राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति : पहिलो प्राथमिकता क्यान्सरको पहिचान
काठमाडौँ । सरकारले क्यान्सर पहिचानका लागि ६ वर्षे रणनीति ल्याएको छ । क्यान्सर पहिचान गरी नयाँ दर, रुग्णता र मृत्यु दरलाई घटाउन सरकारले ‘राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–२०३०’ ल्याएको हो ।
यो रणनीतिको पहिलो प्राथमिकतामा क्यान्सरको पहिचान छ । क्यान्सर रणनीति कार्यान्वयनका लागि कार्यविधि तयार भइरहेको छ ।
क्यान्सर रोकथाम, प्रारम्भिक पहिचान, निदान, उपचार र प्रशामक सेवाका लागि प्रमाणमा आधारित कार्यक्रम व्यवस्थित कार्यान्वयन गर्दै क्यान्सरको नयाँ दर, रुग्णता र मृत्यु दरलाई घटाएर लक्षित जनसङ्ख्यामा रहेका क्यान्सरका बिरामीको जीवनस्तरमा सुधार ल्याउने ६ वर्षे रणनीतिको लक्ष्य छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको योजनामध्ये दीर्घकालीन योजना अन्तर्गत पहिलो कार्य ‘राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–२०३०’ ल्याउनु रहेको मन्त्रीको सचिवालयले जनाएको छ ।
‘निरोगी नेपाल : आगामी पुस्ता निरोगी पुस्ता’ भन्ने नाराका साथ योजनालाई अघि बढाइएको मन्त्रीको सचिवालयका अधिकारी दुर्गा घिमिरेले बताए । ‘दीर्घकालीन योजनामध्ये यो योजना पहिलो नै मान्नुपर्छ,’ उनले भने, ‘यो रणनीतिलाई कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहलाई नै जिम्मेवारी दिने गरी कार्यविधि बन्दैछ ।’
रणनीतिले पहिलो प्राथमिकता सुर्तीजन्य पदार्थ नियन्त्रणलाई दिएको छ । सुर्तीजन्य पदार्थको प्रयोगले क्यान्सर गराउँछ र नसर्ने रोगबाट हुने अधिकांश मृत्यु सुर्तीजन्य पदार्थ सेवनको कारणले नै हुने गरेको पाइएको छ ।
मन्त्री पौडेलले सार्वजनिक गरेका ‘प्राथमिकता तथा कार्ययोजना’बाट एक सय दिनमा गर्न सक्ने योजना छनोट गरी काम भइरहेको घिमिरेले बताए । ‘हामीले प्राथमिकता तथा कार्ययोजना बनाएर मन्त्रालयमा पेस गरेका थियौँ । सोही योजनाबाट एक सय दिनमा के–कस्ता कार्य गर्ने भनेर योजना बनाएका छौँ ।’
घिमिरेले नीति, ऐनका कार्यहरू, जनसङ्ख्या लगायत विषय दीर्घकालीन योजनामा राखिएको सुनाए । ‘क्यान्सरको कार्यविधि पारित भइसकेको छ । स्थानीय तहसँग हामीले छलफल गर्नेछौँ,’ उनले भने, ‘सबै जनासँग समन्वय र सहकार्य गरेर जाने योजना छ ।’
रणनीतिको प्राथमिकता के ?
‘राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–२०३०’ ले क्यान्सर नियन्त्रणका लागि मुख्यगरी पाँच विषयवस्तुलाई समेटेको छ । सुर्तीजन्य पदार्थ नियन्त्रण, मादक पदार्थको नियमन, खानपान र मोटोपना, शारीरिक गतिविधि, ह्यूमन प्यापिलोमा भाइरस र हेपाटाइटिस बी भाइरस नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ । यी पाँच वटा कारणलाई क्यान्सरको कारकका रूपमा लिइन्छ ।
रणनीतिले पहिलो प्राथमिकता सुर्तीजन्य पदार्थ नियन्त्रणलाई दिएको छ । सुर्तीजन्य पदार्थको प्रयोगले क्यान्सर गराउँछ र नसर्ने रोगबाट हुने अधिकांश मृत्यु सुर्तीजन्य पदार्थ सेवनको कारणले नै हुने गरेको पाइएको छ ।
विश्वस्वास्थ्य संगठनको सन् २०२० को तथ्याङ्क अनुसार नेपालमा क्यान्सरबाट हुने मृत्युमध्ये २३.७ प्रतिशत सुर्तीजन्य पदार्थको सेवनबाट हुने गर्दछ । विभिन्न उमेर समूहमा धुम्रपान प्रमुख समस्याको रूपमा देखिन्छ ।
सबै नयाँ क्यान्सरमध्ये फोक्सोको क्यान्सरको हिस्सा पुरूषमा १८ प्रतिशत र महिलामा ७७ प्रतिशत देखिएको रणनीतिमा उल्लेख छ ।
यस्तै, सो रणनीतिमा मादक पदार्थको नियमनको विषयलाई सम्बोधन गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार क्यान्सरसँग सम्बन्धित मृत्युमध्ये ३.२ प्रतिशत मृत्यु मादक पदार्थ सेवनका कारण हुने गरेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०१९ मा २४.३ प्रतिशत वयस्क रहेकोमा तीमध्ये २३.४ प्रतिशत पुरुष र २५.१ प्रतिशत महिलामा अधिक तौल र मोटोपना देखिएको थियो । बहुक्षेत्रीय पोषण योजनाले नेपालीहरूका लागि उचित पोषण अवस्था हासिल गर्ने लक्ष्यसहित जीवनशैलीसँग सम्बन्धित रोगका लागि आहारको निर्देशिका समावेश गरेको रणनीतिमा उल्लेख छ ।
संगठनले सन् २०१३ र २०१९ मा गरेको एक सर्वेक्षणको तुलनात्मक तथ्याङ्क हेर्दा वयस्कहरूमा पर्याप्त शारीरिक गतिविधि नगर्ने दर २.४ प्रतिशतबाट ७४ प्रतिशत र किशोरकिशोरीहरूमा ७.२ प्रतिशत बाट १०.८ प्रतिशतसम्म बढेको देखाएको छ ।
सन् २०२३ मा नेपाल सरकारले सातै प्रदेशबाट लक्षित समूहका बालिकालाई एचपीभीको दुई डोज खोप प्रदान गरेको थियो । सो खोप अभियानलाई निरन्तरता दिइ नियमित खोप सूचीमा समावेश गर्न हाल नेपाल सरकारले ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसनसँग सहयोगको लागि अनुरोध गर्ने योजना बनाइरहेको राणनीतिमा उल्लेख छ ।
वयस्कहरूको तुलनामा किशोर–किशोरीहरूमा शारीरिक सक्रियतामा कमी आएको देखिन्छ । यसले गर्दा क्यान्सरको जोखिम हुने विज्ञ बताउँछन् ।
पाठेघरको मुखको क्यान्सर गराउने ‘ह्युमन प्यापिलोमा भाइरस’ प्रमुख कारक तत्व हो । सो भाइरस यौनाङ्ग तथा मलद्वार र टाउको तथा घाँटीमा हुने क्यान्सरहरूको सम्भावित कारक तत्व भएको प्रमाण देखिएको सो रणनीतिमा उल्लेख छ ।
सन् २०२३ मा नेपाल सरकारले सातै प्रदेशबाट लक्षित समूहका बालिकालाई एचपीभीको दुई डोज खोप प्रदान गरेको थियो । सो खोप अभियानलाई निरन्तरता दिइ नियमित खोप सूचीमा समावेश गर्न हाल नेपाल सरकारले ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसनसँग सहयोगको लागि अनुरोध गर्ने योजना बनाइरहेको राणनीतिमा उल्लेख छ ।
हेपाटाइटिस बी भाइरसबाट हुने सङ्क्रमणलाई कलेजोको क्यान्सर हुने प्रमुख कारण मानिन्छ । हेपाटाइटिस बी भाइरस सङ्क्रमणलाई खोपबाट रोकथाम गर्न सकिन्छ र यो खोपले कलेजोको क्यान्सरका साथै कलेजोसम्बन्धी रोगको रोकथाम गर्नमा मद्दत गर्दछ । हाल नेपालले यस खोपलाई राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत प्रदान गर्दै आएको छ । सो खोप कार्यक्रमलाई निरन्तरता दिने रणनीतिमा उल्लेख छ ।
कृषिमा प्रयोग हुने विषादी नियन्त्रणलाई पनि रणनीतिमा उल्लेख गरिएको छ । नेपालमा सन् १९९१ मा कीटनाशक ऐन र सन् १९९३ मा नियमावली पारित भएको थियो । तर अधिकांश किसानले तोकिएको सीमाभन्दा बढी कीटनाशक विषादीको प्रयोग गर्ने हुँदा यी कानुनहरूको कार्यान्वयन प्रभावकारी रूपमा हुन सकेको छैन ।
यस्तै, वायु प्रदूषणका कारणले हुने फोक्सोको क्यान्सर लगायत विषयलाई रणनीतिले सम्बोधन गरेको छ ।
एक दशकमा क्यान्सर रोगी १३ प्रतिशतले वृद्धि
सन् २०२२ मा विश्वभर करिब दुई करोड क्यान्सरका नयाँ बिरामी देखा परेका थिए भने क्यान्सरको कारण ९७ लाखभन्दा बढीले ज्यान गुमाएका थिए ।
नेपालमा पनि नसर्ने रोगहरूको भार बढ्दै गइरहेको छ । विगत एक दशकको अवधिमा क्यान्सर रोगीहरू १३ प्रतिशतले वृद्धि भएका छन् । नेपालमा हुने कुल मृत्युमध्ये दुई तिहाइभन्दा बढी हिस्सा (७१ प्रतिशत) नसर्ने रोगहरूको कारणले हुने गर्दछ, जसमध्ये ११ प्रतिशत व्यक्तिको मृत्यु क्यान्सरको कारण हुने गरेको रणनीतिमा उल्लेख छ ।
विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाली क्षेत्र क्यान्सरका नयाँ बिरामीहरूको भारका आधारमा चौथो उच्च बिरामी भएको क्षेत्रमा पर्दछ भने क्यान्सरको कारण हुने मृत्युका आधारमा तेस्रो उच्च मृत्यु हुने क्षेत्रमा पर्दछ ।
रणनीति अनुसार विश्वव्यापीकरणसँगै तीव्र रूपमा परिवर्तन हुँदै गएको जीवनशैली ( खानपान र रहन सहन) ले क्यान्सरका जोखिमका कारक तत्व बढ्दै गएका छन् ।
नेपालमा पनि नसर्ने रोगहरूको भार बढ्दै गइरहेको छ । विगत एक दशकको अवधिमा क्यान्सर रोगीहरू १३ प्रतिशतले वृद्धि भएका छन् । नेपालमा हुने कुल मृत्युमध्ये दुई तिहाइभन्दा बढी हिस्सा (७१ प्रतिशत) नसर्ने रोगहरूको कारणले हुने गर्दछ, जसमध्ये ११ प्रतिशत व्यक्तिको मृत्यु क्यान्सरको कारण हुने गरेको रणनीतिमा उल्लेख छ ।
रणनीति अनुसार नेपालमा सन् २०२२ मा क्यान्सरका २२ हजार जना नयाँ बिरामी देखा परेका थिए भने १४ हजारभन्दा बढीले क्यान्सरकै कारण ज्यान गुमाएका थिए । नेपालमा धेरै देखिने क्यान्सरहरूमा फोक्सोको क्यान्सर, स्तनको क्यान्सर, पाठेघरको क्यान्सर लगायत रहेका रणनीतिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडी सम्मानित
-
धान फल्ने खेतमा लगाएको सुन्तलाबाट दश लाख आम्दानी
-
इजरायलले प्यालेस्टाइनमा गरेको नरसंहारका विरुद्ध माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
नेपाली रुपैयाँमा चुच्चे नक्सा राखेकोमा भाजपा नेताको आपत्ति
-
शल्यचिकित्सक समाजको चौधौँ राष्ट्रिय सम्मेलन पोखरामा
-
गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे