बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय
कांग्रेस विवाद

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, महामन्त्रीद्वयको प्रतिवेदन परिमार्जन होला ?

शुक्रबार, ०७ भदौ २०८१, ०७ : १४
शुक्रबार, ०७ भदौ २०८१

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । साउन २८ गतेबाट स्थगित भएको बैठक आज पुनः बस्न लागेको हो । गत साउन २३ गतेबाट सुरु भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि नेताहरूले बोल्ने क्रम जारी छ ।

बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माको प्रस्तावले नेपाली कांग्रेसको आन्तरिक राजनीति तरङ्गित बन्दै आएको छ ।  गगनको चुनावी गठबन्धन गर्न नहुने  र शर्माको प्रधानमन्त्री, मन्त्री तथा सांसद कति पटक हुने भन्ने सीमा तय गर्नुपर्ने बारेको प्रस्तावलाई पार्टी सभापति शेरबहादुर देउवा समूहले ‘काउन्टर’ गर्न थालेपछि पार्टीको केन्द्रीय कार्यसमितिको बैठक ११ दिन रोकिएको थियो । 

बैठक सार्न पर्नुको पछाडि महामन्त्रीको प्रस्ताव तुहाउने पार्टी सभापति शेरबहादुर देउवा खेमाको रणनीति भएको बताइन्छ । त्यसो त साउन २५ को बैठकमा परराष्ट्रमन्त्रीसमेत रहकी केन्द्रीय सदस्य आरजु राणा नै शर्माको प्रस्तावको विपक्षमा उभिएकी थिइन्। पार्टीका तर्फबाट प्रधानमन्त्री बन्ने कुरा एक वा दुई पटकमात्र भनेर तोक्न नहुने भन्दै उनले अनुभवलाई आधार बनाउनुपर्ने तर्क अघि सारेकी थिइन् ।  उनको भनाइको सोझो अर्थ पार्टी सभापतिलाई फेरि प्रधानमन्त्री हुनबाट रोक्न हुँदैन भन्ने नै हो ।

यही पृष्ठभूमिमा अहिले महामन्त्री शर्माको एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक भन्दा बढी सांसद बन्न नपाउने भन्ने प्रावधान पार्टी विधानमै संहिताकृत गर्नुपर्ने प्रस्ताव बैठकले पारित गर्ला त भन्ने चासो कांग्रेसजनमा देखिन्छ । किनकि पार्टी संरचनामा देउवालाई तत्काल कमजोर बनाउन सम्भव नभएको कतिपयको दाबी छ ।

अर्का महामन्त्री थापाको आगामी चुनावमा जनताले रूखमा भोट हाल्न पाउने अवस्था निर्माण गर्ने प्रस्तावमा पनि संस्थापन पक्षले ‘काउन्टर’ गरिरहेको छ ।

देउवा समूहका नेताहरू विमलेन्द्र निधि‚ प्रवक्ता प्रकाश शरण महत‚ एनपी साउद‚ रमेश लेखक‚ ज्ञानेन्द्रबहादुर कार्कीलगायतका नेताहरू नै दुवै महामन्त्रीको प्रस्तावको विपक्षमा उत्रिएका छन् ।

अहिले सतहमा देखिएको विवाद २०८० फागुनमा ललितपुरको गोदावरीमा सम्पन्न महासमिति बैठकदेखिकै हो । महासमितिले ठोस निर्णय लिन नसक्दा समस्या झन् गुजुल्टिँदै केन्द्रीय समितिमा फर्किएको हो ।

महासमिति बैठकमा उठेका विषयलाई समेटेर परिमार्जन सहित प्रतिवेदनहरू केन्द्रीय समितिबाट पारित गर्ने भनिए पनि पाँच महिनासम्म सहमति जुट्न सकेन । यही कारण महासमिति बैठकमा प्रस्तुत उपसभापति पूर्णबहादुर खड्काको नीति प्रस्ताव, महामन्त्री थापाको साङ्गठनिक र महामन्त्री शर्माको समसामयिक राजनीति प्रस्तावहरूले अहिलेसम्म आधिकारिकता पाउन सकेका छैनन् ।

संस्थापन पक्षले दुवै महामन्त्रीको प्रस्ताव परिमार्जनसहित पास गर्नुपर्नेमा जोड दिँदै आएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप