शुक्रबार, १९ पुस २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

बिहीबार, ०६ भदौ २०८१, २१ : ४७
बिहीबार, ०६ भदौ २०८१

आज मिति २०८१ साल भदौ महिनाको ६ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

१. टिकटक खुल्दै

सरकारले टिकटकमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेपनि खुल्न भने अझै केही समय लाग्ने भएको छ ।

यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० कात्तिक २७ गते टिकटकमा लगाएको प्रतिबन्ध बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हटाउने निर्णय गरेको हो । टिकटकबाट सामाजिक सद्‍भाव बिगार्ने काम गरेको भन्दै प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । 

२. राष्ट्रियसभाबाट टीआरसी विधेयक सर्वसम्मत पारित

संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयक संघीय संसद्को दुवै सदनबाट पारित भएको छ । बिहीबार संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाबाट पनि यो विधेयक पारित भएको हो । यसअघि प्रतिनिधि सभाले यो विधेयक पारित गरेको थियो ।

सर्वोच्च अदालतले  सङ्क्रमणकालीन न्यायका लागि सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) विरुद्धको रिटलाई टुङ्गोमा पुर्‍याएको छ।

३. प्रधानमन्त्रीसँग प्रश्नोत्तर

व्यवस्थापन तथा स्रोत सम्बन्धी अमेरिकी उप–विदेशमन्त्री रिचार्ड आर वर्मा गत साउन ३२ गते नेपालमा थिए । पहिले नै विवादमा परेको अमेरिकासँगको स्टेट पार्टनरशिप कार्यक्रम (एसपीपी)को विषयमा उनी नेपाल भ्रमणमा आएको बेला सरकारले के छलफल गर्‍यो भन्ने चासो बढ्यो ।

सोही भ्रमणलाई आधार बनाएर सांसदहरूले यथार्थ विवरण माग गरे अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को रोस्टममा उभिएर जवाफ दिनु परेको छ ।

बिहीबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिए । एसपीपी‚ अमेरिकी सहयोग परियोजना ‘एमसीसी’ लगायतका विषयमा जानकारी माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका थिए ।

४. त्रिवि विवाद

त्रिभुवन विश्वविद्यालय पछिल्लो समय मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत रहेको समाजशास्त्र विभागको विभागीय प्रमुखको नियुक्तिलाई लिएर चर्चामा छ ।

समाजशास्त्र विभागको विभागीय प्रमुखको विवाद यो पहिलो पटक भएको होइन । यसअघि पनि पटकपटक यसबारे विवाद हुँदै आएको हो ।

तत्कालीन उपकुलपति तीर्थ खनियाले आफ्नो कार्यकाल सकिने बेला टीकाराम गौतमलाई समाजशास्त्र विभागको तीन महिने नियुक्ति दिएका थिए । जबकि वरिष्ठताका आधारमा सुरेन्द्र मिश्र, युवराज लुईंटेल लगायतका प्राध्यापकहरू हुनुपर्ने थियो । तर, नेपाली कांग्रेस निकट प्राध्यापक गौतमलाई कांग्रेस निकटकै खनियाँले तीन महिनाका लागि विभागीय प्रमुखको जिम्मेवारी दिएर गएको एक प्राध्यापकले बताए ।

५. सर्वोच्चको आदेश

सर्वोच्च अदालतले प्रहरीको ३० वर्षे विवादमा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले अवकाश हुने भनी दिइएका पत्राचारहरू हाललाई कार्यान्वयन नगर्नु नगराउनु भनी आदेश जारी गरेको हो । न्यायाधीश फुयाँलको इजलासले पहिलो सुनुवाइ गर्दै त्यस्तो आधारमा कसैलाई कुनै पत्राचार नगर्नू नगराउनू समेत भनेको छ।

६. रवि लामिछानेलाई समितिमा बोलावट

‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई बयानका लागि बोलाएको छ ।

लामिछानेलाई शुक्रबार बस्ने समिति बैठकमा बयानका लागि बोलाइएको सभापति सूर्य थापाले बताए ।

लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको बताइएको छ ।

७. छायामा समाजवादी मोर्चा

नेकपा माओवादी केन्द्रको आन्तरिक बैठकका कारण समाजवादी मोर्चाको बैठक प्रभावित भएको छ । केही नेताहरूले माओवादी केन्द्रको कारण मोर्चा छायामा परिरहेको आन्तरिक छलफलमा बताउन थालिसकेका छन् ।

८. प्रदेश समाचार

बिहीबार बिहान ३ः१५ बजेको समयमा मकवानपुरको मनहरीमा भैँसीको प्रतिकारमा बाघ मरेको घटना प्रकाशमा आयो । गोठमा बाँधेको भैँसीले हानेर बाघको मृत्यु भएको विवरणसहितको समाचार प्रकाशमा आएसँगै धेरैले आश्चर्य मानिरहेका छन् ।

मनहरी गाउँपालिका–६, प्रतापुरस्थित बल बहादुर राईको गोठमा भैँसीलाई आक्रमण गर्न प्रवेश गरेको ८ वर्ष उमेरको बाघ गोठमै मृत फेला परेको हो । भैँसीको प्रतिकारका क्रममा बाघको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

९. आर्थिक समाचार

साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ६.०१ अंकले बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ६।०१ अंकले बढ्दै २९७४.४६ विन्दुमा उक्लिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप