बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

मोहम्मद रिजवानलाई दोहोरो सतक बनाउने अवसर नदिएको भन्दै कप्तानमाथि खनिए पाकिस्तानी समर्थक

शुक्रबार, ०७ भदौ २०८१, ११ : ३६
शुक्रबार, ०७ भदौ २०८१

काठमाडौँ । पाकिस्तान र बंगलादेशबिचको पहिलो टेस्ट क्रिकेटमा घरेलु टोलीका ब्याट्सम्यान मोहम्मद रिजवानलाई दोहोरो सतक बनाउने अवसर प्रदान नगरेको भन्दै समर्थकहरु आक्रोसित बनेका छन् । समर्थकहरुले सामाजिक सञ्जालमार्फत पाकिस्तानी टोलीका कप्तान सान मसुदप्रति आक्रोश ब्यक्त गरिरहेका छन् ।

पहिलो टेस्टको दोस्रो दिन बिहीबार पाकिस्तानी टोलीले ६ विकेट गुमाएर चार सय ४८ रन बनाएपछि कप्तान सान मसुदले पहिलो पाली समाप्तिको घोषणा गरेका थिए । त्यतिबेला विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवान अविजित एक सय ७१ रन बनाउँदै क्रिजमा थिए ।

त्यतिबेला मोहम्मद रिजवान दोहोरो सतकबाट केवल २९ रन पछाडि थिए । टस हारी पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले पालीको निराशाजनक सुरुआत गरेको थियो । पाकिस्तानले केवल १६ रनको कुल स्कोरमा तीन प्रभावशाली विकेट गुमाइसकेको थियो ।

पाकिस्तानले एक सय १४ रनको कुल स्कोरमा चौथो विकेट गुमाएको थियो । चौथो विकेटका रुपमा ओपनर सइम अयुब ५६ रन बनाउँदै पेभेलियन फर्किएका थिए । त्यसपछि साउद सकिल र मोहम्मद रिजवानले टोलीलाई गतिलो साथ दिएका थिए ।

यी दुवै ब्याट्सम्यानले टोलीका लागि दुई सय ४० रनको उत्कृष्ट साझेदारी गरेका थिए । साउद सकिलले एक सय ४१ रन बनाएका थिए । उनले लामो समय क्रिजमा टिकेर दुई सय ६१ बलको सामना गरी नौ चौका प्रहार गरेका थिए ।

यसैगरी, मोहम्मद रिजवानले टोलीका लागि अविजित एक सय ७१ रनको योगदान गरेका थिए । उनले दुई सय ३९ बलको सामना गरी तीन छक्का र ११ वटा चौका हिर्काएका थिए । टोलीलाई लज्जास्पद अवस्थाबाट माथि उठाउने रिजवानलाई दोहोरो सतक पुरा गर्ने अवसर नदिएको भन्दै पाकिस्तानी समर्थकहरु कप्तान मसुदसँग रुष्ट बनेका हुन् ।

‘टोलीका लागि महत्वपूर्ण योगदान गर्ने एउटा खेलाडीलाई इतिहास रच्ने संघारमा रहँदा त्यस्तो अवसरबाट बञ्चित गरिनु लज्जास्पद कुरा हो । यो अवस्थामा तिमी भएको भए के हुन्थ्यो कप्तान ?’ एक समर्थकले सामाजिक सञ्जालमार्फत आफ्नो आक्रोश पोखेका छन् ।

‘एउटा खेलाडीका लागि दुई सय रन सानो उपलब्धि होइन । कुनै पनि ब्याट्सम्यानले कम्तिमा यो उपलब्धि पुरा त गर्न पाउनै पर्छ । कस्तो निराशाजनक अवस्था !’ अर्का पाकिस्तानी क्रिकेटप्रेमीले आफ्नो पोष्टमा भनेका छन् ।

मोहम्मद रिजवानसँग ठुलो साझेदारी गरेका साउद सकिलले भने पाली समाप्तिको घोषणा गर्ने विषयमा ब्याट्सम्यानहरुलाई एक घण्टा अगाडि नै जानकारी गराइएको बताएका छन् । ‘यस विषयमा एक घण्टा अगाडि नै ब्याट्सम्यानहरुलाई जानकारी गराइएको थियो,’ उनले भनेका छन् ।

‘पाँच सय रन पुगेपछि पाली घोषणा गर्दा के बिग्रन्थ्यो ? विचरा, मोहम्मद रिजवानले पनि दोहोरो सतक पुरा गर्ने अवसर पाउने थिए । केवल २९ रन त चाहिएको थियो नि !’ अर्का एक समर्थकले आफ्नो आक्रोश पोखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप