिक समस्या विशेष महाधिवेशनबाट हल गर्नुपर्नेमा जोड दिएका थिए ।
आठौँ महाधिवेशनले पारित गरेको समाजवादी कार्यदिशा कार्यान्वयन गर्न सोही अनुसारको कार्यक्रम र चुस्तदुरुस्त संगठन हुनुपर्ने उनीहरूको तर्क थियो । यद्यपि नेतृत्वको विकल्पमा पार्टीभित्र बहस नभएको नेताहरूले दाबी गरेका थिए ।
प्रज्ञाभवन कमलादीमा २०७८ साल पुस (११–१८)मा सम्पन्न महाधिवेशनले अन्तरिम विधान बमोजिम २९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको थियो । तर विधानलाई लत्याउँदै २२ सदस्यीय पदाधिकारीसहित ४११ जनाको जम्बो केन्द्रीय समिति बनाइयो ।
२०७९ को तीनै तहको निर्वाचन लगत्तै विशेष महाधिवेशन गरी समाजवादी विचार, कार्यक्रम ल्याउने सहमति थियो । महाधिवेशनले पारित गरेको समाजावदी कार्यदिशालाई कार्यान्वयन गर्न चुस्तदुरुस्त संगठन बनाउने निर्णय गरेको थियो । तर तीन वर्ष पार गर्न लाग्दासमेत विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशनमा जाने भन्ने बहसमा माओवादी केन्द्र अल्झिएको छ ।
गत साउनमा प्रज्ञाभवन कमलादीमै बसेको केन्द्रीय समिति बैठकले भदौदेखि मंसिरसम्म पार्टी रूपान्तरण विशेष अभियान सञ्चालन गरी विशेष महाधिवेशनअघि विधान अधिवेशन गर्ने निर्णय गरेको थियो । फागुनको पहिलो साता प्रथम विधान अधिवेशन भए पनि विशेष महाधिवेशन नहुँदा विधान कार्यान्वयनमा आउन सकेको छैन ।
०७० को संविधान सभा निर्वाचनपछि पार्टी दुब्लाउँदै गएको, नेताहरू सुविधाभोगी सहरमुखी, पुँजीवाद तथा सत्तामुखी भएको, पार्टीभित्र देखिएको गुटबन्दीले सांगठनिक संरचना ध्वस्त भएको, नेतृत्व तहबाटै विधान, विधि र पद्धति मिचिएको, पार्टी र जनताबिचको सम्बन्ध टाढिँदै गएकोमा नेता तथा कार्यकर्ताले तीव्र असन्तुष्टि पोखेका छन् । पार्टीलाई रूपान्तरण गरी संगठनलाई सुदृढ बनाउन सबै समिति प्रत्यक्ष निर्वाचित हुनुपर्नेमा नेताहरूले जोड दिएका छन् ।
पार्टी उपमहासचिव जनार्दन शर्माले त पार्टीभित्र देखिएका समस्या, निर्माण र नेतृत्वको विकल्पबारे १४ बुँदे फरक प्रस्ताव नै पेस गरेका छन् । साउन २५ देखि ३१ सम्म केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा शर्माले फरक प्रस्ताव पेस गरेपछि माओवादीभित्र ठुलै तरङ्ग ल्यायो । यद्यपि आफूले नेतृत्वको विकल्प वा पार्टीलाई कमजोर बनाउन नभइ थप बलियो बनाउन प्रस्ताव ल्याएको शर्माको दाबी छ ।
प्रचण्डको विचार युगौँसम्म बाँच्ने गरी विचारलाई संश्लेषण गरी नेतृत्वलाई बलियो बनाउनुपर्ने तर्क उनले बैठकमा राखेका थिए । साथै संगठनलाई विधान, विधि, प्रक्रिया र पद्धतिअनुसार चलायमान बनाउन सांगठनिक नेतृत्वको जिम्मा अर्कोलाई दिनुपर्ने उनको मत थियो ।
‘अहिले माओवादीको विचार अस्पष्ट छ । समाजवादी विचार स्पष्ट नभएसम्म पार्टी अगाडि जान सक्दैन । नेतृत्वको विकल्प खोज्न वा पार्टीलाई कमजोर बनाउन मैले फरक प्रस्ताव ल्याएको होइन,’ स्थायी समिति बैठकमा आफ्नो प्रस्तावको बचाउ गर्दै शर्माले भनेका थिए ।
शर्माको फरक प्रस्तावले पार्टीभित्र अन्तरविरोध देखिए पनि स्थायी समिति बैठकले यी सबै आशङ्का हल गरेको अध्यक्ष प्रचण्डले दाबी गरेका छन् । बागमती प्रदेशस्तरीय परामर्श बैठकमा उनले पार्टीलाई एकताबद्ध बनाएर एक्लै चुनाव लड्ने गरी ०८४ को तयारीमा लाग्न निर्देशन दिएको सहभागी नेताहरूले दाबी गरेका छन् ।
जनार्दन शर्माको प्रस्तावले नेता तथा कार्यकर्ता तहमा पार्टी फुट्ने हो कि भन्ने आशङ्का देखिए पनि स्थायी समिति बैठकसम्म आइपुग्दा यी सबै आशङ्का हल भइसकेको अध्यक्ष प्रचण्डको भनाइ थियो । ‘पार्टीको विचार र नेतृत्वको विषयमा अब कुनै विवाद छैन । उहाँ(जनार्दन शर्मा)ले पनि नेतृत्वको विकल्प फरक प्रस्ताव ल्याएको होइन भनिसक्नुभएको छ । अब यसबारे कुनै भ्रम राख्नु जरुरत छैन । मिडियामा गएर बोलिराख्नु पनि जरुरत छैन । ०८४ को निर्वाचनमा एकल लड्ने गरी तयारी थाल्नोस् । बाँकी विषय विशेष महाधिवेशनबाट सबै समस्या समाधान हुन्छ’, प्रचण्डको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य लेखनाथले भने ।
ललितपुरका इन्चार्ज हरिले माओवादीमा प्रचण्ड समूह वा जनार्दन समूह नरहेको दाबी गर्दै पार्टीभित्र विचारको बहस हुनु स्वाभाविक भएको बताए ।
‘बाहिर जति नकारात्क हल्ला आएका छन्, भित्र त्यस्तो विवाद छैन । आठौँ महाधिवेशनले पारित गरेको समाजवादी कार्यदिशा, पार्टीको नीति, विचार र नेतृत्वको विकल्पमा कोही नेता देखिएका छैनन् । पार्टीभित्र ठुलै अन्तरविरोध छ भन्नुमा कुनै सत्यता छैन’, उनले भने ।
माओवादीभित्र देखिएको अन्तरविरोध हल गर्न विशेष महाधिवेशनमा जाने कि नियमित महाधिवेशनमा जाने भन्ने विषयमा बहस जारी रहेकाले अहिले निष्कर्षमा नपुगेको केन्द्रीय सचिव देवेन्द्र पौडेलले बताए । उनले आठौँ महाधिवेशनले पारित गरेको कार्यदिशा र नेतृत्वको विषयमा कुनै विवाद नभएको दाबी गरे ।
‘विशेष महाधिवेशनमा जाने कि नियमित महाधिवेशनमा जानेबारे प्रदेशअन्तर्गत केन्द्रीय सदस्यहरूको बैठकमा बहस जारी छ । अध्यक्षले पनि विशेष महाधिवेशनबाट सबै समस्या हल हुन्छ भन्नुभएको छ । अधिकांश साथीले विशेष महाधिवेशनमा जानुपर्ने सुझाव दिएका छन् । सबै प्रदेशबाट आएका सुझावका आधारमा संश्लेषणसहित आगामी केन्द्रीय समिति बैठकमा दस्तावेज पेस हुन्छ । सोही बैठकले निष्कर्षसहित विस्तृत कार्ययोजना बनाउँछ’, पौडेलले भने ।
यसअघि बसेको माओवादी पदाधिकारी र स्थायी समिति बैठकमा समेत अधिकांश नेताले विशेष महाधिवेशनमा जानुपर्ने मत राखेका थिए । माओवादीको प्रथम विधान अधिवेशनले पदाधिकारी बाहेक केन्द्रीय समिति सदस्यहरूको निर्वाचन प्रत्यक्ष गराउने निर्णय गरिसकेको छ ।
विधान अधिवेशनबाट तयार भएको विधान लागु गर्नसमेत विशेष महाधिवेशन गर्नुपर्ने दबाबमा प्रचण्ड छन् । तथापि विशेष महाधिवेशनमा जाने कि नियमित महाधिवेशनमा जाने भन्ने विषय आगामी केन्द्रीय समिति बैठकले तय गर्नेछ । यदि नियमित महाधिवेशनमा जाने निर्णय गरेमा २०८३ पुसभित्र नवौँ महाधिवेशन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहाको कर्जन्हा नगरपालिका तत्कालीन मेयरसहित ५ जना भ्रष्टाचारमा दोषी ठहर
-
विपन्नलाई ठण्डीबाट बचाउन पूर्वतयारी गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
-
पाकिस्तानमा प्रहरी र इमरान खानका समर्थकबिच झडप
-
सिड्नीमा सत्य–स्वरूपको सांगीतिक साँझ हुने
-
यी हुन् उपनिर्वाचनमा भाग लिएका ३७६ जना उम्मेदवार (सूचीसहित)
-
बिउको गुणस्तरीयतामा कृषिमन्त्री अधिकारीको जोड