कांग्रेस केन्द्रीय समिति बैठक : महामन्त्रीद्वयको प्रतिवेदनमा जुटेको छैन सहमति
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ । तर‚ महामन्त्रीद्वयले प्रस्तुत गरेको प्रतिवेदनमा देखिएको विवाद समाधान भएको छैन । सभापति शेरबहादुर देउवा महामन्त्रीद्वयले केन्द्रीय समिति बैठकमा पेस गरेको प्रतिवेदन परिमार्जन गरेर पास गराउने तयारीमा छन् । यसका लागि महामन्त्री सहित पदाधिकारीसँग बसेर उनले छलफल गरेका छैनन् ।
महामन्त्रीनिकट एक नेताले दिएको जानकारी अनुसार बिहीबार छलफल गर्ने तयारी भएको थियो । तर‚ बसेर छलफल हुन सकेन । सभापति देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग टेलिफोन संवाद गरेर प्रतिवेदन परिमार्जन गर्न भनेका थिए ।
‘मिलाउनुपर्यो मिलाउनुपर्यो भनेर उहाँले फोन गर्नुभएको थियो । हिजो भौतिक छलफल भएन । तर‚ महामन्त्रीद्वयले मिलाउने ठाउँ छैन भन्नुभएको छ‚’ ती नेताले भने ।
यस्तै उपसभापति पूर्णबहादुर खड्काले पनि महामन्त्रीद्वयसँग संवाद गरेको ती नेताले बताए । ‘उपसभापति पूर्णबहादुर दाइ सँग पनि टेलिफोन कुराकानी भयो‚’ महामन्त्री निकट एक नेताले भने‚‘मिलाउनुपर्यो भन्ने सभापतिज्यूको कुरामा पूर्ण दाइ पनि सभापतिज्यूको उत्तराधिकारी हुँ झैँ गरेर संवाद गर्नुभएको छ । कुरा मिलेको छैन।’
ती नेताका अनुसार केन्द्रीय बैठक सुरु हुनु अगावै पदाधिकारी बैठक बसेर मिलाउने वा केन्द्री समितिमा पदाधिकारीहरूले धारणा राखेपछि पदाधिकारी बसेर विषय मिलान गर्ने अन्योल कायमै छ ।
‘पदाधिकारीले बैठकमा बोलेपछि प्रतिवेदनमा कुरा मिलाउने भनेर सभापति लाग्नुभयो भने आज पनि बैठक सकिँदैन । बैठक सुरूहुनु अगावै पदाधिकारी बसे विषय मिल्न सक्छ‚’ उनले भने‚‘के गर्ने अहिलेसम्म जानकारी आएको छैन ।’
महामन्त्री द्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माको साउन अन्तिम साता बसेको केन्द्रीय समिति बैठकमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
महामन्त्रीद्वयको प्रतिवेदनमा विवाद भएपछि साउन २३ देखि २८ गते सम्म बसेर केन्द्रीय समिति बैठक स्थगन भएको थियो । महामन्त्री थापाले चुनावी गठबन्धन गर्न नहुने भन्दै ‘कांग्रेसलाई रूखमा भोट हाल्न पाउनुपर्ने’ भन्दै प्रतिवेदन पेस गरेका थिए । यस्तै महामन्त्री विश्वप्रकाश शर्माले 'ुएक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक भन्दा बढी सांसद बन्न नपाउने भन्ने प्रावधान पार्टी विधानमै संहिताकृत गर्नुपर्ने' प्रस्ताव सहितको प्रतिवेदन केन्द्रीय समिति बैठकमा राखेका छन् ।
२०८० फागुनमा ललितपुरको गोदावरीमा सम्पन्न महासमिति बैठकले राय सहितको प्रतिवेदन पास गर्ने जिम्मा केन्द्रीय समितिलाई दिएको थियो । सोही कारण साउन २३ देखि २८ सम्म बसेको केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वयको प्रस्ताव प्रस्तुत भएको हो ।
तर‚ महामन्त्रीद्वयको प्रस्ताव परिमार्जन गर्नुपर्ने अडानमा सभापति देउवा सहित संस्थापन पक्ष छ । चुनावी गठबन्धन रणनीतिक भएको र एक्जीट पोलिसि विधानमा समावेश गर्न नहुने जिकिर संस्थापन पक्षको छ । सोही विवादका कारण केन्द्रीय समितिले निर्णय गर्न नसकी बैठक भदौ ७ गते सम्मलाई स्थगन भएको हो । पहिला पदाधिकारी तहमा प्रतिवेदनमा सहमति जुटाउने केन्द्रीय समितिमा समझदारी बनेपछि सभापति देउवाले प्रतिवेदन उपर परिमार्जनका लागि छलफल गर्न लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
-
‘पूर्वाधारसँगै स्वास्थ्य, शिक्षा र खेलकुदको विकासलाई प्राथमिकतामा राखेका छौँ’
-
शुक्रबारदेखि पुनः बदली र वर्षा हुने
-
१० बजे १० समाचार : एमालेमा नेताहरूमाथि कारबाहीको डण्डादेखि हत्याको समाचार पढेपछि आत्मसमर्पणसम्म
-
अवैध उत्खननमा प्रयोग गरिएका डोजर र टिपर नियन्त्रणमा
-
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ : अध्यक्ष दाहाल